जाजरकोटमा अविरल वर्षापछि तासुघाट खोलाको बहाव बढ्दा सडक अवरुद्ध, पुल ,चार घर बगे

हेमन्त केसी
सुर्खेत ः जाजरकोटमा अविरल वर्षाका कारण तासुघाट खोलाको बहाव बढ्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ। नलगाड नगरपालिका–१० तासुघाट क्षेत्रमा खोलाको बहाव बढेपछि सडकमा आवतजावत पूर्णरूपमा प्रभावित भएको हो। उक्त क्षेत्रमा वैकल्पिक बाटोसमेत नभएको प्रहरीले जनाएको छ।
बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण नलगाड नगरपालिका–१० रोलीस्थित तासुघाट खोलामा रहेको झोलुङ्गे पुलको पश्चिमतर्फको भागसमेत बगेको छ। पुल बगेपछि घटनास्थलमा खटिएको प्रहरी टोलीसमेत तत्काल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
इलाका प्रहरी कार्यालय रग्दाले सुक्रवार बिहान करिब ६ः३० बजे घटना सम्बन्धी जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ परिचालन गरेको थियो। तर, झोलुङ्गे पुल बगेका कारण प्रहरी टोली सम्बन्धित स्थानमा पुग्न नसकेको जनाइएको छ। घटनाबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नलगाड–१० रोलीका पृथ्वीबहादुर विकको दुईतले ढुंगा–माटोले बनेको र ढुंगाले छाएको घर बगेको छ। उनको परिवारका नौ जना सदस्य भने सुरक्षित स्थानमा बसेका छन्।
त्यस्तै, सोही स्थानका खैते विकको दुईतले ढुंगा–माटोले बनेको र ढुंगाले छाएको घरमा समेत क्षति पुगेको छ। उनको परिवारका १० जना सदस्य सुरक्षित स्थानमा रहेका छन्। नरबहादुर विकको तीनतले ढुंगा–माटोले बनेको र ढुंगाले छाएको घर पनि बगेको प्रहरीले जनाएको छ। उनका परिवारका १० जना सदस्य सुरक्षित स्थानमा बसेका छन्।
हस्तबहादुर विकको दुईतले ढुंगा–माटोले बनेको टिनले छाएको घरसमेत बगेको छ। उनका परिवारका आठ जना सदस्य सुरक्षित स्थानमा रहेको प्रहरीले जनाएको छ।
लगातार वर्षा भइरहेकाले तासुघाट क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेको छ। सडक तथा झोलुङ्गे पुल अवरुद्ध भएपछि स्थानीयवासीको आवतजावतसमेत प्रभावित भएको छ। घटनास्थलमा प्रहरी पुग्न नसकेकाले क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।









