कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ ः मुख्यमन्त्री शाहीको नेतृत्वमा तयारी तीव्र

हेमन्त केसी
सुर्खेत , ६ मंसिर ः लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुदको महाकुम्भका रूपमा हेरिएको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास परिषद्, स्थानीय तह, निजी क्षेत्र र सुरक्षा निकाय जुटेका छन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । यद्यपि, मुख्य खेलहरू मंसिर ८ गतेदेखि नै सुरु हुनेछन् । मंसिर २७ गते सोही रङ्गशालामा समापन समारोह आयोजना गरिनेछ ।

प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । ३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । कुल एक हजार ३३७ पदकका लागि हुने प्रतिस्पर्धामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदक समावेश छन् । प्रतियोगितालाई कर्णालीले खेलकुद प्रतिस्पर्धा र पदक जित्ने अवसरका रूपमा मात्रै लिएको छैन । प्रदेशको पहिचान, संस्कृति, पर्यटन, आर्थिक गतिविधि र व्यवस्थापकीय क्षमता देशभर चिनाउने अवसरका रूपमा पनि लिएको छ । त्यसैले प्रतियोगिताको तयारीमा मुख्यमन्त्री मंगलबहादुर शाही स्वयं सक्रिय देखिएका छन् ।
मुख्यमन्त्री शाहीको सक्रियता, तयारीलाई अन्तिम रूप दिँदै सरकार
दशौँ राष्ट्रिय खेलकुदको मिति नजिकिएसँगै मुख्यमन्त्री शाही विभिन्न तयारी बैठक, सुरक्षा समन्वय र व्यवस्थापनसम्बन्धी छलफलमा सहभागी हुँदै आएका छन् । खेलस्थल, खेल सामग्री, खेलाडीको पोसाक, आवास, खानपान, यातायात, स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छ । ‘पूर्वाधार सामान्य मर्मत गर्नेबाहेक सबै खेल स्थान प्रतियोगिताका लागि तयारी भइसकेका छन्, कतिपय खेल सामग्री आइसकेका छन्, कति आउने क्रममा छन्,’ मुख्यमन्त्री शाहीले भने ।
खेलस्थल व्यवस्थापन, प्रकाशको व्यवस्था, खेलाडीको पोसाक तथा अन्य प्राविधिक कामलाई समयमै सम्पन्न गर्ने सरकारको योजना छ । प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक र व्यवस्थापकको आवास, खानपान तथा यातायात व्यवस्थापनका लागि स्थानीय तह र निजी क्षेत्रसँग समन्वय भइरहेको छ ।

मुख्यमन्त्री शाहीले प्रतियोगिताको सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन सुरक्षा निकायलाई स्पष्ट जिम्मेवारीसहित परिचालन गर्न निर्देशन दिएका छन् ।
स्वीकृत बजेट, हालसम्मको खर्च र अपुग रकमको विवरणसहित प्रस्ताव पेस गर्न निर्देशन दिँदै आवश्यक खर्चका लागि प्रदेश सरकार तयार रहेको बताएका छन् । तर कुन शीर्षकमा कति रकम आवश्यक हो भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ । करिब १० हजार दर्शक क्षमता रहेको प्रदेश रङ्गशालामा क्षमताभन्दा बढी दर्शक प्रवेश गराउन नहुने भन्दै उनले प्रवेश पास वितरण व्यवस्थित गर्न, प्रवेश तथा बाहिरिने मार्गको व्यवस्थापन गर्न र उद्घाटन तथा समापन समारोहको प्रत्यक्ष प्रसारण अन्य स्थानमा समेत गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।
उद्घाटनमा दस जिल्लाको संस्कृति, राउटे समुदायको नाच आकर्षण
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोहलाई यसपटक कर्णालीको मौलिकता र सांस्कृतिक विविधता प्रदर्शन गर्ने मञ्चका रूपमा तयार पारिँदै छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दका अनुसार उद्घाटन तथा समापन समारोहमा कर्णालीका दसवटै जिल्लाको पहिचान झल्किने सांस्कृतिक झाँकी, परम्परागत नाचगान, बाजागाजा, भेषभूषा र मौलिक प्रस्तुतिहरू समेट्ने योजना बनाइएको छ ।
विशेषगरी कर्णालीको मौलिक संस्कृति बोकेको राउटे समुदायको नाचलाई पनि उद्घाटन समारोहको आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ । विभिन्न जिल्लाका सांस्कृतिक प्रस्तुतिका लागि तीनदेखि चार मिनेटसम्मको समय छुट्याउने योजना रहेको चन्दले बताएका छन् ।
‘उद्घाटन समारोहमा कर्णालीका सबै जिल्लाको प्रतिनिधित्व होस् भन्ने हाम्रो चाहना हो,’ चन्दले भनेका छन्, ‘यहाँको संस्कृति, भेषभूषा, बाजागाजा र मौलिक प्रस्तुतिमार्फत कर्णालीको पहिचान देखाउन खोजेका छौँ ।’ उद्घाटन समारोहलाई थप आकर्षक बनाउन आतसबाजी र प्याराग्लाइडिङलगायतका प्रदर्शन समेट्ने प्रस्तावसमेत गरिएको छ । यद्यपि यी कार्यक्रमको अन्तिम टुंगो लाग्न बाँकी रहेको सदस्यसचिव चन्दले बताएका छन् ।

खेलाडी टोलीको मार्चपास, राष्ट्रिय झण्डा तथा प्रतियोगिताको औपचारिक प्रस्तुति, सांस्कृतिक झाँकी र औपचारिक उद्घोषण उद्घाटन समारोहका मुख्य पक्ष हुनेछन् । समारोहको अन्तिम कार्यक्रम तालिका भने आयोजकले सार्वजनिक गर्न बाँकी छ ।
यसरी उद्घाटनलाई खेलकुदको औपचारिक सुरुआतमा मात्रै सीमित नगरी कर्णालीका दस जिल्लाको कला, संस्कृति, रहनसहन र पहिचान देशभर चिनाउने अवसरका रूपमा उपयोग गर्न खोजिएको छ ।
३२ खेल सात जिल्लामा, सुर्खेतमा २३ खेल
प्रतियोगिताका ३२ खेल सात जिल्लामा सञ्चालन हुनेछन् । सुर्खेतमा सबैभन्दा धेरै २३ खेल आयोजना हुनेछन् । कर्णालीका दैलेख, कालिकोट, सल्यान र पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पनि खेल सञ्चालन हुनेछन् । बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस प्रतियोगिता सञ्चालन हुनेछन् । नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ खेल हुनेछ । बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित भुरीगाउँमा खोखो र गुलरियामा टेनिस खेल सञ्चालन गरिनेछ ।

कर्णालीका जिल्लाहरूमा पनि उपलब्ध खेल पूर्वाधारका आधारमा खेल सञ्चालन गर्ने व्यवस्था गरिएको छ । दैलेख, कालिकोट, सल्यान र पश्चिम रुकुममा खेल आयोजना गरिँदै छ । प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सञ्चालन हुनेछन् । आयोजकका अनुसार उद्घाटनअघि विभिन्न १० खेल सुरु हुनेछन् । यसले औपचारिक उद्घाटनको दिनसम्म प्रतियोगिताका खेलहरू प्रतिस्पर्धात्मक चरणमा प्रवेश गरिसक्नेछन् ।
दुई हजार सुरक्षाकर्मी, १५ खेलस्थलमा सीसीटीभी निगरानी
प्रतियोगितामा देशभरबाट खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक, अतिथि र दर्शक आउने भएकाले सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार प्रतियोगिताको सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । प्रदेशमा उपलब्ध सुरक्षाकर्मीमध्ये करिब ७० प्रतिशत परिचालन गर्ने र आवश्यक परे रिजर्भ टोलीसमेत खटाउने योजना छ । प्रतियोगिताका १५ खेलस्थलमा सीसीटीभीमार्फत निगरानी गरिनेछ । वीरेन्द्रनगरका मुख्य चोक तथा बजार क्षेत्रमा समेत दुई सयभन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

भीड व्यवस्थापन, ट्राफिक नियन्त्रण, पार्किङ, खेलाडी तथा पदाधिकारीको आवागमन, खेलस्थलको सुरक्षा र सम्भावित विवाद व्यवस्थापनका लागि छुट्टाछुट्टै जिम्मेवारी तोक्ने तयारी गरिएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्र सापकोटाले खेलाडी तथा पदाधिकारीको आवास, आवागमन, दर्शक व्यवस्थापन, ट्राफिक र पार्किङलाई सुरक्षा योजनामा समेट्नुपर्ने बताएका छन् । खेलाडी तथा दर्शकको स्वास्थ्य सुरक्षाका लागि अस्पताल र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने, आकस्मिक उपचार तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा पनि छलफल भइरहेको छ ।

तयारी ९० प्रतिशत भनदा माथी ?
प्रदेश रङ्गशाला निर्माण कम्पनीबाट सरकारको मातहतमा हस्तान्तरण मंसिर ७ गते गर्ने तयारी गरिएको छ । प्रतियोगिता आयोजनाका लागि सरकारले ४४ करोड १० लाख रुपैयाँ विनियोजन गरेको र राष्ट्रिय खेलकुद परिषद्ले करिब ७२ करोड रुपैयाँ आवश्यक पर्ने प्रस्ताव सहित काम गरिरहेको छ ।
११ टोली, १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा
दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनएका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ३२ खेलका ३८४ इभेन्ट्समा कुल एक हजार ३३७ पदक वितरण गरिनेछ । जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदक छन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा ७४० खेलाडी सहभागी हुनेछन् । उनीहरूमध्ये ३९४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन् । खेलाडीका अतिरिक्त प्रशिक्षक, व्यवस्थापक, निर्णायक र प्राविधिक जनशक्तिसमेत परिचालन हुनेछन् । प्रतियोगिताका लागि २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक तथा ३४९ स्थानीय सहयोगी परिचालन हुनेछन् ।
कर्णालीको अर्थतन्त्र र पर्यटनमा नयाँ अवसर
दशौँ राष्ट्रिय खेलकुद कर्णालीको आर्थिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा पनि हेरिएको छ । प्रतियोगितामा सहभागी हुन देशका विभिन्न स्थानबाट खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक, अतिथि र दर्शक आउने भएकाले होटल, रेस्टुरेन्ट, यातायात, खाद्यान्न तथा अन्य व्यवसायमा कारोबार बढ्ने अपेक्षा गरिएको छ ।
कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले प्रतियोगिताले निजी क्षेत्रलाई समेत उत्साहित बनाएको बताएका छन् । उनका अनुसार ठूलो संख्यामा मानिसको आवागमन हुँदा होटल, यातायात, खाद्यान्न तथा अन्य सेवा व्यवसायमा आर्थिक गतिविधि बढ्नेछ । प्रतियोगितामा आउने पाहुनालाई कर्णालीका पर्यटकीय गन्तव्यसम्म पु¥याउन सके यसको प्रभाव अझ व्यापक हुनेछ । सुर्खेतको काँक्रेविहार, बुलबुले, मुगुको रारा, डोल्पाको फोक्सुण्डो, जुम्लाको सिंजा, दैलेखको पञ्चकोशी तथा सल्यानको कुपिण्डे दहजस्ता पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न सकिनेछ ।
तर प्रतियोगितामा सहभागी हुने पाहुनालाई पर्यटनसँग जोड्न यातायात, समय, आवास र भ्रमण प्याकेजको व्यवस्थापन आवश्यक देखिन्छ । यसका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच समन्वय हुन सके खेलकुदको अवसर पर्यटन प्रवद्र्धनसँग पनि जोडिन सक्छ ।
‘कर्णाली ठूलो प्रतियोगिता आयोजना गर्न सक्षम छ भन्ने सन्देश दिन चाहन्छौँ’
प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दले दशौँ राष्ट्रिय खेलकुदलाई कर्णालीको छवि बदल्ने अवसरका रूपमा लिएका छन् । उनका अनुसार कर्णालीमा ठूला कार्यक्रम आयोजना गर्न सकिँदैन, यहाँ पर्याप्त खाना, बसोबास र पानीको सुविधा छैन भन्ने बुझाइलाई प्रतियोगिताको सफल आयोजनाबाट चिर्न खोजिएको छ । ‘कर्णालीमा ठूला कार्यक्रम गर्न सकिँदैन, यहाँ खाना, बसोबास र पानीजस्ता सुविधा छैनन् भन्ने भाष्य छ,’ उनले भनेका छन्, ‘दशौँ राष्ट्रिय खेलकुद सफलतापूर्वक आयोजना गरेर कर्णालीले पनि ठूलो प्रतियोगिता व्यवस्थापन गर्न सक्छ भन्ने सन्देश दिन चाहन्छौँ ।’
उनले उद्घाटन र समापन समारोहमा कर्णालीका दसवटै जिल्लाको संस्कृति, भेषभूषा, बाजागाजा र मौलिक प्रस्तुतिलाई समेटेर प्रदेशको पहिचान राष्ट्रियस्तरमा चिनाउने योजना रहेको बताएका छन् ।

प्रतियोगितापछि पनि खेलकुदको गति रोक्नु हुँदैन
कर्णाली प्रदेशमा निर्माण भएको प्रदेश रङ्गशाला र अन्य खेल पूर्वाधारलाई प्रतियोगितापछि कसरी उपयोग गरिन्छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । प्रतियोगिता सम्पन्न भएपछि संरचना प्रयोगविहीन हुने अवस्था आउन नदिन नियमित खेल प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरीय खेलकुद र राष्ट्रियस्तरका अन्य प्रतियोगिता सञ्चालन गर्नुपर्नेछ । कर्णालीका खेलाडी उत्पादनका लागि दक्ष प्रशिक्षक, खेल सामग्री, नियमित प्रशिक्षण र प्रोत्साहनको व्यवस्था आवश्यक छ ।
मुख्यमन्त्री शाहीले पनि प्रतियोगितापछि खेल पूर्वाधारको निरन्तर उपयोग, खेलाडी उत्पादन र खेलकुदमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । कर्णालीका लागि दशौँ राष्ट्रिय खेलकुद पदक जित्ने प्रतिस्पर्धा मात्रै होइन, आफ्नो क्षमता र सम्भावना देशसामु प्रस्तुत गर्ने अवसर हो । उद्घाटन समारोहमा दसवटै जिल्लाको संस्कृति देखाउने तयारीदेखि हजारौँ खेलाडी तथा पाहुनाको व्यवस्थापनसम्मका कामले प्रदेशको परिचय निर्माण गर्नेछन् ।
प्रतियोगिता सफल भए कर्णालीले राष्ट्रियस्तरका ठूला कार्यक्रम आयोजना गर्न सक्ने सन्देश जानेछ । होटल व्यवसायदेखि यातायात, कृषि उत्पादन, पर्यटन र स्थानीय व्यापारसम्म यसको लाभ विस्तार हुन सक्छ ।
दशौँ राष्ट्रिय खेलकुदको सफलता उद्घाटनको भव्यता र पदक तालिकामा मात्रै सीमित हुनु हुँदैन । प्रतियोगितापछि पनि खेल पूर्वाधार चलायमान रहनु, स्थानीय खेलाडीले अवसर पाउनु, पर्यटन र व्यवसायमा दीर्घकालीन लाभ पुग्नु तथा कर्णालीप्रति बाहिरको दृष्टिकोणमा सकारात्मक परिवर्तन आउनु नै यस प्रतियोगिताको वास्तविक उपलब्धि हुनेछ ।








