वर्दीभित्रको साहस : कहिले उद्धारमा, कहिले हिमालको चुचुरोमा गोपाल

सुर्खेत / कसैका लागि मृत्यु बनेको खोँचमा पुगेर शव उद्धार गर्नु होस् वा हजारौँ मिटर अग्लो हिमालको चुचुरोमा पुगेर देशको झण्डा फहराउनु, सशस्त्र प्रहरी जवान गोपाल केसीका लागि यी दुवै जिम्मेवारी र साहसका फरक–फरक परीक्षा हुन्। जोखिमसँग डराएर पछि हट्नुको साटो चुनौतीलाई सामना गर्दै अघि बढ्ने उनको यात्राले कर्तव्यप्रतिको समर्पण र साहसको कथा बोकेको छ।

जाजरकोटको नलगाड नगरपालिका–८ हल्चौरका केसीले मनाङमा रहेको ६ हजार ३८ मिटर अग्लो चुलु फार इस्ट हिमाल सफलतापूर्वक आरोहण गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म दुनै, डोल्पामा कार्यरत उनले माउन्टेन तालिमका क्रममा २०८३ कात्तिक ३० गते साेमबार बिहान ६ बजेर १० मिनेटमा हिमालको चुचुरोमा पाइला टेकेका हुन्।

पहिलोपटक हिमाल आरोहण गरेर चुचुरोमा नेपालको झण्डा फहराउँदा उनको मनमा खुसीसँगै थप उचाइ चुम्ने सपना पनि पलाएको छ। संस्थागत तालिमको अवसरमा राष्ट्रिय झण्डा बोकेर हिमालको चुचुरोमा पुग्नु जीवनकै अविस्मरणीय क्षण भएको केसी बताउँछन्। पहिलो सफल आरोहणले आगामी दिनमा अझ अग्ला हिमाल चढ्ने हौसला थपेको उनको भनाइ छ।
तर केसीको साहसको कथा हिमालको चुचुरोबाट मात्रै सुरु भएको होइन। डोल्पाका अप्ठ्यारा भूगोल, जोखिमपूर्ण नदी र भीरपाखामा उनले निर्वाह गरेको जिम्मेवारी पनि उत्तिकै अर्थपूर्ण छ।
गत असार १५ गते डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित छेप्का बजारनजिकै सुलिगाड खोलाको खोँचमा बेवारिसे अवस्थामा एउटा शव भेटियो। खोँचको जोखिमपूर्ण ठाउँमा रहेको उक्त शव उद्धार गर्ने कार्यमा सशस्त्र प्रहरी जवान केसी पनि संलग्न थिए।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार उक्त शव सुर्खेतको बराहताल गाउँपालिका–६ स्थायी घर भई कामको सिलसिलामा शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मोमा बस्दै आएका ४५ वर्षीय विष्णु विक भनेर चिनिने मंगले कामीको थियो। उनी असार ६ गतेदेखि हराएको भन्दै प्रहरीमा निवेदन परेको थियो।
आफन्तले खोजिरहेका एक व्यक्तिको अन्ततः शव भेटिएको त्यो घटनामा केसीसहितको टोलीले जोखिम मोलेर उद्धार गरेको थियो। कसैका लागि त्यो एउटा शव उद्धारको जिम्मेवारी थियो, तर परिवारका लागि भने हराइरहेका आफन्तको अन्तिम अवस्था पत्ता लगाउने संवेदनशील क्षण थियो।
यसअघि पनि केसीले डोल्पाको सदरमुकाम दुनैस्थित भेरी नदीको बीच भागमा फसेका मानिसहरूको उद्धारमा भूमिका निर्वाह गरिसकेका छन्। नदीको बीचमा फसेका मानिसलाई सुरक्षित निकाल्नुपर्ने जोखिमपूर्ण जिम्मेवारीदेखि दुर्गम भूगोलमा हुने उद्धारसम्म उनको अनुभव फैलिएको छ।

सशस्त्र प्रहरीको वर्दी लगाएर जनताको सुरक्षामा खटिने केसीका लागि जोखिमपूर्ण उद्धार र हिमाल आरोहण दुवै साहस, धैर्य र अनुशासनका परीक्षा बनेका छन्। एउटा काममा अरूको जीवन र सुरक्षाका लागि जोखिम मोल्नुपर्छ भने अर्कोमा आफ्नै साहस र क्षमताको परीक्षा दिनुपर्छ।

हिमालको चुचुरोमा नेपालको झण्डा फहराउँदा प्राप्त खुसी र जोखिमपूर्ण ठाउँमा पुगेर नागरिकको उद्धार गर्दा प्राप्त हुने आत्मसन्तुष्टि उनका लागि उत्तिकै महत्त्वपूर्ण छन्। जिम्मेवारीलाई केवल जागिरका रूपमा नभई सेवाका रूपमा बुझ्ने प्रहरी कर्मचारीका यस्ता कामले वर्दीभित्रको मानवीय संवेदनालाई पनि उजागर गर्छन्।
गोपाल केसीको यात्रा एउटा हिमाल आरोहणको सफलतामा मात्रै सीमित छैन। यो जोखिमसँग जुध्ने आँट, अरूको पीडामा साथ दिने भावना र आफ्नो कर्तव्यप्रति इमानदार रहने एउटा सुरक्षाकर्मीको प्रेरणादायी कथा पनि हो।










