भेरी नगरपालिका–२ मा बाढीपहिरो ः ३ जना बेपत्ता, सात जना उपचाररत , एकको मृत्यु

हेमन्त केसी
जाजरकोट , ३१ साउन ः अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ का विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा जनजीवन प्रभावित भएको छ। बाढीपहिरोका कारण रिसाङ क्षेत्रमा ३ जना बेपत्ता भएका छन् भने सात जना घाइतेको उपचार भइरहेको छ। एक जनाको उपचारका लागि नेपालगन्ज लिइदै गर्दा केदार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बेपताहरुमा फारुलाकी ५४ वर्षीया उमासिंह खत्री र चिसापानिका ७० वर्षीय भीमबहादुर कार्की सहित अन्य एक जना रहेका छन् ।
नगरपालिकाका अनुसार रिसाङ क्षेत्रका ३ जनालाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत पठाइएको थियो । अन्य ५ जनाको उपचार भइरहेको छ।
बाढीपहिरोका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसँगै वडा नं ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी खण्ड तथा वडा नं १ का पिपे, मैदे, डौरिकाँडा, घुयलनेटा र रावतगाउँका बस्तीहरू उच्च जोखिममा रहेका छन्।
अविरल वर्षा र प्रतिकूल मौसमका कारण रातिको समयमा प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार गर्न कठिनाइ भएको थियो। आज बिहानैदेखि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, क्षतिको अवस्था पहिचान तथा आवश्यक समन्वयका लागि टोली परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए ।
भेरी नगरपालिकाले विपद्को जोखिम अझै कायम रहेकाले नागरिकलाई सुरक्षित स्थानमा रहन तथा बाढी, पहिरो र खोलानालाको आसपासमा नजान आग्रह गरेको छ। साथै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रदेश तथा संघ सरकार, स्थानीय तह, निजी क्षेत्र, गैरसरकारी संस्था, सञ्चारकर्मी, नागरिक समाजलगायत सबै सरोकारवालासँग सहयोग र सहकार्यका लागि अपिल गरेको छ।







