अन्तरर्वार्ता ः ‘दशौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार छ’ मुख्यमन्त्री शाही

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशको खेलकुद इतिहासमै महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रदेश सरकार सह आयोजकका हिसावले लामो प्रतीक्षापछि हुन लागेको यस प्रतियोगिताले कर्णालीको खेलकुद पूर्वाधार, व्यवस्थापकीय क्षमता, पर्यटन, आर्थिक गतिविधि र राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।
मंसिर १६ गते सुर्खेतको कर्णाली प्रदेश रंगशालामा औपचारिक उद्घाटन हुने प्रतियोगिताका केही खेल मंसिर ८ गतेदेखि नै सुरु हुँदैछन्। प्रदेश सरकारले खेलस्थल व्यवस्थापन, खेल सामग्री, खेलाडीको पोसाक, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको तयारीलाई तीव्रता दिएको जनाएको छ।
मुख्यमन्त्री शाहीले खेल सुरु हुनुअघि तयारी करिब ९० प्रतिशत पु¥याउने लक्ष्य रहेको बताएका छन्। तर मिति नजिकिँदै गर्दा बाँकी प्राविधिक काम, पूर्वाधारको पूर्ण तयारी, खेलाडी छनोट र प्रशिक्षण, बजेट व्यवस्थापन तथा प्रतियोगितापछि संरचनाको उपयोगजस्ता विषय पनि उत्तिकै महत्वपूर्ण छन्। यिनै विषयमा मुख्यमन्त्री मंगलबहादुर शाही सँग हेमन्त केसीले गरेको कुराकानीः
दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न अब केही दिन मात्रै बाँकी छ। समग्र तयारी कहाँ पुगेको छ?
यो कर्णाली प्रदेशका लागि ठूलो अवसर हो। पहिलोपटक यति ठूलो राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेकाले प्रदेश सरकार यसलाई सफल बनाउन गम्भीर भएर लागेको छ। खेलस्थल व्यवस्थापन, खेल सामग्री, खेलाडीको पोसाक, प्रकाश व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहका काम तीव्र बनाएका छौँ।
केही खेलस्थलमा सामान्य मर्मतसम्भार र प्राविधिक काम बाँकी छन्। ती तोकिएको समयभित्रै सक्न सम्बन्धित निकायलाई परिचालन गरिएको छ। अधिकांश तयारी अघि बढिसकेको छ। खेल सुरु हुनुअघि तयारी करिब ९० प्रतिशत पु¥याउने हाम्रो लक्ष्य छ।

तपाईंले तयारी ९० प्रतिशत पु¥याउने बताउनुभएको छ। बाँकी १० प्रतिशत काम के–के हुन?
खेलस्थल तयार पार्नु मात्रै पर्याप्त हुँदैन। खेल सामग्री, खेलाडीको पोसाक, प्राविधिक जनशक्ति, निर्णायक, आवास, यातायात, सुरक्षा, स्वास्थ्य र व्यवस्थापनका धेरै पक्ष हुन्छन्। केही खेलस्थलमा प्रकाश व्यवस्थापनलगायत प्राविधिक काम भइरहेका छन् ।
हामीले सबै पक्षलाई एकैसाथ अघि बढाएका छौँ। सम्बन्धित मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्, राष्ट्रिय खेलकुद परिषद्, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय भइरहेको छ। बाँकी काम समयमै सक्ने गरी जिम्मेवारी तोकिएको छ।
प्रतियोगिताका खेल मंसिर ८ गतेदेखि सुरु हुने र औपचारिक उद्घाटन मंसिर १६ गते हुने भनिएको छ। समय व्यवस्थापनमा कुनै समस्या छैन?
कार्यतालिकाअनुसार केही खेल उद्घाटनअघि नै सुरु हुनेछन्। मंसिर १६ गते कर्णाली प्रदेश रंगशालामा औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ। यसका लागि राष्ट्रिय खेलकुद परिषद् र प्रदेश सरकारबीच समन्वय भइरहेको छ। निर्धारित तालिकाअनुसार खेल सञ्चालन गर्न खेलस्थल, प्राविधिक पक्ष र व्यवस्थापकीय तयारीलाई प्राथमिकतामा राखेका छौँ। उद्घाटन समारोहलाई पनि व्यवस्थित र मर्यादित बनाउने गरी तयारी भइरहेको छ।
प्रतियोगिताका लागि खेलस्थल र आवश्यक पूर्वाधार व्यवस्थापन कसरी भइरहेको छ?
सुर्खेतमा धेरै खेल हुने भएकाले यहाँका खेलस्थललाई व्यवस्थित बनाउने काम भइरहेको छ। अन्य जिल्लामा हुने खेलका लागि पनि सम्बन्धित निकायसँग समन्वय गरिएको छ। मर्मतसम्भार, खेल सामग्री र प्राविधिक व्यवस्थापनका काम अघि बढेका छन्। खेलाडीले प्रतिस्पर्धा गर्दा असुविधा नभोगून् र प्रतियोगिता व्यवस्थित रूपमा चलोस् भन्नेमा हाम्रो ध्यान छ।
खेलाडीको पोसाक र खेल सामग्री समयमै उपलब्ध गराउन सकिन्छ?
यसको काम अघि बढाइएको छ र आवश्यक सामग्री खरिदको प्रक्रिया चलिरहेको छ। राष्ट्रिय स्तरको प्रतियोगितामा खेलाडीले सामग्री समयमै पाउनु महत्वपूर्ण हुन्छ। त्यसैले खरिद र वितरणमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छौँ। पोसाक, खेल सामग्री वा अन्य व्यवस्थापनका कारण खेलाडीले समस्या भोग्न नपरोस् भन्ने हाम्रो प्रयास हो।
कर्णाली प्रदेश रंगशालाको निर्माण र हस्तान्तरणको विषय पनि चर्चामा छ। प्रतियोगिताअघि रंगशाला पूर्ण रूपमा तयार हुन्छ?
रंगशाला प्रदेशको महत्वपूर्ण खेल पूर्वाधार हो र यसको निर्माण तथा व्यवस्थापनलाई हामीले प्राथमिकतामा राखेका छौँ। प्रतियोगिताका लागि आवश्यक संरचना र प्राविधिक पक्ष समयमै तयार पार्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
रंगशाला प्रदेशको सम्पत्ति र भविष्यको खेलकुद विकासको आधार भएकाले यसको हस्तान्तरण, सञ्चालन र व्यवस्थापन पनि महत्वपूर्ण छ। प्रतियोगिता सञ्चालनमा अवरोध नआउने गरी आवश्यक काम अघि बढाउन पहल भइरहेको छ।
राष्ट्रिय स्तरको प्रतियोगितामा हजारौँ खेलाडी, प्रशिक्षक, दर्शक र पाहुना सहभागी हुन्छन्। सुरक्षा व्यवस्थापन कसरी मिलाइएको छ?
सुरक्षालाई विशेष प्राथमिकतामा राखेका छौँ। खेलस्थल, खेलाडी बस्ने स्थान, दर्शकको आवागमन र उद्घाटन समारोहलाई ध्यानमा राखेर सुरक्षा योजना बनाइएको छ। सुरक्षा निकाय, प्रशासन र सम्बन्धित संस्थाबीच समन्वय गरी प्रतियोगिता शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी छ। खेलाडी, दर्शक र पाहुना सबैले सुरक्षित वातावरणमा प्रतियोगिताको अनुभव गर्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो।
सुर्खेतमा जडान गरिएका धेरै सीसीटीभी क्यामेरा सञ्चालनमा नरहेको विषय पनि उठेको छ। प्रतियोगिताका बेला निगरानी कसरी प्रभावकारी बनाउनुहुन्छ?
यसका लागि सुरक्षा निकायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइनेछ। खेलस्थल र संवेदनशील क्षेत्रको निगरानी प्रभावकारी बनाउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ। प्रविधिको प्रयोगले सुरक्षालाई थप प्रभावकारी बनाउन सकिन्छ, त्यसैले सीसीटीभीलगायतका निगरानी प्रणाली सञ्चालनमा ल्याउने विषयलाई पनि प्राथमिकतामा राखेका छौँ।
खेलाडी तथा दर्शकका लागि स्वास्थ्य सेवा र आकस्मिक उपचारको व्यवस्था के छ?
खेलाडी, प्रशिक्षक, निर्णायक र दर्शकको स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएका छौँ। स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक सेवा उपलब्ध गराउने तयारी भइरहेको छ। खेलका क्रममा चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या आउन सक्ने भएकाले त्यसको व्यवस्थाबारे सम्बन्धित निकायसँग छलफल भइरहेको छ। प्रतियोगिता सफल हुनु भनेको खेल सञ्चालन हुनु मात्रै होइन, सहभागी सबैको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति हुनु पनि हो।
खेलाडी छनोट र बन्द प्रशिक्षणको विषयमा विगतमा केही अन्योल देखिएको थियो। अहिले अवस्था के छ?
प्रदेश खेलकुद विकास परिषद्, सम्बन्धित खेल संघ तथा महासंघमार्फत खेलाडी छनोट र बन्द प्रशिक्षणका कार्यक्रम अघि बढाइएका छन्। सहभागी खेलाडीले राम्रो तयारी गर्न पाउनुपर्छ, त्यसका लागि आवश्यक प्रशिक्षण र व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गरिरहेको छ। खेलाडीको क्षमता र प्रदर्शनका आधारमा छनोट र तयारी हुनुपर्छ भन्ने हाम्रो मान्यता छ।
खेलाडी छनोट निष्पक्ष भएन भन्ने गुनासो विगतमा सुनिने गरेको छ। यसपटक छनोट प्रक्रियामा निष्पक्षता कायम गर्न के गर्नुभएको छ?
छनोटमा निष्पक्षता र प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्छ। क्षमता, प्रदर्शन र योग्यताका आधारमा छनोट हुनुपर्छ र कुनै पनि खेलाडी अन्यायमा पर्नु हुँदैन। खेलकुद विकासका लागि प्रतिभावान् खेलाडीलाई अवसर दिनु आवश्यक छ। त्यसैले सम्बन्धित खेल संघ तथा निकायले पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट खेलाडी छनोट गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।
कर्णालीले प्रतियोगितामा कस्तो प्रदर्शन गर्ने अपेक्षा राखेको छ? पदक जित्ने लक्ष्य छ?
कर्णालीका खेलाडीमा क्षमता छ। आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार पाए उनीहरूले राम्रो प्रदर्शन गर्न सक्छन्। यो प्रतियोगिता उनीहरूका लागि आफ्नो क्षमता देखाउने महत्वपूर्ण अवसर हो। हामीले खेलाडीलाई प्रोत्साहन गर्ने, आवश्यक सहयोग दिने र उनीहरूको मनोबल उच्च राख्ने काम गर्नुपर्छ। कर्णालीका खेलाडीले राम्रो प्रदर्शन गर्नेछन् भन्ने अपेक्षा छ।
यति ठूलो प्रतियोगिता आयोजना गर्दा बजेट व्यवस्थापन चुनौतीपूर्ण हुन्छ। प्रदेश सरकारको तयारी के छ?
प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक बजेट र व्यवस्थापनका काम अघि बढाइएका छन्। खर्चको पारदर्शिता र प्रभावकारी उपयोग पनि उत्तिकै महत्वपूर्ण छ। आवश्यक कामलाई प्राथमिकतामा राखेर स्रोतसाधन परिचालन गर्ने हाम्रो प्रयास छ, ताकि बजेट प्रतियोगिताका लागि समस्या नबनोस्।
दशौँ राष्ट्रिय खेलकुदका लागि ठूलो लगानी हुँदैछ। प्रतियोगिता सकिएपछि रंगशाला र अन्य पूर्वाधारको उपयोग कसरी हुन्छ?
प्रतियोगिता आयोजना गर्नु मात्रै हाम्रो उद्देश्य होइन; निर्माण भएका पूर्वाधारलाई दीर्घकालसम्म उपयोगमा ल्याउनु अझ महत्वपूर्ण छ। कर्णाली प्रदेश रंगशालासहित अन्य संरचना नियमित अभ्यास, प्रतियोगिता र खेलाडी उत्पादनका लागि प्रयोग हुनुपर्छ, प्रयोगविहीन हुनु हुँदैन। प्रदेशका खेलाडीले नियमित प्रशिक्षण गर्न पाउने वातावरण बनाउनुपर्छ। विद्यालय, स्थानीय तह, खेल संघ र खेलकुद संस्थासँग समन्वय गरेर पूर्वाधारको उपयोग निरन्तर राख्ने योजना छ।
कर्णालीमा खेलकुद पूर्वाधार र खेलाडी उत्पादनमा अझै धेरै काम गर्नुपर्ने देखिन्छ। यो प्रतियोगिताले त्यसको आधार तयार गर्छ?
अवश्य। कर्णालीमा खेलकुदको सम्भावना धेरै छ र यहाँका युवामा प्रतिभा छ। तर अवसर, प्रशिक्षण, खेल सामग्री र पूर्वाधारको अभावमा उनीहरूले क्षमता देखाउन पाएका छैनन्। यो प्रतियोगिताले खेलकुदप्रतिको आकर्षण बढाउनेछ, नयाँ खेलाडी उत्पादन र संरचना विकासमा योगदान दिनेछ, र प्रदेशलाई राष्ट्रिय खेलकुदको नक्सामा स्थापित गर्नेछ। यसको अनुभवलाई आगामी दिनमा खेलकुद विकासको आधार बनाउनेछौँ।
राष्ट्रिय खेलकुदले कर्णालीको पर्यटन र अर्थतन्त्रमा कस्तो प्रभाव पार्ने अपेक्षा गर्नुभएको छ?
यो खेलकुद प्रतियोगिता मात्रै होइन, कर्णालीलाई राष्ट्रिय स्तरमा चिनाउने अवसर पनि हो। देशभरबाट खेलाडी, प्रशिक्षक, व्यवस्थापक, दर्शक र पाहुना कर्णाली आउनेछन्। यसले पर्यटन, होटल व्यवसाय, यातायात, व्यापार र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा छ।
कर्णाली प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनको सम्भावना भएको प्रदेश हो। आउने पाहुनालाई यहाँका पर्यटकीय गन्तव्यबारे जानकारी गराउँदै यस अवसरलाई पर्यटन प्रवद्र्धनसँग जोड्नुपर्छ।
प्रतियोगिता सफल बनाउन प्रदेश सरकार एक्लैले सक्दैन। स्थानीय तह, निजी क्षेत्र र नागरिकको भूमिका कस्तो हुनुपर्छ?
यो कर्णाली प्रदेशको साझा आयोजना हो। प्रदेश सरकार, स्थानीय तह, संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद्, निजी क्षेत्र, खेल संघ, नागरिक समाज र आम नागरिक सबैको सहयोग आवश्यक छ।
स्थानीय तहले आफ्नो क्षेत्रमा हुने खेलको व्यवस्थापनमा सहयोग गर्नुपर्छ, निजी क्षेत्रले सेवा र सुविधामा सहकार्य गर्न सक्छ, र नागरिकले पाहुना तथा खेलाडीसँग राम्रो व्यवहार गरेर कर्णालीको आतिथ्य र पहिचान देखाउनुपर्छ। यसलाई प्रदेश सरकारको मात्रै कार्यक्रम नठानेर कर्णालीको प्रतिष्ठासँग जोडिएको साझा अवसरका रूपमा लिन आग्रह गर्दछु।
अन्त्यमा, दशौँ राष्ट्रिय खेलकुदका लागि कर्णालीवासीलाई के भन्न चाहनुहुन्छ?
यो कर्णालीका लागि ऐतिहासिक अवसर हो र यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक छ। खेलाडी, प्रशिक्षक, निर्णायक, पाहुना र दर्शकलाई स्वागत गर्न हामी तयार छौँ। कर्णालीले आफ्नो क्षमता, आतिथ्य र व्यवस्थापकीय दक्षता देखाउने अवसर पाएको छ। सबै मिलेर प्रतियोगितालाई सफल बनाऔँ र कर्णालीको नाम राष्ट्रिय स्तरमा उज्यालो बनाऔँ।








