बाढी–पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले चार चिकित्सक परिचालन गर्यो

हेमन्त केसी
जाजरकोट, ७ भदौ : बाढी–पहिरो प्रभावित नागरिकको उपचारमा स्वास्थ्यकर्मी अभाव भएको गुनासो आएपछि कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा चार जना चिकित्सक परिचालन गरेको छ। प्रभावित नागरिकलाई घटनास्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरिएको हो।
स्वास्थ्य सेवा कार्यालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव हुँदा उपचार तथा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको जानकारी गराएपछि प्रदेश सरकारले चिकित्सक पठाएको हो। बाढी–पहिरोका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएर अस्थायी सेल्टरमा बसिरहेका बेला स्वास्थ्य समस्या देखिन थालेपछि तत्काल चिकित्सक परिचालन गर्न माग गरिएको थियो।
अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष धर्मशिला बस्नेतलगायतको प्रतिनिधिमण्डलले कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीलाई भेटेर रिसाङका बाढी–पहिरो प्रभावित नागरिकका लागि तत्काल चिकित्सक तथा स्वास्थ्यकर्मी पठाउन आग्रह गरेको थियो। प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारको आवश्यकता बढेको र स्थानीय तहको स्वास्थ्य जनशक्तिले मात्र सेवा दिन कठिन भइरहेको जानकारी गराएको थियो।
प्रतिनिधिमण्डलको आग्रहपछि मुख्यमन्त्री शाहीले भेरी नगरपालिका–२ रिसाङका बाढी–पहिरो प्रभावितका लागि छुट्टै स्वास्थ्य टोली पठाएर घटनास्थलमै उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार चार जना चिकित्सक रिसाङमा खटिएर स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन्।
भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार नगरपालिकाको स्वास्थ्य शाखा र प्रदेश सरकारले पठाएको चिकित्सक टोलीले संयुक्त रूपमा प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार गरिरहेको छ। आवश्यकताअनुसार औषधि तथा स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउने कामसमेत भइरहेको उनले बताए।
विस्थापित नागरिक अस्थायी सेल्टरमा बसिरहेसम्म स्वास्थ्यकर्मीको टोलीलाई प्रभावित क्षेत्रमै राखेर सेवा दिने व्यवस्था मिलाइएको नगरप्रमुख घर्तीले जानकारी दिए। उनका अनुसार बाढी–पहिरोपछि अस्थायी बसोबास, चिसो, खानेपानी तथा सरसफाइको समस्याका कारण प्रभावितमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले नियमित स्वास्थ्य सेवा आवश्यक छ।
प्रदेश सरकारले चिकित्सक परिचालनसँगै बाढी–पहिरो प्रभावित नागरिकका लागि राहत सामग्रीसमेत पठाएको छ। प्रभावितलाई आवश्यक राहत तथा स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम भइरहेको मुख्यमन्त्री शाहीले जानकारी दिए।
बाढी–पहिरोबाट विस्थापित नागरिक लामो समयसम्म अस्थायी संरचनामा बस्नुपर्ने अवस्था रहेकाले स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ र खाद्यान्नको व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ। प्रदेश सरकारले प्रभावित क्षेत्रमा स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार थप स्वास्थ्यकर्मी तथा औषधि पठाउने जनाएको छ।









