एआईको युगमा शिक्षक : विस्थापन होइन, रूपान्तरणको अवसर

मानबहादुर बस्नेत

सूचना तथा प्रविधिको द्रुत विकासले संसारलाई नै एउटा सानो गाउँमा परिणत गरिदिएको छ। त्यसमा पनि कृत्रिम बौद्धिकता (Artificial Intelligence–AI) को पछिल्लो विकासले मानव जीवनका हरेक क्षेत्रमा नयाँ सम्भावना र चुनौती सिर्जना गरेको छ। उद्योग, स्वास्थ्य, सञ्चार र वित्त क्षेत्रपछि एआईको प्रभाव शिक्षा क्षेत्रमा पनि तीव्र रूपमा देखिन थालेको छ। यही कारण अहिले शैक्षिक वृत्तमा एउटा गम्भीर र कौतूहलपूर्ण बहस सुरु भएको छ– ‘के भविष्यमा एआईले शिक्षकलाई विस्थापित गर्ला?’

पहिलो दृष्टिमा हेर्दा एआईको क्षमता अचम्मलाग्दो छ। यसले केही सेकेन्डमै संसारभरका तथ्य तथा सूचनाको खोजी, विश्लेषण र प्रस्तुति गर्न सक्छ। जटिल गणितीय समस्या समाधान गर्नेदेखि विभिन्न भाषामा अनुवाद गर्ने र विद्यार्थीको सिकाइ क्षमता तथा आवश्यकताअनुसार व्यक्तिगत सिकाइ सामग्री तयार गर्नेसम्मका काम एआईमा आधारित उपकरणले गर्न थालेका छन्। चौबीसै घण्टा उपलब्ध हुने यस्ता प्रविधिका कारण ज्ञान र सूचनाका लागि अब शिक्षक वा पुस्तकालयमै निर्भर रहनुपर्ने अवस्था पनि क्रमशः परिवर्तन हुँदै गएको छ।

तर प्रश्न उठ्छ– के ज्ञान वा सूचना हस्तान्तरण गर्नु नै शिक्षणको पूर्ण परिभाषा हो?

निश्चय पनि होइन। शिक्षण सूचना आदान–प्रदानको प्रक्रिया मात्र होइन; यो मानवीय संवेदना, प्रेरणा, मूल्य–मान्यता र चरित्र निर्माणसँग जोडिएको प्रक्रिया हो। एआईले जतिसुकै परिष्कृत उत्तर दिए पनि त्यसमा मानिसको जस्तो चेतना, भावना, संवेदना र नैतिक विवेक हुँदैन।

कक्षाकोठामा कुनै विद्यार्थी पारिवारिक वा मानसिक तनावका कारण उदास छ भने उसको अनुहारको भाव बुझेर ‘चिन्ता नगर, म तिमीलाई सहयोग गर्छु’ भन्दै हौसला दिने मानवीय स्पर्श र सहानुभूति शिक्षकले मात्र प्रदान गर्न सक्छ। विद्यार्थीमा नैतिक मूल्यमान्यता विकास गर्ने, अनुशासन सिकाउने तथा जीवनका कठिनाइसँग जुध्ने आत्मविश्वास र प्रेरणा दिने काम पनि शिक्षकको मानवीय भूमिकासँग जोडिएको छ।

त्यसैले एआईले शिक्षकको भूमिकालाई पूर्ण रूपमा विस्थापित गर्नेभन्दा शिक्षकको भूमिका र कार्यशैलीलाई रूपान्तरण गर्ने सम्भावना बढी छ।

कर्णाली र दूरदराजको शैक्षिक यथार्थ

प्रविधि र एआईका सम्भावनाबारे चर्चा गरिरहँदा नेपालको भौगोलिक विकटता र दूरदराजका विद्यालयको वास्तविकतालाई भने ओझेलमा पार्न मिल्दैन। कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लासहित देशका धेरै दुर्गम क्षेत्रमा अझै पनि शिक्षण–सिकाइको अवस्था चुनौतीपूर्ण छ।

आधुनिक सूचना प्रविधिको पहुँच त परैको कुरा, धेरै विद्यालयमा न्यूनतम भौतिक पूर्वाधार, विद्युत्, इन्टरनेट र उपयुक्त शिक्षण सामग्रीको समेत अभाव छ। त्यहाँ कार्यरत शिक्षक अझै पनि पाठ्यपुस्तक, चक–डस्टर र परम्परागत घोकन्ते शिक्षण विधिमा निर्भर रहन बाध्य छन्। स्थानीय परिवेशमा उपलब्ध स्रोत तथा सामग्रीलाई शिक्षण सिकाइमा प्रभावकारी रूपमा प्रयोग गर्ने अभ्यास पनि पर्याप्त हुन सकेको छैन।

अर्कोतर्फ, शिक्षकलाई दिइने तालिमसमेत धेरै हदसम्म सैद्धान्तिक र औपचारिकतामुखी हुने गरेको गुनासो छ। तालिम केन्द्रमा सिकेका सीप र प्रविधिलाई दुर्गम तथा विषम भौगोलिक अवस्थाका वास्तविक कक्षाकोठामा व्यावहारिक रूपमा रूपान्तरण गर्न चुनौती छ।

दरबन्दीको असमान वितरण, विषयगत शिक्षकको अभाव र कमजोर पूर्वाधारका बीच पनि दुर्गम क्षेत्रमा कार्यरत शिक्षकले विद्यार्थीको उज्ज्वल भविष्यका लागि गरिरहेको समर्पण भने प्रशंसनीय छ।

कर्णालीको शैक्षिक रूपान्तरणका लागि नीतिगत र कानुनी आवश्यकता

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनमा स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ भने प्रदेश र सङ्घलाई पनि शिक्षा क्षेत्रमा आ–आफ्ना अधिकार तथा जिम्मेवारी प्रदान गरेको छ। मौजुदा शिक्षा ऐन, २०२८ को प्रतिस्थापनका लागि प्रस्तावित सङ्घीय शिक्षा ऐन, राष्ट्रिय शिक्षा नीति, २०७६, सोह्रौँ आवधिक योजना, दिगो विकास लक्ष्य (SDG–4) तथा विद्यालय शिक्षा क्षेत्र योजना (SESP) ले समेत शिक्षाको गुणस्तर र पहुँच विस्तारमा जोड दिएका छन्।

कर्णालीको विशिष्ट भौगोलिक, सामाजिक तथा आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न विषयमा स्पष्ट नीति तथा कानुनी व्यवस्था आवश्यक देखिन्छ।

१. प्रदेश शिक्षा ऐन र सङ्घीय समन्वय :
सङ्घीय शिक्षा ऐनसँग नबाझिने गरी कर्णालीको भौगोलिक तथा सामाजिक परिवेशअनुकूल प्रदेश शिक्षा ऐन निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ।

२. हिमाली आवासीय विद्यालय र पूर्वाधार नीति :
छरिएका बस्ती र भौगोलिक विकटतालाई ध्यानमा राखी डोल्पा, हुम्ला, मुगु, जुम्लालगायतका जिल्लामा आधुनिक तथा सुविधासम्पन्न आवासीय विद्यालय सञ्चालन गर्ने व्यवस्था गर्न आवश्यक छ।

३. डिजिटल पहुँचको सुनिश्चितता :
इन्टरनेट र डिजिटल प्रविधिलाई शिक्षाको अभिन्न पूर्वाधारका रूपमा स्थापित गर्दै कर्णालीका सबै विद्यालय तथा क्याम्पसमा भरपर्दो इन्टरनेट, सौर्य ऊर्जा र कम्प्युटर ल्याबको पहुँच पुर्‍याउने दीर्घकालीन योजना आवश्यक छ।

४. शिक्षक प्रोत्साहन र कार्यमूलक तालिम :
दुर्गम क्षेत्रमा गणित, विज्ञान तथा प्रविधिजस्ता विषयका शिक्षकलाई टिकाइराख्न प्रोत्साहन भत्ता, आवास तथा अन्य सुविधा उपलब्ध गराउनुपर्छ। शिक्षक तालिमलाई औपचारिकतामा सीमित नगरी प्रविधि, प्रयोगात्मक अभ्यास र कार्यमूलक सिकाइमा आधारित बनाउनुपर्छ।

५. प्राविधिक शिक्षा र ‘सिक्दै–कमाउँदै’ नीति :
CTEVT तथा प्रदेशस्तरीय प्राविधिक शिक्षालाई कर्णालीका स्थानीय स्रोत–साधन, जडीबुटी, कृषि, पर्यटन र जलविद्युत्सँग जोड्दै ‘सिक्दै–कमाउँदै’ (Dual VET) अवधारणामा अघि बढाउनुपर्छ।

६. उच्च शिक्षा र अनुसन्धान कोष :
कर्णाली प्रदेश विश्वविद्यालय तथा अन्य उच्च शिक्षाका संस्थालाई केवल प्रमाणपत्र प्रदान गर्ने थलोका रूपमा सीमित नगरी हिमाली वातावरण, जडीबुटी, कृषि, स्वास्थ्य तथा स्थानीय अर्थतन्त्रसँग सम्बन्धित अनुसन्धानमा केन्द्रित गर्न प्रदेशस्तरीय अनुसन्धान कोषको व्यवस्था गर्नुपर्छ।

विस्थापन होइन, रूपान्तरणको बाटो

एआई र आधुनिक प्रविधिले शिक्षकलाई विस्थापित नगरे पनि प्रविधि र एआई प्रयोग गर्ने शिक्षकले प्रयोग नगर्ने शिक्षकलाई भने समयक्रमसँगै अप्रासंगिक बनाउन सक्छन्।

विगतमा शिक्षकलाई ज्ञानको प्रमुख स्रोत मानिन्थ्यो। शिक्षकले भनेको कुरा विद्यार्थीका लागि अन्तिम सत्यजस्तै हुन्थ्यो। तर आज सूचना र तथ्य विद्यार्थीको हातमा रहेको मोबाइलमै उपलब्ध छन्। यस्तो अवस्थामा शिक्षक अझै पनि पुराना नोट र घोकन्ते शिक्षण शैलीमै सीमित रहने हो भने उनीहरूको भूमिका क्रमशः कमजोर हुन सक्छ।

अब शिक्षक ‘ज्ञानका दाता’बाट ‘सिकाइका सहजकर्ता’ मा रूपान्तरण हुनुपर्छ। इन्टरनेट र एआईले उपलब्ध गराएका हजारौँ सूचना तथा सामग्रीमध्ये कुन सही हो, कुन गलत हो र कुन सन्दर्भमा उपयोगी छ भन्ने छुट्याउने आलोचनात्मक सोच विद्यार्थीमा विकास गराउनु अबको शिक्षकको महत्वपूर्ण दायित्व हो।

नेपालका लागि, विशेषगरी कर्णालीजस्ता भौगोलिक तथा आर्थिक रूपमा चुनौतीपूर्ण क्षेत्रका लागि एआई र डिजिटल प्रविधि ठूलो अवसर बन्न सक्छ। यदि दूरदराजका विद्यालयसम्म डिजिटल पूर्वाधार र प्रभावकारी नीतिगत व्यवस्था पुर्‍याउन सकियो भने काठमाडौँ वा विश्वका अन्य ठाउँमा उपलब्ध गुणस्तरीय शैक्षिक सामग्री कर्णालीका कक्षाकोठासम्म पुर्‍याउन सकिन्छ। यसले शैक्षिक असमानता घटाउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

शिक्षकको विकल्प होइन, शक्तिशाली सहयोगी

एआई शिक्षकको प्रतिस्पर्धीभन्दा पनि शक्तिशाली सहयोगी बन्न सक्छ। यसले पाठ योजना निर्माण, सिकाइ सामग्री तयारी, मूल्याङ्कन तथा अन्य दोहोरिने काममा शिक्षकलाई सहयोग गरेर विद्यार्थीको व्यक्तिगत विकास, परामर्श र मार्गदर्शनका लागि थप समय उपलब्ध गराउन सक्छ।

यसका लागि शिक्षकले प्रविधिसँग डराउने होइन, त्यसलाई आफ्नो शिक्षण पद्धतिको सहयोगी उपकरणका रूपमा आत्मसात् गर्नुपर्छ। विद्यालयमा एआई प्रयोग गर्दा यसको सही र जिम्मेवार प्रयोग, तथ्यको प्रमाणीकरण, विद्यार्थीको मौलिकता, गोपनीयता तथा नैतिक पक्षमा समेत शिक्षकले विद्यार्थीलाई सचेत बनाउन आवश्यक छ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले कर्णालीलगायत दुर्गम क्षेत्रका विद्यालयमा आधुनिक पूर्वाधार, डिजिटल प्रविधि, शिक्षक क्षमता विकास र प्रभावकारी नीतिमा लगानी बढाउनुपर्छ। शिक्षकले पनि बदलिँदो प्रविधिअनुसार आफ्नो ज्ञान र सीपलाई निरन्तर अद्यावधिक गर्दै जानुपर्छ।

अन्ततः एआईले शिक्षकलाई विस्थापित गर्नेभन्दा शिक्षकको भूमिकालाई अझ अर्थपूर्ण, सिर्जनशील र प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ। प्रविधिलाई स्वीकार गर्दै मानवीय संवेदना, नैतिकता, आलोचनात्मक सोच र सिर्जनशीलतालाई शिक्षणको केन्द्रमा राख्न सक्ने शिक्षक नै भविष्यको शैक्षिक रूपान्तरणका वास्तविक नेतृत्वकर्ता बन्नेछन्।

(लेखक शिवालय गाउँपालिका, जाजरकोटमा प्रमुख शिक्षा अधिकृत (आठौँ तह) का रूपमा कार्यरत हुनुहुन्छ।)




सम्बन्धित समाचार


error: Content is protected !!