मनसुनजन्य विपद् पूर्वतयारी, शान्ति सुरक्षा र सेवा प्रवाहबारे मुख्यमन्त्री–प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल बैठक

सुर्खेत, साउन २१ ः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग मनसुनजन्य विपद्को पूर्वतयारी, शान्ति सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहको अवस्थाबारे भर्चुअल बैठक गर्नुभएको छ। बैठकमा मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमको आकलन, विपद् व्यवस्थापनको तयारी, राहत तथा उद्धारको अवस्था, सुरक्षा व्यवस्थापन र नागरिकलाई उपलब्ध गराइँदै आएको सार्वजनिक सेवाबारे विस्तृत समीक्षा गरिएको थियो।
बैठकमा प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता मनसुनजन्य जोखिमको मूल्याङ्कन प्रस्तुत गरेका थिए। उनीहरूले जोखिमयुक्त बस्तीहरूको पहिचान, पूर्वसूचना प्रणालीको प्रयोग, स्थानीय तहसँगको समन्वय, सुरक्षा निकायको परिचालन, राहत सामग्रीको भण्डारण, खोज तथा उद्धार टोलीको तयारी, स्वास्थ्य सेवाको व्यवस्थापन र आवश्यक उपकरणको उपलब्धताबारे जानकारी गराएका थिए।
प्रमुख जिल्ला अधिकारीहरूले अधिकांश जिल्लामा शान्ति सुरक्षा अवस्था सामान्य रहेको, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह तथा अन्य सरोकारवाला निकायबीच समन्वयात्मक रूपमा विपद् पूर्वतयारीका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका थिए। साथै नागरिकलाई प्रशासनिक सेवा, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, विपद् व्यवस्थापन तथा अन्य सरकारी सेवा नियमित रूपमा प्रवाह भइरहेको पनि बैठकमा जानकारी गराइएको थियो।
मुख्यमन्त्री शाहीले मनसुनजन्य विपद्का कारण हुन सक्ने मानवीय तथा भौतिक क्षतिलाई न्यूनतम बनाउन सबै जिल्ला प्रशासन कार्यालयलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिनुभयो। उहाँले कुनै पनि घटना हुनुअघि नै जोखिम न्यूनीकरणका उपाय प्रभावकारी रूपमा लागू गर्न, सम्भावित जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन गर्न तथा आवश्यक परे तत्काल सम्बन्धित निकायलाई परिचालन गर्न आग्रह गर्नुभयो।
उहाँले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कार्यमा कुनै ढिलाइ हुन नदिन निर्देशन दिँदै नागरिकको जिउधनको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको स्पष्ट पार्नुभयो। विपद्को समयमा संघ, प्रदेश, स्थानीय तह तथा सुरक्षा निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
मुख्यमन्त्री शाहीले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने राहत सामग्री, उद्धार उपकरण तथा राहत रकम प्रदेश सरकारले आवश्यकताअनुसार उपलब्ध गराउने जानकारी दिँदै जिल्लाबाट आवश्यक माग र विवरण समयमै पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभयो। उहाँले विपद्का बेला सूचना प्रवाहलाई विश्वसनीय, छिटो र प्रभावकारी बनाउन सञ्चार संयन्त्रलाई समेत सक्रिय बनाउनुपर्ने उल्लेख गर्नुभयो।
बैठकमा मनसुनजन्य विपद्को सामना गर्न पूर्वतयारीलाई अझ सुदृढ बनाउने, प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिको शीघ्र मूल्याङ्कन गर्ने तथा पुनःस्थापनाका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत छलफल भएको थियो। प्रदेश सरकारले मनसुन अवधिभर जिल्लाको अवस्थालाई निरन्तर निगरानीमा राख्दै आवश्यक सहयोग, स्रोत–साधन र समन्वय उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।








