प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने

हेमन्त केसी
सुर्खेत, १ कात्तिक ः लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिन भित्र खुलाउनका लागि काम जारी राखिएको छ । नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समस्या भएको हो ।


योजना प्रमुख बेलबहादुर नेपालीले सडकमा थुप्रिएको हिउँ पन्छाउन उपकरण र जनशक्ति परिचालन गरिएको छ । मौसमले साथ दिए सोमबारसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए ।

सिमकोटदेखि चीनको सीमावर्ती क्षेत्र हिल्सासम्मको करिब ९५ किलोमिटर सडकखण्ड हिमपातका कारण अवरुद्ध भएको छ । विशेषगरी यारीदेखि हिल्सासम्मको करिब १५ किलोमिटर क्षेत्रमा बाक्लो हिउँ जमेको नेपालीले जानकारी दिए । तीन पटकसम्म हिमपात भएपछि सडक खुलाउन समस्या भएको उनले बताए । ‘नारा लेक क्षेत्रमा कतिपय ठाउँमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेको छ । हिउँ पन्छाउने काम भइरहेको छ । मौसमले साथ दिए सोमबारसम्म सडक खुलाउने लक्ष्य छ,’ नेपालीले भने ।
समुद्री सतहबाट करिब चार हजार पाँच सय मिटरभन्दा बढी उचाइमा रहेको नारा लेक क्षेत्रमा बाक्लो हिउँ जमेकाले सडक खुलाउन चुनौती भएको छ । ठाडोढुङ्गादेखि हिल्सातर्फको सडकमा बढी हिउँ जमेको आयोजनाले जनाएको छ । हिउँ पन्छाउन जेसीबी प्रयोग भइरहेको छ ।

९५ किलोमिटर लामो सिमकोट–हिल्सा सडकखण्डमध्ये करिब ५५ किलोमिटरमा ग्राभेलिङ गरिएको छ । बाँकी सडक ट्र्याक खोलिएको अवस्थामा छ । सडक योजनाले आफ्नै उपकरण, इन्धन र मेसिन अपरेटर प्रयोग गरेर हिउँ हटाउने काम गरिरहेको नेपालीले बताए ।

सडक खुलाउन दुई जनाको टोली खटिएको छ । टोलीले दिनभर काम गर्ने र साँझ यारीमा फर्किएर खाने तथा बस्ने गरेको छ । कठिन भौगोलिक अवस्था र अत्यधिक हिउँका कारण काम गर्न समस्या भइरहेको छ ।


पुनः हिमपात भए सडक पूर्ण रूपमा अवरुद्ध हुने र खुलाउने काममा थप ढिलाइ हुन सक्ने नेपालीले बताए । मौसम अनुकूल रहे सोमबारसम्म यातायात सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ ।

दसैँ मनाउन घर फर्किने नेपाली प्रतीक्षामा
सडक अवरुद्ध हुँदा हिल्सा क्षेत्रमा रहेका पर्यटक तथा स्थानीयवासी प्रभावित भएका छन् । चीनको ताक्लाकोट क्षेत्रमा व्यापार तथा रोजगारीका लागि पुगेका हुम्लासहितका नेपालीलाई समेत घर फर्किन समस्या भएको छ ।


चीनको पुराङ क्षेत्रमा रहेका नेपालीलाई हिल्सा नाका हुँदै नेपाल प्रवेश गर्न सडक अवरुद्ध हुँदा कठिनाइ भएको छ । दसैँ मनाउन घर फर्किने तयारीमा रहेका नेपाली सडक खुल्ने प्रतीक्षामा छन् । हिल्सा क्षेत्रमा रहेका स्थानीयवासीसमेत सडक सञ्चालनमा आउने आशामा बसेका छन् ।


हिल्सा नेपाल–चीन सीमावर्ती क्षेत्र हो । सडक बन्द हुँदा दैनिक आवतजावत तथा सामान ढुवानी प्रभावित भएको छ । सडक सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रमा रोकिएका नेपालीलाई घर फर्किन सहज हुने अपेक्षा गरिएको छ ।

यसअघि पनि नारा लेक क्षेत्रमा हिमपातका कारण सडक अवरुद्ध भएपछि हिउँ पन्छाउन जेसीबी परिचालन गरिएको थियो । तर, पटकपटकको हिमपात र कतिपय स्थानमा अत्यधिक हिउँ जमेकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन भइरहेको छ ।


हिमपातले लिमी जाने सडक पनि अवरुद्ध
हुम्लाको नाम्खा गाउँपालिकाको लिमी उपत्यका जाने सडकसमेत हिमपातका कारण अवरुद्ध भएको छ । सल्लीदेखि नालुपास हुँदै लिमी भ्याली जोड्ने सडकमा यातायात सञ्चालन हुन नसक्दा स्थानीयवासीको जनजीवन प्रभावित भएको हो ।

नाम्खा गाउँपालिकाको न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेपछि लिमीका तिल, हल्जी र जाङलगायत गाउँको आवतजावत प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीलाई उपचारका लागि बाहिर लैजान तथा अत्यावश्यक कामका लागि गाउँबाहिर जान समस्या भएको छ ।


सडकबाट आवतजावत गर्न नसक्ने अवस्था आएपछि बिरामीलाई उपचारका लागि बाहिर लैजानसमेत कठिनाइ हुने गरेको स्थानीयवासी बताउँछन् । सडक अवरुद्ध हुँदा स्थानीय होटल व्यवसायी तथा सुरक्षाकर्मीसमेत प्रभावित भएका छन् ।
लिमी उपत्यका कैलाश–मानसरोवर क्षेत्रको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । मानसरोवरको दर्शन तथा हिमाली क्षेत्रको भ्रमणमा जाने पर्यटकसमेत सडक अवरुद्ध हुँदा प्रभावित भएका छन् ।

लिमी जाने सडक प्रदेश सरकारअन्तर्गत पर्ने भएकाले सम्बन्धित निकायले हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । हिमपात जारी रहे सडक सञ्चालनमा थप ढिलाइ हुने जोखिम छ ।

सिमकोट–हिल्सा सडक र लिमी जाने सडक दुवै अवरुद्ध हुँदा उत्तरी हुम्लाको आवतजावत, व्यापार तथा पर्यटन प्रभावित बनेको छ । मौसम अनुकूल हुनेबित्तिकै अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!