कर्णालीका सडक ‘डेथ ट्रयाप’ – हरेक वर्ष १२० भन्दा बढीले गुमाउँछन् ज्यान

सुर्खेत ः १८ असार २०८३ को बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडाबाट कर्णाली नदीमा खस्यो । उक्त गाडीमा सवार पाँच जना मध्ये चार जनाको शव फेला परेको छ । अत्यधिक धमिलो र तीव्र बहावयुक्त कर्णालीको भंगालोमा खसेको उक्त गाडी र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका–५ माझीगाउँका रामप्रसाद सुवेदीको शव अझै अज्ञात छ ।

घटनालगत्तै दुर्घटनाग्रस्त गाडी र यात्रुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले हेलिकोप्टर, ड्रोन, म्याग्नेट, सोनार क्यामेरा तथा गोताखोरको सहायताले कर्णाली नदी बेसिनमा झण्डै दुई साता सघन खोजी गरे । सुरक्षा निकायले खोज तथा उद्धारमा उच्च प्रविधि प्रयोग गरिरहेको दाबी गरे पनि कर्णालीको धमिलो र उच्च बहावको भंगालोमा ती उपकरण कामयाबी बन्न सकेनन् । अन्ततः खोजी कार्यमा खटिएको सुरक्षा निकायको टोली रामप्रसाद र दुर्घटनाग्रस्त गाडीलाई कर्णाली नदीको धमिलो पानीमै छाडेर फर्कियो ।

यो दुर्घटनामा डण्डपाणि सुवेदीले दुई छोरा गुमाएका छन् । सहचालक रामप्रसाद डण्डपाणिका जेठा छोरा हुन् भने चालक तुलाराम कान्छा छोरा हुन् । रोजगारीको गन्तव्य भारत बनाएका तुलाराम र रामप्रसाद गत वर्षको दशैँमा घर फर्केका थिए । दुई भाइ मिलेर गाडी चलाउने इच्छा गरेपछि दुर्घटनाग्रस्त गाडी बैंकबाट ऋण लिएर खरिद गरिएको थियो ।

एक छोराको शव भेटिएपछि अन्तिम संस्कार गरेर सुवेदी किरियामै बसेका छन् । कान्छो छोरा तुलारामको सास नभए पनि लास आउने आशा सुवेदीमा अझै मरेको छैन । कमाउने छोराहरू सडक दुर्घटनामा परेपछि सुवेदीको परिवार जबर्जस्त उजाडिएको छ । बुढ्यौली हुँदै गएका सुवेदीको काँधमा दुई बुहारी, चार नातिनातिना र श्रीमतीको भार थपिएको छ । त्योभन्दा अझ बढी उनका अघि गाडी किन्दा बैंकबाट लिइएको ऋणको थुप्रो पहाड बनेर उभिएको छ ।

सहचालकलाई दिइने पारिश्रमिक बचत हुने आशाले रामप्रसाद पनि भाइसँगै गाडीमा हिँड्थे । प्रायः दैलेख, कालीकोट, जुम्ला रुटमा उनीहरू परिवारको भविष्य सुनौलो बनाउन हिँडिरहन्थे । उनीहरूले गाडी र परिवारको खर्च कटाएर भएको आम्दानी बैंकको कर्जा तिर्थे, बाँकी केही रकम बचत गर्थे । छोराहरूलाई सुरक्षित तवरबाट गाडी चलाउन डण्डपाणिले भनिरहन्थे । विडम्बना, अहिले डण्डपाणिका सामु न कमाउने छोरा छन्, न त ऋणमा किनेको गाडी नै । अब उनका अघि गाडी किन्न लिइएको ऋणको थुप्रोसँगै जीवनभर छोरा गुमाउनुको पीडाको पहाड उभिएको छ ।

‘मेरो सम्पूर्ण सम्पत्ति बैंकमा धितो राखेर ऋण लिएको थिएँ । अहिले गाडी पनि गयो, दुई छोरा पनि रहेनन् । घरमा साना नातिनातिना छन् । अब परिवार कसरी पाल्ने र बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ,’ उनले भने ।

डण्डपाणि उनै पात्र हुन्, जो बर्सेनि कर्णाली राजमार्गमा सडक दुर्घटनाबाट परिवारका सदस्य गुमाउनुको असह्य पीडा बोकेर बाँच्न बाध्य छन् । कर्णालीमा सडकका नाममा खनिएका असुरक्षित धर्साहरूमा यस्ता हृदयविदारक सडक दुर्घटना भइरहेका छन्, जसले सयौँ नागरिकलाई बर्सेनि सधैँका लागि सडकमै छुटाइरहेका छन् । राज्यको चरम उपेक्षाका कारण कर्णालीका नागरिक बिहान गाडी चढे बेलुका घर पुगिन्छ वा पुगिँदैन भन्ने अन्योलमै यात्रा गर्न बाध्य छन् ।

कर्णाली प्रदेशमा समृद्धिको मेरुदण्ड मानिनुपर्ने सडक सञ्जालहरू नागरिकका लागि कालान्तरमा ‘डेथ ट्र्याप’  मृत्युको पासो प्रमाणित भइरहेका छन् । पछिल्लो साढे १२ वर्षको सरकारी तथ्यांकलाई केलाउँदा सडक दुर्घटनाको दर र यसबाट हुने मानवीय क्षतिको ग्राफ अकल्पनीय रूपमा डरलाग्दो देखिन्छ । यस अवधिमा मात्रै एक हजार तीन सय ७४ जना नागरिकले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन् भने सात हजार आठ सय ९३ जना गम्भीर घाइते भई कष्टकर जीवन बिताउन बाध्य छन् ।

भौगोलिक रूपमा विकट र सडक सञ्जालको पहुँच ढिलो पुगेको कर्णालीमा सडक यातायात जीवनरेखा हुनुपर्ने हो । तर, कमजोर इन्जिनियरिङ, सडकको जीर्ण अवस्था, पुराना सवारी साधन, क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति, तीव्र गति, चालकको लापर्बाही र फितलो ट्राफिक नियमनका कारण कर्णालीका मुख्य राजमार्गहरू ९कर्णाली राजमार्ग, कर्णाली करिडोर, भेरी करिडोर, मध्यपहाडी लोकमार्ग र सहायक ग्रामीण सडकहरू० मृत्युमार्गमा परिणत भइरहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१र०७२ देखि गत आर्थिक वर्ष २०८२र०८३ को २२ असारसम्म कुल ६ हजार ६२ वटा सवारी दुर्घटना दर्ता भएका छन् । जसअनुसार औसतमा हरेक वर्ष एक सय २० भन्दा बढी नागरिकले कर्णालीका सडकमा ज्यान गुमाउने गरेको सरकारी तथ्यांकले देखाउँछ ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१र०७२ मा कर्णालीका विभिन्न सडकमा एक सय ३९ सवारी दुर्घटना भए । यी दुर्घटनामा परी एक सय ३९ जनाले ज्यान गुमाउँदा एक सय ७२ जना गम्भीर घाइते भएका छन् । घाइतेलाई अस्पताल पुर्‍याएपछि उसको अवस्थाबारे पुनः जानकारी नलिइने हुँदा वास्तविक मृत्युको ग्राफ भने यकीन गर्न सकिने अवस्था रहँदैन ।

आर्थिक वर्ष २०७२/०७३ मा ७६ सडक दुर्घटना भएका छन्, जसमा ५६ जनाको मृत्यु हुँदा ६५ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांकले देखाउँछ । यस्तै, आर्थिक वर्ष २०७३र०७४ मा एक सय एक सडक दुर्घटनामा परी एक सय १७ जनाले ज्यान गुमाएका छन् भने एक सय ५३ जना घाइते भएको तथ्यांक प्रहरीसँग छ ।

प्रहरीको तथ्यांकलाई केलाउने हो भने पछिल्ला वर्षहरूमा सडकको अवस्था सुधारिँदै गए पनि दुर्घटनाको ग्राफ भने घटेको छैन । आर्थिक वर्ष २०७४/ ०७५ मा ८८ वटा सडक दुर्घटना हुँदा ९१ जनाको मृत्यु भयो भने एक सय २० जना गम्भीर घाइते भएका छन् । यस्तै, आर्थिक वर्ष २०७५र०७६ मा एक सय ४६ सडक दुर्घटना भएका छन्, जसमा एक सय १५ जनाको मृत्यु हुँदा एक सय ५० नागरिक घाइते भएका छन् ।

आर्थिक वर्ष २०७६/ ०७७ मा दुई सय ३६ सडक दुर्घटनामा परी ९७ जनाले ज्यान गुमाएका छन् । यस वर्ष एक सय ३१ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांक छ । आर्थिक वर्ष २०७७र०७८ मा दुई सय ९१ सडक दुर्घटनामा परी ९८ जनाले सडकमै ज्यान गुमाएका छन् । यस वर्ष एक सय ६९ जना गम्भीर घाइते भएका छन् ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा चार सय तीन सडक दुर्घटनामा एक सय ८० जनाले ज्यान गुमाउँदा तीन सय ६२ जना गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष २०७९/ ०८० मा तीन सय ४२ वटा सडक दुर्घटना भएका छन् । जसमा परी ९४ जनाको मृत्यु र दुई सय पाँच जना गम्भीर घाइते भएको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा एक हजार चार सय ४५ सडक दुर्घटना हुँदा एक सय १२ जनाले ज्यान गुमाएका छन् । यस वर्ष सडक दुर्घटनामा परी दुई हजार ७७ जना घाइते भएका छन् । यो वर्षयता कर्णालीका सडकमा सवारी दुर्घटनाको ग्राफ तीव्र गतिले बढेको प्रहरीको तथ्यांकले देखाउँछ । पछिल्ला वर्षहरूमा मुख्य राजमार्गसँगै ग्रामीण सडकमा अत्यधिक सडक दुर्घटना भइरहेको देखिन्छ ।

आर्थिक वर्ष २०८१/०८२ मा एक हजार दुई सय ४० सडक दुर्घटना भएका छन् । जसमा एक सय ३९ जनाको मृत्यु हुँदा दुई हजार आठ जना गम्भीर घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/०८३ को २२ असारसम्म प्रदेशभर एक हजार पाँच सय ५६ सडक दुर्घटना भइसकेका छन् । यी दुर्घटनामा परी एक सय ३२ जनाले ज्यान गुमाउँदा दुई हजार दुई सय ८१ जना सामान्यदेखि गम्भीर घाइते भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

कर्णालीको यो भयावह तथ्यांकले तत्कालै ठोस कदम चाल्न राज्यका तीनै तहका सरकार र सरोकारवालाहरूलाई झक्झक्याइरहेको छ । आमनागरिकको जीवन रक्षासँग जोडिएको सडकजस्तो संवेदनशील क्षेत्रमा नजरअन्दाज गर्ने परिपाटीको अन्त्य नहुनु दुःखद् रहेको बताउँछन् मानवअधिकारका क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक सेवा केन्द्र ९इन्सेक० का कर्णाली प्रदेश संयोजक नारायणप्रसाद सुवेदी ।

कतिपय राजमार्गहरूमा गाडी गुड्यो कि नागरिकले ज्यान गुमाइहाल्ने अवस्था बन्न थालेपछि इन्सेकले उच्च अदालत सुर्खेतमा रिटसमेत हालेको थियो । सवारी दुर्घटना रोक्न तत्काल न्यूनतम संरचना र प्रयासहरू नगरिएको भन्दै इन्सेकलगायत मानवअधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले अदालतमा रिट दायर गरेका थिए । अदालतले पनि सडकको अवस्था सुधार गरेर कम्तीमा दुर्घटना भइहाले मानवीय क्षति नहुने खालका संरचना तत्काल निर्माण गर्न सरकारका नाममा आदेशसमेत जारी गरेको थियो । तर, कार्यान्वयनमा भने सरकारले चरम उपेक्षा गरिरहेको सुवेदी बताउँछन् ।

उनी भन्छन्, ‘सर्वप्रथम, प्राविधिक रूपमा त्रुटिपूर्ण सडक खण्डहरूमा ‘ब्ल्याक स्पट’ पहिचान गरेर तत्काल सुधार गरिनुपर्छ । कर्णालीका सडकहरूमा चल्ने सार्वजनिक सवारीको नियमित ‘फिटनेस टेस्ट’ अनिवार्य गरिनुपर्छ । लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई जना चालकको व्यवस्था र प्रविधिको प्रयोगमार्फत सवारीको गति ट्र्याकिङ गर्ने व्यवस्था मिलाउन ढिला भइसकेको छ ।’

दुर्घटनाको कारण तीव्र गति

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतको तथ्यांकअनुसार कर्णालीमा सडक दुर्घटनाको मुख्य कारण तीव्र गति देखिन्छ । ट्राफिक प्रहरीले कर्णालीमा हालसम्म भएका सडक दुर्घटनाको विश्लेषण गरेर त्यसका कारणहरू पहिचान गरेको छ । जसमा सबैभन्दा बढी ६९ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको देखिन्छ ।

तथ्यांकअनुसार पाँच प्रतिशत ब्रेक फेल, दुई प्रतिशत यान्त्रिक गडबडी, चार प्रतिशत मद्यपदार्थ सेवन र पैदलयात्रीका कारण सात प्रतिशत दुर्घटना हुने गरेको छ । यस्तै, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउँदा तीन प्रतिशत, मौसमका कारण एक प्रतिशत, ओभरटेकका कारण दुई प्रतिशत र अन्य कारणले सात प्रतिशत सडक दुर्घटना हुने गरेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजाल बताउँछन् ।

उनी भन्छन्, ‘कर्णालीमा सडक दुर्घटनाका मुख्य कारण चालकको लापर्बाही, तीव्र गति, सडकको अवस्था र सवारी साधनको यान्त्रिक अवस्था हुन् । सडकमा समयमै मर्मत, सूचना तथा चेतनामूलक बोर्डको व्यवस्था र आवश्यक पूर्वाधारमा सुधार गर्न सके दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । ट्राफिक जनशक्ति केही कम भए पनि त्यो नै मुख्य समस्या होइन । अहिलेको जनशक्तिलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र आवश्यक पूर्वाधार उपलब्ध गराउन सके ट्राफिक व्यवस्थापन र दुर्घटना नियन्त्रणमा अझ राम्रो नतिजा हासिल गर्न सकिन्छ ।’

सडक अनुगमनमा निस्किए पूर्वाधारमन्त्री लम्साल

संघीय सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशका प्रमुख सडकको अनुगमनमा निस्किएका छन् । कर्णाली राजमार्गलगायतका राजमार्गको अनुगमन गर्न शुक्रबार सुर्खेत आएका मन्त्री लम्साल शुक्रबार नै कर्णाली राजमार्गको अनुगमनमा निस्किएका छन् । उनले पहिलो दिन शुक्रबार कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–दैलेख–कालीकोट खण्डको अनुगमन गरेका छन् । प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाका अनुसार मन्त्री लम्सालले सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला–कालीकोट सिमाना नाग्मसम्म कर्णाली राजमार्गको अनुमगन गर्नेछन् ।

यस्तै, मन्त्री लम्सालले शनिबार कालीकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ । बाजुरादेखि हुम्लासम्म हवाईमार्गबाट जान लागेका मन्त्री लम्सालले हुम्लामा पनि सडकहरूको अनुगमन गर्नेछन् । मन्त्री लम्सालले निर्माणाधीन नेपाल–चीन जोड्ने कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोटदेखि हिल्सा जोड्ने सडक सञ्जालको निरीक्षण गर्ने कार्यतालिका छ ।

४ असारको राष्ट्रियसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले अबको तीन वर्षपछि कर्णालीका जिल्ला र पालिका जोड्ने सडकलाई डबल लेनमा विस्तार गर्ने घोषणा गरेका थिए । उनले अब खाल्डाखुल्डी मर्मत गर्ने काम पटके नभई नियमित तालिकाअनुसार हुने भएकाले लक्ष्यअनुसार काम हुने दाबी मन्त्री लम्सालको छ । साथै, कर्णालीका सडकको स्थलगत अनुगमनसमेत गर्ने घोषणा गरेका थिए । सडक निरीक्षणपछि कर्णालीका सडकलाई प्राथमिकताका साथ अघि बढाउने मन्त्री लम्सालको दाबी छ ।




सम्बन्धित समाचार


error: Content is protected !!