कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको सम्पत्ति कति?

सुर्खेत / कर्णाली प्रदेश सरकारका छ जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेबसाइटमार्फत उनीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई, सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा कार्की, जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोका छन् ।
सार्वजनिक विवरणमा मन्त्रीहरूका घरजग्गा, सेयर लगानी, बैंक मौज्दात, सुनचाँदी, सवारीसाधन तथा ऋणको अवस्था उल्लेख छ । विवरणअनुसार अर्थमन्त्री पछाईका नाममा विभिन्न जिल्लामा जग्गाजमिन र कम्पनीमा सेयर लगानी छ भने सामाजिक विकासमन्त्री मल्लको परिवारका नाममा चारवटा घर र विभिन्न स्थानमा जग्गा रहेको छ । अन्य मन्त्रीका विवरणमा पैतृक सम्पत्ति, अंशबन्डाबाट प्राप्त जग्गा, बैंक मौज्दात र ऋणसमेत उल्लेख छन् ।
पछाईसँग ३१ ठाउँमा जग्गा, २८ कम्पनीमा सेयर
आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईको सम्पत्ति विवरणमा जुम्ला र बर्दियामा गरी ३१ ठाउँमा जग्गाजमिन रहेको उल्लेख छ । उनीसँग २० तोला सुन र ५० तोला चाँदी छ । विभिन्न लघुवित्त तथा कम्पनीमा सेयर लगानी रहेको विवरणमा उल्लेख छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ घर भएका पछाईका बुबाको नाममा गाउँमा दुईवटा पुर्ख्यौली घर र विभिन्न २८ ठाउँमा जग्गा रहेको छ । बर्दियाको राजापुर नगरपालिका–२ का तीन ठाउँमा पनि जग्गाजमिन रहेको उनले जनाएका छन् ।
पछाई र उनकी श्रीमती तिला आचार्यको नाममा विभिन्न बैंकमा गरी १२ लाख १५ हजार रुपैयाँ मौज्दात छ । नागरिक लगानी कोषमा दुवैको नाममा नौ लाख १३ हजार ६६४ रुपैयाँ जम्मा रहेको छ । उनले केही सेयर सेयर कारोबारबाट र केही तलबबाट खरिद गरेको उल्लेख गरेका छन् ।
उनको नाममा दुई लाख ४० हजार रुपैयाँ मूल्यको बजाज मोटरसाइकल र श्रीमतीको नाममा दुई लाख ८५ हजार रुपैयाँ मूल्यको स्कुटर छ । कृषितर्फ जुम्लामा २०० बोट स्याउ, १५ बोट ओखर र एउटा गाई रहेको उनले उल्लेख गरेका छन् । यस्तै, दुई थान एप्पल मोबाइल र एउटा ल्यापटप पनि सम्पत्ति विवरणमा समावेश छन् ।
मल्ल परिवारका नाममा चार घर, ६३ लाख ऋण
सामाजिक विकासमन्त्री जितबहादुर मल्लको मुगुको छायानाथ रारा नगरपालिका–१ मा घर छ । उनको परिवारका नाममा चारवटा घर रहेको विवरणमा उल्लेख छ । तीमध्ये बाँकेको कोहलपुर नगरपालिका–७ मा ३७४.२५ वर्गमिटर क्षेत्रफलमा बनेको ३० लाख रुपैयाँ मूल्यको घर उनको नाममा छ । अन्य घर श्रीमती राधिका मल्लको नाममा रहेको विवरणमा उल्लेख छ ।
श्रीमतीको नाममा छायानाथ रारा नगरपालिकाका विभिन्न वडामा १० ठाउँमा जग्गाजमिन रहेको छ । जग्गा तथा घर व्यवसाय, नोकरी र ऋणबाट जोडेको विवरणमा जनाइएको छ ।
मल्लसँग चार तोला सुन र पाँच तोला चाँदी छ । उनको बैंक खातामा तीन लाख रुपैयाँ मौज्दात रहेको छ भने श्रीमतीको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ६३ लाख रुपैयाँ ऋण रहेको उल्लेख छ ।
उनको सम्पत्ति विवरणमा एक लाख ९० हजार रुपैयाँ मूल्यको मोबाइल फोन, एक लाख रुपैयाँको ल्यापटप र एक लाख ८० हजार रुपैयाँको ट्याबलेट पनि समावेश छन् । ती सामग्री वैदेशिक रोजगारीमा रहेका व्यक्तिबाट उपहारस्वरूप प्राप्त भएको उनले जनाएका छन् ।
कृषि मन्त्रीसँग सुनचाँदी र बीमाबापतको रकम
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा कार्कीको हुम्लाको सर्केगाड गाउँपालिका–२ मा घर छ । सुर्खेतमा एक ठाउँ र हुम्लामा दुई ठाउँमा जग्गा रहेको उनले उल्लेख गरेकी छन् । जग्गा पैतृक सम्पत्ति, व्यवसाय र ऋणबाट जोडेको विवरणमा जनाइएको छ ।
कार्कीसँग १० तोला सुन, ११० तोला चाँदीका माला तथा तुथो, मुगा र मोतीका २५ तोला माला छन् । ती सबै पैतृक सम्पत्ति तथा दाइजोबाट प्राप्त भएको उनले उल्लेख गरेकी छन् ।
उनले दुई लाख रुपैयाँ नगद तथा पारिश्रमिकबाट प्राप्त रकम रहेको जनाएकी छन् । सिटिजन्स र सांग्रिला बैंकमा गरी १५ लाख २० हजार रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ । उक्त रकममध्ये १५ लाख रुपैयाँ श्रीमान्को मृत्युपछि दुर्घटना बिमाबाट प्राप्त भएको र २० हजार रुपैयाँ पारिश्रमिकबाट जम्मा भएको उनले जनाएकी छन् । यस्तै, सात लाख रुपैयाँ मूल्यको मोटरसाइकल पनि रहेको उल्लेख छ ।
ऊर्जा मन्त्रीसँग आठ लाख ऋण
हुम्लाको अदानचुली गाउँपालिका–५ घर भएका जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमालसँग एउटा पुर्ख्यौली घर छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा व्यवसायबाट खरिद गरेको जग्गा रहेको उनले उल्लेख गरेका छन् ।
हमालसँग दुई तोला सुन र ४० तोला चाँदी पैतृक सम्पत्तिका रूपमा रहेको छ । चारवटा बैंकमा गरी दुई लाख ७० हजार रुपैयाँ मौज्दात छ । उक्त रकममध्ये दुई लाख ५० हजार रुपैयाँ वैदेशिक रोजगारीबाट प्राप्त भएको र बाँकी रकम तलबबाट जम्मा गरेको उनले जनाएका छन् ।
विभिन्न व्यक्तिबाट लिएको आठ लाख रुपैयाँ ऋण चुक्ता गर्न बाँकी रहेको विवरणमा उल्लेख छ । उनको सम्पत्ति विवरणमा पैतृक घरजग्गा तथा सुनचाँदीसँगै कृषि उपज र परम्परागत सामग्रीसमेत समावेश छन् ।
उद्योग मन्त्रीको नाममा अंशबन्डाबाट प्राप्त जग्गा
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ घर भएकी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काको नाममा अंशबन्डाबाट प्राप्त चार कित्ता जग्गा रहेको छ । दाङमा १२० वर्गमिटर क्षेत्रफलको तीन लाख ६० हजार रुपैयाँ मूल्य बराबरको घडेरी पनि अंशबन्डाबाटै प्राप्त भएको उनले जनाएकी छन् ।
खड्काले आफ्नो नाममा घर नभएको विवरण बुझाएकी छन् । बैंकमा बुबाबाट प्राप्त पाँच लाख रुपैयाँ जम्मा रहेको र तलब, भत्ता तथा जग्गा बिक्रीबाट चार लाख ४६ हजार रुपैयाँ जम्मा गरेको उनले उल्लेख गरेकी छन् । यसअनुसार उनको बैंक मौज्दात नौ लाख ४६ हजार रुपैयाँ रहेको छ ।
भौतिक पूर्वाधार मन्त्रीसँग ११ कित्ता पुर्ख्यौली जग्गा
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१३ घर भएकी भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाको गाउँमा कच्ची पुर्ख्यौली घर छ । उनको नाममा ११ कित्ता पुर्ख्यौली जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
रोकासँग दुई तोला सुन र तीन लाख रुपैयाँ बराबरको सेयर छ । बैंक खातामा ९० हजार रुपैयाँ मौज्दात रहेको उनले जनाएकी छन् । यस्तै, आफन्तबाट लिएको १२ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।
सम्पत्तिको प्रकृति र स्रोत फरक–फरक
मन्त्रीहरूको सम्पत्ति विवरण तुलना गर्दा घरजग्गा, सेयर, बैंक मौज्दात, सुनचाँदी तथा ऋणको अवस्था फरक देखिन्छ । अर्थमन्त्री पछाईको विवरणमा विभिन्न स्थानमा जग्गाजमिन र सेयर लगानी उल्लेख छ भने सामाजिक विकासमन्त्री मल्लको परिवारका नाममा चार घर र विभिन्न ठाउँमा जग्गा रहेको छ । कृषि मन्त्री कार्कीको विवरणमा सुनचाँदी तथा दुर्घटना बिमाबाट प्राप्त रकम उल्लेख छ । ऊर्जा मन्त्री हमाल र भौतिक पूर्वाधार मन्त्री रोकाले ऋण तिर्न बाँकी रहेको जनाएका छन् भने उद्योगमन्त्री खड्काको नाममा अंशबन्डाबाट प्राप्त जग्गा र बैंक मौज्दात रहेको छ ।
मन्त्रीहरूको सम्पत्ति विवरणमा पैतृक सम्पत्ति, अंशबन्डा, व्यवसाय, पारिश्रमिक, वैदेशिक रोजगारी तथा बीमाबाट प्राप्त रकमजस्ता विभिन्न स्रोत उल्लेख छन् । तर सबै सम्पत्तिको हालको बजार मूल्य र दायित्वको एकीकृत विवरण उपलब्ध नभएकाले उल्लेखित विवरणका आधारमा मात्रै मन्त्रीहरूको कुल सम्पत्ति यकिन गरी तुलनात्मक निष्कर्ष निकाल्न सकिँदैन ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले भने केही दिनअघि नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन् ।










