जाजरकोटमा पहिरोले घर भत्कायो, ७ जना घाइते, दुई जना सम्पर्कविहीन

हेमन्त केसी
जाजरकोट , ३० साउन ः जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा अविरल वर्षापछि आएको पहिरोले फारुलाकी करिब ५४ वर्षीया उमासिंह खत्री र सोही वडाको चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

अन्य घर तथा टहरा भत्किनुका साथै सात जना घाइते भएका छन्   शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ र आसपासका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। घरमा रहेका पाँच जना परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूर्ण रूपमा क्षति भएका छन्। ती टहरामा हाल मानिस बसोबास नगर्ने प्रहरीले जनाएको छ।

पहिरोमा परी भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन्। जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि उनलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।

भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर मध्यम अवस्थामा छन्। सोही स्थानकी १६ वर्षीया मनिषा विक, ४७ वर्षीया मोतिकला विक र करिब ५२ वर्षीय केदार कार्की पनि घाइते भएका छन्। उनीहरू सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको कमाण्डमा ११ जना तथा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टर जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट करिब ८–९ किलोमिटर उत्तरपूर्वमा पर्छ। पहिरोका कारण सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीको टोली पैदल घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। यस्तै, अप्रपोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुंगानाको कमाण्डमा पाँच जनाको टोलीसमेत उद्धारका लागि परिचालन गरिएको छ।

अविरल वर्षा जारी रहेकाले घटनास्थल आसपास थप पहिरो तथा क्षति हुनसक्ने जोखिम रहेको प्रहरीले जनाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!