जाजरकोटमा पहिरोले घर तथा गोठमा क्षति, सात जना घाइते

हेमन्त केसी
जाजरकोट , ३० साउन ः जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले घर तथा अस्थायी टहरा भत्किनुका साथै विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार साउन ३० गते अपराह्न करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको हो।

पहिरोका कारण घरहरू भत्किएको तथा जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको कमाण्डमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयबाट करिब ८–९ किलोमिटर उत्तरपूर्वमा पर्ने उक्त क्षेत्रमा पहिरोका कारण बाटो अवरुद्ध भएपछि सुरक्षाकर्मी पैदल घटनास्थलतर्फ गएका छन्।

पहिरोका क्रममा भेरी नगरपालिका–२ रिसाङमा आरनमा काम गरिरहेका ६० वर्षीय रामबहादुर शाहीलाई छाती, टाउको र हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ। उनको उपचारमा छोरा सुनिल शाही संलग्न छन्। आरन सञ्चालक ४५ वर्षीय सिद्धीबहादुर कामीको ढाडमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ।

त्यस्तै, भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे, दुईतले ढुङ्गा–माटोले बनेको कच्ची घर पहिरोले पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जना परिवारका सदस्य आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

सोही क्षेत्रमा भैरवी केसीका दुई वटा टिनका अस्थायी टहरा पनि पहिरोले भत्किएर पूर्ण रूपमा क्षति भएका छन्। ती टहरामा हाल मानिस बसोबास नगर्ने प्रहरीले जनाएको छ।

भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्रावली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको र उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ।

त्यस्तै, वडा नम्बर २ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर मध्यम अवस्थामा रहेका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ। उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको कमाण्डमा पाँच जनाको टोली पनि परिचालन गरिएको छ।

पहिरोमा परी सोही स्थानकी १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। मोतीकलाको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

अविरल वर्षा जारी रहेकाले थप पहिरो तथा क्षतिको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। उद्धार टोलीले घटनास्थलमा पुगेर क्षतिको थप विवरण संकलन तथा उद्धार कार्य अघि बढाइरहेको जाजरकोटका डिएसपी बुद्धीसागर पुरीले जानकारी दिए ।




सम्बन्धित समाचार


error: Content is protected !!