डोल्पा नेकपाको माग : प्रतिनिधित्वका आधारमा मन्त्री बनाउन आग्रह

सुर्खेत । कर्णाली प्रदेश सरकार गठनका क्रममा डोल्पा जिल्लालाई समेत उचित प्रतिनिधित्व गराउन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डोल्पाले माग गरेको छ।

नेकपा डोल्पाले प्रदेश सरकार गठनका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको अवस्थामा दुई दलबीचको सहमतिबाट मन्त्रालयको भागबण्डा टुंगिनु सकारात्मक भएको जनाएको छ। नेकपा र नेकपा एमालेबीच भएको सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ।

डोल्पा जिल्ला पार्टीले नेकपाको भागमा परेका मन्त्रालयमा मन्त्रीको नाम छनोट गर्दा डोल्पाबाट प्रतिनिधित्व गर्ने नेताहरूलाई समेत उचित मूल्याङ्कन गर्न आग्रह गरेको छ। पार्टीले २४ घण्टाभित्र मन्त्रीको नाम टुंगो लगाई शपथ गराउन आग्रह गरेको छ।

पार्टीले डोल्पाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने तथा जनताका पक्षमा जिम्मेवारीपूर्वक काम गर्न सक्ने व्यक्तिलाई मन्त्रीपरिषद्मा समावेश गर्नुपर्नेमा जोड दिएको छ। विशेषगरी २०७९ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलगायत जिल्लाको राजनीतिक अवस्थालाई समेत उचित मूल्याङ्कन गर्न पार्टीले माग गरेको छ।

डोल्पा नेकपाले जिल्लाबाट प्रतिनिधित्व गर्ने व्यक्तिलाई प्रदेश सरकारमा जिम्मेवारी दिँदा जिल्लाको पार्टी भावना बुझेर निर्णय गर्न नेतृत्वसमक्ष आग्रह गरेको छ। डोल्पा भौगोलिक रूपमा विकट हुनुका साथै विकासका दृष्टिले समेत प्राथमिकतामा पर्नुपर्ने भन्दै जिल्लाको प्रतिनिधित्व सरकारमा सुनिश्चित गर्नुपर्ने पार्टीको भनाइ छ।

यसैबीच, कर्णालीमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटको सहमति भएपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ। सहमतिअनुसार नेकपाले भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ भने एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास तथा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी लिने सहमति भएको छ।

डोल्पा नेकपाका संयोजक धर्मजित बोहोराले जारी गरेको धारणा पत्रमा जिल्लाको राजनीतिक योगदान र जनताको भावना समेटेर मन्त्री छनोट गर्न नेतृत्वलाई आग्रह गरिएको छ। कर्णाली सरकारको पूर्णताका लागि बाँकी मन्त्रीको नाम छिट्टै टुंगो लगाउनुपर्नेमा समेत पार्टीले जोड दिएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी बीरबहादुर शाहीलाई दिन समेत आग्रह गरिएको छ ।

कर्णाली प्रदेश सरकारमा नेकपा र एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएसँगै अब दुवै दलबाट मन्त्रीको नाम छनोट गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढेको छ।





error: Content is protected !!