दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका तयारी ९० प्रतिशत पुरा ः मुख्यमन्त्री शाही

हेमन्त केसी
सुर्खेत ः कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । खेलस्थल व्यवस्थापन, खेलाडीको पोसाक, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको तयारी भइरहे पनि सञ्चालनका केही प्राविधिक र व्यवस्थापकीय काम भने अझै चुनौतीका रूपमा देखिएका छन्।
मुख्यमन्त्री मंगलबहादुर शाहीले तयारीलाई तीव्रता दिइएको र खेल सुरु हुनुअघि करिब ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार खेलस्थल, प्रकाश व्यवस्थापन, खेल सामग्री र खेलाडीको पोसाकको व्यवस्था मिलाउने काम भइरहेको छ। केही खेलस्थलमा सामान्य मर्मतसम्भार र प्राविधिक काम बाँकी रहे पनि तोकिएको समयभित्र सक्ने सरकारको योजना छ।
‘अहिले तयारीका अधिकांश काम अघि बढिसकेका छन्। बाँकी काम पनि तोकिएको समयभित्र पूरा गर्ने लक्ष्य छ। सात दिनभित्र तयारीलाई ९० प्रतिशतसम्म पु¥याउँछौँ,’ मुख्यमन्त्री शाहीले भने।

३२ खेल, सात जिल्लामा प्रतिस्पर्धा
दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेल विधाका प्रतिस्पर्धा हुने कार्यक्रम छ। खेलहरू कर्णालीका विभिन्न जिल्ला र लुम्बिनी प्रदेशका केही जिल्लामा सञ्चालन हुनेछन्।

सुर्खेतमा सबैभन्दा बढी २३ खेल गर्ने तयारी छ। सल्यान, नेपालगञ्ज र बर्दियामा दुई–दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल हुनेछन्।

विभिन्न जिल्लामा खेल गर्दा खेलाडी, प्रशिक्षक, निर्णायक र व्यवस्थापकको आवास, यातायात, भोजन र प्राविधिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने हुन्छ। यसका लागि सम्बन्धित जिल्लाका स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय भइरहेको मुख्यमन्त्रीले बताए।

खेलस्थलमा आवश्यक पूर्वाधार भए पनि केही स्थानमा प्रकाश व्यवस्थापन, मर्मतसम्भार र अन्य प्राविधिक काम बाँकी छन्।
खेल सामग्री र पोसाक व्यवस्थापन

राष्ट्रिय स्तरको प्रतियोगिताका लागि खेलस्थल तयार पार्नु मात्र पर्याप्त हुँदैन। खेलाडीको पोसाक, खेल सामग्री, प्राविधिक जनशक्ति र निर्णायकको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ। मुख्यमन्त्री शाहीका अनुसार खेलाडीको पोसाकदेखि खेल सामग्रीसम्मको व्यवस्थापन भइरहेको छ। सामग्री खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ।
सहभागी खेलाडीलाई समयमै सामग्री उपलब्ध गराउने र खेल सञ्चालनमा अवरोध नहुने गरी तयारी भइरहेको उनको भनाइ छ।

सुरक्षा र स्वास्थ्य सेवा
देशभरबाट खेलाडी, प्रशिक्षक, व्यवस्थापक र दर्शक सहभागी हुने भएकाले सुरक्षा व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष हो । सुरक्षा निकायसँग समन्वय भइरहेको छ। सुरक्षा समन्वय बैठकमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने र १५ खेलस्थलमा सीसीटीभी निगरानी राख्ने तयारीबारे जानकारी दिइएको छ।

अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने, आकस्मिक उपचारको व्यवस्था मिलाउने र खेलाडी तथा दर्शकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने विषयमा पनि छलफल भएको छ। मुख्यमन्त्री शाहीले सुरक्षा निकाय, स्वास्थ्य संस्था र सम्बन्धित सबै निकायबीच समन्वय भइरहेको बताए।

मंसिर १६ मा उद्घाटन, स्थानीय तहको पनि सहयोग
दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा हुने कार्यक्रम छ। केही खेल भने मंसिर ८ गतेदेखि नै सुरु हुने तयारी छ।
उद्घाटन समारोहलाई भव्य र व्यवस्थित बनाउन प्रदेश सरकार, कर्मचारी, स्थानीय तह र विभिन्न संघसंस्थासँग समन्वय भइरहेको मुख्यमन्त्रीले बताए। स्थानीय तह तथा अन्य संस्थाले प्रवेशद्वार निर्माणलगायतका काममा सहयोग गर्ने तयारी गरेका छन्।
प्रदेश सरकारले समारोहमा सहभागी हुने अतिथि, खेलाडी, कर्मचारी र दर्शकको व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको छ।

कर्णालीको अर्थतन्त्रमा अवसर
यो प्रतियोगिता कर्णालीका लागि खेलकुद प्रतिस्पर्धा मात्र नभई आर्थिक तथा सामाजिक गतिविधि विस्तार गर्ने अवसर पनि हो।

देशभरबाट खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक र दर्शक आउने भएकाले होटल, यातायात, रेस्टुरेन्ट, खाद्यान्नलगायतका व्यवसायमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ। मुख्यमन्त्री शाहीले पनि सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। ‘यस्तो ठूलो प्रतियोगिता आयोजना हुँदा प्रदेशमा आर्थिक गतिविधि बढ्छ। होटल, यातायात, व्यापार तथा पर्यटन क्षेत्रमा चहलपहल बढ्नेछ। कर्णालीलाई चिनाउने अवसर पनि हो,’ उनले भने।

तर यसबाट हुने आर्थिक लाभ स्थानीय व्यवसायी र समुदायसम्म पु¥याउन प्रदेश सरकारले विशेष योजना बनाउनुपर्ने देखिन्छ। स्थानीय उत्पादनको खपत, पर्यटन प्रवद्र्धन र निजी क्षेत्रको सहभागिता बढाउन सके आर्थिक प्रभाव दीर्घकालीन हुन सक्छ।

प्रतियोगितापछि पूर्वाधारको उपयोग मुख्य चुनौती
राष्ट्रिय खेलकुदका लागि बनाइएका खेल संरचना प्रतियोगितापछि कसरी उपयोग हुन्छन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
यी पूर्वाधारलाई नियमित प्रशिक्षण, स्थानीय प्रतियोगिता र राष्ट्रिय स्तरका अन्य खेल आयोजनामा प्रयोग गर्न सके मात्र प्रदेशले दीर्घकालीन लाभ लिन सक्छ। मुख्यमन्त्री शाहीले भविष्यमा कर्णालीमा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने आधार तयार भएको बताएका छन् । तर त्यसका लागि संरचनाको नियमित सञ्चालन, मर्मतसम्भार, दक्ष प्रशिक्षकको उपलब्धता र खेलाडी उत्पादनमा निरन्तर लगानी आवश्यक हुन्छ।

कर्णालीकै खेलाडी उत्पादन र पदकको चुनौती
राष्ट्रिय खेलकुद आयोजना गर्ने प्रदेशले प्रतियोगिता सफल बनाउनुका साथै आफ्नै खेलाडीको क्षमता विकासमा पनि ध्यान दिनुपर्छ। कर्णालीका खेलाडीलाई जिल्लास्तरबाट छनोट गर्दै प्रदेश र राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने वातावरण आवश्यक रहेको मुख्यमन्त्री शाहीको भनाइ छ। नियमित प्रशिक्षण, दक्ष प्रशिक्षक, खेल सामग्री र प्रोत्साहन पाए कर्णालीले राष्ट्रिय स्तरमा उपस्थिति बलियो बनाउन सक्ने उनको विश्वास छ।

दशौँ राष्ट्रिय खेलकुद कर्णालीको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता हो। यसको सफलताले प्रदेशको खेलकुद क्षमता, पूर्वाधार, व्यवस्थापन र आतिथ्यको परीक्षण गर्नेछ । प्रतियोगितापछि संरचना प्रयोगविहीन हुने, खेलाडी उत्पादनमा निरन्तरता नआउने र स्थानीय अर्थतन्त्रले अपेक्षित लाभ लिन नसक्ने अवस्था आउन नदिन प्रदेश सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने देखिन्छ। त्यसैले यसको सफलता सञ्चालन र समापनमा मात्र सीमित हुनुहुँदैन; यसले कर्णालीमा खेलकुद संस्कृति, स्थानीय अर्थतन्त्रको विस्तार र प्रतिभावान् खेलाडी उत्पादनको आधार तयार गर्न सक्नुपर्छ।




सम्बन्धित समाचार


error: Content is protected !!