चार वर्षमा बन्नुपर्ने शारदा पुलको काम पाँच वर्षसम्म ७० प्रतिशत

सल्यान ः मदन भण्डारी राजमार्ग अन्तर्गत बाग्चौर नगरपालिकास्थित बाग्चौर–पातिहाल्ना सडक खण्डको शारदा नदीमा पक्की पुल निर्माणमा ढिलासुस्ती भएको छ । कहिले सामग्री अभाव त कहिले मूल्यबृद्धि र कहिले बाढीले निर्माण सामग्री बगाएको भन्दै निर्माण कम्पनीले काममा बेवास्ता गर्दा पुल निर्माणमा ढिलासुस्ती भएको हो ।

चार वर्षमा सम्पन्न गर्नुपर्ने पुलको काम पाँच वर्ष बितिसक्दासम्म ७० प्रतिशत मात्र भएको छ। ठेक्काको पहिलो म्याद २०८२ असारमा सकिएपछि दुई पटक म्याद थप गरिसकेको छ । तर थपिएको समयमा पनि काम सकिने छाँट छैन । पुल नहुँदा बर्षातको समयमा बाग्चौर, कोटमौला, पातिहाल्नाका स्थानीयले सास्ती भोग्दै आएका छन् ।

पूर्वाधार विकास कार्यालय सल्यानले २०७७ अन्तिममा ठेक्का आहवान गरेपछि प्राकृतिक निर्माण जेभीले ३ करोड ६२ लाखमा काम सम्पन्न गर्ने जिम्मा पाएको थियो । चार वर्षमा सम्पन्न गर्न पुलको २०७८ असार ९ मा सम्झौता गरी निर्माण कम्पनीले काम सुरु गरेको थियो । पुलको लम्बाई २५ मिटर रहेको छ ।

ठेकेदारको लापरवाहीका कारण नै पक्की पुल निर्माणको काम तोकेको समय भन्दा एक वर्ष ढिला भैसक्दा पनि सम्पन्न हुन नसकेको बाग्चौर–९ पातिहाल्नाका टेकबहादुर ओलीले बताए । हिउँदको समयमा कम पानी पर्ने भएकाले गाडीमा आउजाउ गर्न सक्ने र बर्षातमा हिँडेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘शारदामा बाग्चौर नगरपालिकाले ह्युमपाइप राखेर गाडी गुड्ने बनाएको छ । त्यो त्यत्ति भरपर्दो छैन । जोखिम उठाएर जीर्ण झोलुङ्गे पुल प्रयोग गरेर मोटरसाइकल तार्नु पर्छ,’ उनले भने ‘ठूलो बर्षात भएको बेला गाउँमा कोही विरामी भयो भने अस्पताल लैजानका लागि विभिन्न कष्ट उठाउनु पर्ने हुन्छ ।’

पछिल्लो समयमा कम्पनीले काम गरे पनि सुरुवातमा काममा चासो नदेखाएका कारण पुल निर्माणमा ढिलाई भएको बाग्चौर–९ का वडाध्यक्ष यज्ञबहादुर डाँगीले बताए । मदन भण्डारी राजमार्ग जोडिएपछि चौतर्फी दबाब बढेको र मदन भण्डारी राजमार्ग निर्माण गरिरहेको कम्पनीले पनि पक्की पुल निर्माणमा सघाउने प्रतिबद्धता जनाएपछि पुल निर्माण कम्पनीले अहिले काम गरेको उनले बताए ।

पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी सिद्धार्थ मिश्रले विगतमा निर्माण कम्पनीले गरेको ढिलाइले तोकेको समयमा पुलको काम सम्पन्न हुन नसकेको बताए । झन्डै दुई वर्ष अलपत्र परेको काम कार्यालयको ताकेता र चौतर्फी दबाव बढेपछि निर्माण कम्पनीले काम अगाडि बढाएको उनले बताए ।

उनका अनुसार २५ मिटर लम्बाई रहेको पक्की पुल ढलानको काम भएको र नदी वारिपारीको भागमा पक्की पर्खाल लगाउन बाँकी छ । पुल निर्माणको भौतिक प्रगति ७० र आर्थिक प्रगति ४५ प्रतिशत रहेको उनले बताए। निर्माण कम्पनीका संचालक डिल्ली केसी आउँदो असोजभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्ने बताएका छन्।




सम्बन्धित समाचार


error: Content is protected !!