कर्णालीको अवस्था बदल्न प्रतिबद्ध छौँ : मुख्यमन्त्री शाही

हेमन्त केसी
सुर्खेत, ४ भदौ / कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीलाई सधैँ समस्याको खाल्डोका रूपमा हेर्ने प्रवृत्तिको अन्त्य गरी विकास र समृद्धिको प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

   

कर्णाली प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार सुर्खेतमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले कर्णालीप्रतिको दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताए। सोच र प्राथमिकतामा परिवर्तन नआएसम्म कर्णालीको विकासले अपेक्षित गति लिन नसक्ने उनको भनाइ थियो।

“तेरो र मेरो भन्ने भावना त्यागेर कर्णालीको समृद्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्छ,” उनले भने, “पर्याप्त सम्भावना हुँदाहुँदै पनि राज्यको हेपाहा प्रवृत्तिका कारण कर्णाली सधैँ पछाडि पर्नु विडम्बना हो।”

जोशीले कर्णालीमा पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावना पुष्टि भइसकेको उल्लेख गर्दै यसको उत्खननमा संघीय सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए। दैलेखमा देशलाई समृद्धिको बाटोमा लैजान सक्ने ग्यासको सम्भावना पुष्टि भए पनि त्यसको उपयोगतर्फ अपेक्षित काम हुन नसकेको उनले बताए।

“कर्णालीमा ग्यास छ, पेट्रोल छ। दैलेखमा देशलाई समृद्धिको बाटोमा लैजाने ग्यास छ भन्ने पुष्टि भइसकेको छ,” उनले भने, “तर हामी त्यसको उत्खनन गर्नुको साटो ग्यासको लाइनमा बसेका छौँ। यसको उत्खननमा राज्य गम्भीर बन्नुपर्छ।”

उनले पछिल्ला दुई वर्षदेखि थप उत्खननका काम अघि बढ्न नसकेको भन्दै तत्काल प्रक्रिया अगाडि बढाउन संघीय सरकार जिम्मेवार बन्नुपर्ने बताए। पछिल्लो समय मुलुकमा देखिएको ग्यास अभावबाट समेत पाठ सिकेर कर्णालीमा उपलब्ध प्राकृतिक स्रोतको उपयोगलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

प्रदेश प्रमुख जोशीले कर्णालीलाई समस्या र अभावको क्षेत्रका रूपमा मात्र हेर्ने प्रवृत्ति बदल्नुपर्ने बताए। प्रदेश सरकारले पनि कर्णालीको मानक माथि उठाउने स्पष्ट मार्गचित्रसहित अघि बढ्नुपर्नेमा उनले जोड दिए। प्राकृतिक स्रोत, पर्यटन, कृषि, जलविद्युत्, जडीबुटी तथा खानीजन्य सम्भावनाको सदुपयोग गर्दै प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउने दिशामा सरकार र नागरिकबीच सहकार्य आवश्यक रहेको उनले बताए।

कँडेलको प्रश्न– ‘चुपचाप सरकार कहाँ छ ?’

कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले वर्तमान प्रदेश सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनले व्यंग्यात्मक शैलीमा ‘चुपचाप सरकार कहाँ छ ?’ भन्दै सरकारको उपस्थिति र भूमिकामाथि प्रश्न गरेका हुन्।

प्रदेश स्थापना दिवसका अवसरमा बोल्दै कँडेलले सरकार नागरिकका समस्या र चुनौतीका समयमा प्रभावकारी रूपमा देखिनुपर्ने बताए। जेन–जी आन्दोलनका क्रममा सुरक्षा व्यवस्थापन तथा शासन सञ्चालनको शैलीप्रति समेत उनले प्रश्न उठाए।

उनले सरकार चुपचाप बसेर मात्र नहुने भन्दै प्रदेशका समस्या समाधानका लागि सक्रियता देखाउनुपर्ने बताए। नागरिकले अनुभूति गर्ने गरी सरकारको उपस्थिति र सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

 

कर्णालीको अवस्था बदल्न प्रतिबद्ध छौँ : मुख्यमन्त्री शाही

समापन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीको वास्तविक अवस्था बदल्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

उनले कर्णालीको समृद्धि सरकारको मात्र प्रयासबाट सम्भव नहुने भन्दै सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिकको साझा प्रयास आवश्यक रहेको बताए। कर्णालीको विकास र समृद्धिका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सहयोगका लागि आग्रह गरे।

मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धिले संघीयतालाई समेत बलियो बनाउने बताए। प्रदेशका सम्भावनालाई अवसरमा बदल्दै नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा सरकार अघि बढ्ने उनको भनाइ थियो।

आन्दोलनपछि जन्मिएको कर्णाली

कर्णाली प्रदेश लामो संघर्ष र आन्दोलनपछि स्थापना भएको हो। २०७२ भदौ २३ गते मध्यरात प्रमुख चार राजनीतिक दलका शीर्ष नेतासहितको संविधानसभाको विशेष समितिले छ प्रदेशको सीमाङ्कनसहित संघीयताको खाका सार्वजनिक गरेपछि कर्णालीमा त्यसको विरोधमा आन्दोलन सुरु भएको थियो।

आन्दोलन उत्कर्षमा पुगेपछि साविक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख र जाजरकोट तथा राप्ती अञ्चलका सल्यान र रुकुमपश्चिमलाई समेटेर २०७२ भदौ ४ गते कर्णाली प्रदेश स्थापना भएको थियो।

 

प्रदेश प्राप्तिको आन्दोलनका क्रममा चार जनाले ज्यान गुमाएका थिए। लामो संघर्ष र बलिदानबाट प्राप्त कर्णाली प्रदेशलाई अधिकारसम्पन्न, आत्मनिर्भर र समृद्ध बनाउनु अहिलेको प्रमुख चुनौतीका रूपमा रहेको छ।

स्थापना दिवसका अवसरमा कर्णालीका प्राकृतिक स्रोत, जलविद्युत्, पर्यटन, कृषि, जडीबुटी तथा खानीजन्य सम्भावनाको सदुपयोग गर्दै प्रदेशको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिइएको छ।





error: Content is protected !!