सह-लगानीमा उच्च मूल्य कृषि उत्पादन कार्यक्रमका लागि आवेदन आह्वान

सुर्खेत, साउन १९ — कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) को प्रदेशस्तरीय कार्यक्रम व्यवस्थापन कार्यालय (PMO), सुर्खेतले आर्थिक वर्ष २०८३/०८४ का लागि सह-लगानीमा उच्च मूल्य कृषि उत्पादन तथा साना कृषि सिँचाइ कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषक समूह, सहकारी र समितिबाट आशय निवेदन आह्वान गरेको छ।

कार्यालयले सूचना प्रकाशित गर्दै कार्यक्रम लागू भएका दैलेख र सुर्खेत जिल्लाका विभिन्न स्थानीय तहमा बजारमुखी तथा वातावरणमैत्री उच्च मूल्य कृषिवस्तु उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आवेदन माग गरेको जनाएको छ। आवेदन अनुदान व्यवस्थापन सफ्टवेयर (SMS) मार्फत अनलाइन प्रणालीबाट पेश गर्न सकिने व्यवस्था गरिएको छ।

सूचनाअनुसार सुन्तला, ओखर, आँप, लिची, केरा, कफी, मौरीपालन, मसला बाली, तरकारी, बीउ उत्पादन तथा गाई, भैँसी, बाख्रा र स्थानीय कुखुरापालनजस्ता कृषि तथा पशुपन्छीसम्बन्धी व्यवसायलाई प्राथमिकतामा राखिएको छ। स्थानीय सम्भावना र वातावरणअनुकूल अन्य कृषि गतिविधिको प्रस्तावसमेत पेश गर्न सकिने जनाइएको छ।

कार्यक्रममा बजारमुखी वातावरणीय कृषि उत्पादनतर्फ कुल लागतको अधिकतम ५० प्रतिशत र कृषि सिँचाइ पूर्वाधारतर्फ अधिकतम ८५ प्रतिशतसम्म सह-लगानी उपलब्ध गराइने कार्यालयले जनाएको छ।

आवेदनसँग समूह वा सहकारीको दर्ता प्रमाणपत्र, कार्यक्रम सञ्चालन गर्ने निर्णयको प्रतिलिपिलगायत आवश्यक कागजात संलग्न गर्नुपर्नेछ। चालु आर्थिक वर्षभर आवेदन दिन सकिने व्यवस्था रहेको सूचनामा उल्लेख छ। साथै, आवेदन पेश गर्दा कुनै राजस्व तिर्नु नपर्ने पनि कार्यालयले स्पष्ट पारेको छ।

कार्यालयका अनुसार प्रस्ताव छनोट गर्दा स्थानीय तहको कृषि योजना, प्राथमिकताप्राप्त बाली, वातावरणीय उपयुक्तता, व्यावसायिक सम्भावना तथा कृषक समुदायको सहभागितालाई आधार बनाइनेछ। थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर ०८३–५९०२६९ वा सूचना अधिकारीको मोबाइल ९८५८०२८२६५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!