वडाध्यक्ष केशरमान विकमाथि कुटपिट आरोपबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

हेमन्त केसी
सुर्खेत, २१ असोज ः रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई पक्राउ गरी कुटपिट गरिएको आरोपबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोष सिंह राठोरका अनुसार प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्ती मगरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो। समितिले घटनाको वास्तविकता पत्ता लगाई छिटोभन्दा छिटो प्रतिवेदन बुझाउने उनले बताए।

‘घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। समितिले छिटोभन्दा छिटो अध्ययन गरेर प्रतिवेदन तयार गर्नेछ,’ एसएसपी राठोरले भने।

प्रहरीको दाबी र कुटपिटको आरोप

वडाध्यक्ष विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका उनका भाइ गोपाल विक भनिने वीरेन्द्र विकलाई पक्राउ गर्न गएको प्रहरी टोलीसँग वडाध्यक्षले विवाद गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गोपाललाई पक्राउ गर्न खोज्दा वडाध्यक्ष विकले प्रहरीको काममा अवरोध गर्नुका साथै धकेलाधकेल र हातपात गरेको तथा प्रहरीको पोसाकसमेत च्यातेको आरोप छ। यही घटनाका आधारमा उनलाई राष्ट्रसेवकलाई काममा बाधा पुर्‍याएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तर विकको परिवार तथा नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले भने उनलाई छलफलका लागि भन्दै प्रहरी कार्यालयमा बोलाएर पक्राउ पुर्जीबिनै हिरासतमा राखी कुटपिट गरेको आरोप लगाएको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

विकलाई हिरासतमा राखिएको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान करिब ३ बजे थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो। उनको टाउको, अनुहार, आँखामुनि तथा घाँटी र शरीरका अन्य भागमा चोट देखिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीले भने विकलाई हिरासतमा कुटपिट गरिएको आरोप अस्वीकार गर्दै आएको छ। कर्णाली प्रदेश प्रहरी प्रवक्ता राठोरले विकलाई हिरासतमा सम्मानपूर्वक राखिएको दाबी गरेका छन्।

सांसदले पनि मागे निष्पक्ष छानबिन

यसैबीच रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य गोपाल शर्मा र प्रदेशसभा सदस्य महेन्द्र केसीले बुधबार कर्णाली प्रदेश प्रहरी प्रमुख जयराज सापकोटासँग भेट गरेका छन्।

उनीहरूले वडाध्यक्ष विक पक्राउ तथा घाइते भएको घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याउन प्रहरी प्रमुख सापकोटासँग आग्रह गरेका हुन्।

घटनामा प्रहरी र वडाध्यक्ष पक्षबाट फरक–फरक दाबी सार्वजनिक भइरहेका बेला प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको हो। अब समितिको प्रतिवेदनपछि विक कसरी घाइते भए र घटनाको वास्तविकता के हो भन्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।





error: Content is protected !!