जाजरकोटमा बाढी–पहिरो पीडितलाई तत्काल राहत र पुनःस्थापनाको माग

हेमन्त केसी
सुर्खेत , ८ भदौ ः आफ्नो निर्वाचन क्षेत्र जाजरकोट पुगेर फर्किएका प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले बाढी–पहिरो प्रभावित नागरिकका समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।

सोमवार प्रतिनिधिसभामा बोल्दै उनले बाढी–पहिरोबाट प्रभावित नागरिकको पीडा, समस्या र अपेक्षा प्रत्यक्ष रूपमा सुनेर आएको भन्दै सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
उनका अनुसार विपद्का कारण जाजरकोटमा छ जना नागरिकले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन्। प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

बाढी–पहिरोबाट भेरी नगरपालिका क्षेत्रका रिसाङ, स्याला, घैनेटा, जुनीचाँदे तथा छेडागाड र नलगाड नगरपालिकाका चौखा, फुन्दाललगायतका बस्ती प्रभावित भएको उनले बताए। कतिपय बस्तीमा ठूलो जनधनको क्षति भएको तथा विस्थापित नागरिकलाई सुरक्षित अस्थायी आवासमा राख्नसमेत सुरक्षित जग्गाको अभाव रहेको उनको भनाइ छ।

‘नागरिकहरू त्रासमा छन्। अहिले उनीहरूलाई सबैभन्दा ठूलो आवश्यकता सरकारको अभिभावकत्व र भरोसा हो,’ उनले भने।
विशेषगरी जुनीचाँदे गाउँपालिकाको वडा नम्बर ६ सडक सञ्जालबाट विच्छेद हुँदा बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ भइरहेको उनले बताए। सडकमार्फत तत्काल राहत पु¥याउन सम्भव नभएको क्षेत्रमा हेलिकप्टरमार्फत खाद्यान्न, औषधि, त्रिपाल, कम्बललगायत आवश्यक राहत सामग्री पु¥याउने व्यवस्था गर्न सरकारलाई रुलिङ गर्न सभामुखसमक्ष उनले माग गरे।

उनले प्रभावित तथा जोखिमयुक्त बस्तीको तत्काल प्राविधिक अध्ययन गरी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए। साथै अस्थायी आवास, खानेपानी, खाद्यान्न, स्वास्थ्य सेवा र अन्य आधारभूत आवश्यकता पूरा गर्नुका साथै दीर्घकालीन पुनःस्थापनाको स्पष्ट योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए।

बाढी–पहिरो प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै भूकम्पपीडितको स्थायी आवास पुनर्निर्माणलाई समेत तीव्रता दिनुपर्नेमा उनले जोड दिए। यसैबीच, प्रभावितको स्वास्थ्य उपचारका लागि कर्णाली प्रदेश सरकारले रिसाङमा चारजना चिकित्सकसमेत परिचालन गरिसकेको छ।





error: Content is protected !!