कर्णालीको ऊर्जामा लगानी ः जगदुल्लाबाट उत्पादित विजुली राष्ट्रिय ग्रिडमा समाहित हुने

हेमन्त केसी
सुर्खेत, १९ साउन ः कर्णालीको ऊर्जा विकासमा महत्वपूर्ण मानिएको १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–‘ए’ जलविद्युत आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग ग्रिड जडान सम्झौता (ग्रिड कनेक्सन एग्रिमेन्ट–जीसीए) गरेको छ ।
योसँगै लामो समयदेखि कार्यान्वयनमा जान नसकेको डोल्पा जिल्लामा कार्यान्वयन भइरहेको जगदुल्लाको निर्माण प्रक्रियामा अर्को महत्वपूर्ण उपलब्धि हासिल भएको छ । १८ साउन (सोमबार) जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच सम्पन्न भएको सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने औपचारिक प्रक्रिया अघि बढेको हो । ग्रिड जडान सम्झौता कुनै पनि जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीसँग आबद्ध गर्ने प्रमुख कानुनी तथा प्राविधिक आधार हो । यही सम्झौताले विद्युत प्रसारणका लागि आवश्यक प्राविधिक मापदण्ड, संस्थागत प्रक्रिया तथा प्रसारण प्रणालीसँगको समन्वयलाई औपचारिक रूपमा अघि बढाउने आधार तयार गर्छ ।
कम्पनीका अनुसार यस सम्झौताले आयोजना निर्धारित समयमै सम्पन्न गरी राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पु¥याउने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । जगदुल्ला–‘ए’ आयोजना कम्पनीले निर्माण गरिरहेको १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनाको सेमी–क्यासकेड परियोजना हो । माथिल्लो आयोजनाको टेलरेस सुरुङबाट निस्कने पानीलाई पुनः प्रयोग गरेर विद्युत उत्पादन गरिने भएकाले नयाँ हेडवक्र्स निर्माण गर्नुपर्ने आवश्यकता पर्दैन । यसले लागत तथा निर्माण समय दुवैमा दक्षता हासिल गर्ने अपेक्षा गरिएको छ । आयोजनाको विस्तृत अध्ययन सम्पन्न भइसकेको छ । प्रस्तावित आयोजना डोल्पाको मुड्केचुला गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकामा पर्नेछ । मुड्केचुला गाउँपालिका–१, २, ३ र ४ तथा नलगाड नगरपालिका–१३ आयोजना प्रभावित मुख्य क्षेत्र हुन् ।
ऊर्जासँगै पूर्वाधार निर्माणमा पनि ठूलो लगानी
विद्युत उत्पादनसँगै आयोजनाले स्थानीय पूर्वाधार निर्माणलाई पनि समान प्राथमिकता दिएको छ । जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा दुई आंशिक–जलाशय आयोजना विकास गरिरहेको कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण गरिसकेको छ ।
त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डको कठिन भीर छिचोलेर सडक निर्माण गर्नुका साथै पहुँच मार्गमा १० वटा बेली ब्रिजसमेत निर्माण भइसकेका छन् । प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार यी संरचनाले आयोजना मात्र नभई स्थानीय समुदायको दैनिक जीवनमा समेत प्रत्यक्ष परिवर्तन ल्याएका छन् । ‘करोडौँ रुपैयाँमा निर्मित यी संरचनाले आयोजनालाई मात्र नभई स्थानीय बासिन्दालाई समेत प्रत्यक्ष लाभ पु¥याइरहेका छन्,’ उनले भने, ‘विगतमा घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यतालाई हटाउँदै यातायातको पहुँच सहज बनाएका छन् ।’
केही वर्षअघिसम्म सुर्खेतबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी समय लाग्थ्यो भने वर्षायाममा आवागमन प्रायः ठप्प हुने अवस्था थियो । अहिले भने एकै दिनमा यात्रा सम्भव हुने अवस्था बनेको कम्पनीको दाबी छ । आयोजनाले निर्माण गरेका सडक र पुलकै कारण डोल्पाको सदरमुकाम दुनैबाट काठमाडौंसम्म रात्रिबस सञ्चालन हुने वातावरणसमेत तयार भएको छ ।
पर्यटन र स्थानीय अर्थतन्त्र सुधारको अपेक्षा
कम्पनीका अनुसार आयोजनासँगै निर्माण भइरहेका सडक तथा अन्य पूर्वाधारले कर्णालीको पर्यटन क्षेत्रमा दीर्घकालीन प्रभाव पार्नेछ । रारा, शे–फोक्सुन्डो, जगदुल्ला लगायतका ताल क्षेत्र तथा उपल्लो डोल्पा, जुम्ला र मुगुसम्म पुग्ने वैकल्पिक तथा छोटो मार्ग विकास हुन थालेपछि कर्णालीको पर्यटन सम्भावना थप विस्तार हुने अपेक्षा गरिएको छ ।
आयोजना सञ्चालनमा आएपछि सङ्घीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारले ९ करोड ५० लाख रुपैयाँ र स्थानीय तहले ९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्नेछन् । यसले स्थानीय अर्थतन्त्रलाई दीर्घकालीन रूपमा बलियो बनाउने विश्वास कम्पनीको छ । कार्यकारी अधिकृत सापकोटाका अनुसार सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा कम्पनीले जगदुल्लाबाट १०६ मेगावाट र जगदुल्ला–‘ए’ बाट १२४.३५ मेगावाट गरी कुल २३०.३५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।
हाल १०६ मेगावाट क्षमताको जगदुल्ला आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत खरिद सम्झौता (पिपिए), वित्तीय व्यवस्थापन, उत्पादन अनुमतिपत्र प्राप्त भई आयोजनाको मुख्य सुरुङ निर्माणसमेत सुरु भइसकेको छ । मुडकेचुला गाउँपालिका–४ इलमा आयोजनाको मख्य सुरुङमार्ग (टनेल) निर्माणको काम सुरु भएको हो ।
मुख्य निर्माण कम्पनीसँग २६ साउन २०८२ मा सम्झौता भएपछि भौतिक निर्माण कार्य अघि बढेको थियो । यस्तै, १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–‘ए’ आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ । वातावरणीय अध्ययन, जग्गा अधिग्रहण, पिपिए, वित्तीय व्यवस्थापन तथा अनुमतिपत्र सम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजना सम्बन्धी सर्वेक्षण, डिजाइन तथा लागत अनुमान नेपाल विद्युत् प्राधिकरणको परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनीमार्फत नेपाली इन्जिनियरहरूले नै तयार गरेका हुन् ।
४९ प्रतिशत सेयर सर्वसाधारणलाई
कम्पनीमा सरकारी निकाय, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहहरूको गरी कुल ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । स्थानीय बासिन्दाका लागि छुट्टै १० प्रतिशत सेयर सुरक्षित गरिएको छ भने प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) भित्र पर्ने जग्गाधनीलाई थप ३ प्रतिशत सेयर दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत २३ अर्ब रुपैयाँ रहेको छ ।
करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । नबिल बैंक, कर्मचारी सञ्चय कोष, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआइसी एसिया बैंकको सहभागितामा वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ । ग्रिड जडान सम्झौतासँगै आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने प्रक्रियाले औपचारिक गति लिएको छ भने निर्माण र आवश्यक प्रशासनिक तयारी पनि समानान्तर रूपमा अघि बढिरहेका छन् ।








