कर्णालीमा प्रदेश युवा वैज्ञानिक सम्मेलन

सुर्खेत ,२० असार ः कर्णाली प्रदेशमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र अनुसन्धान संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश युवा वैज्ञानिक सम्मेलन आयोजना गरिएको छ। कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विज्ञान तथा प्राविद्यिको क्षेत्रमा लगानी हुनुपर्ने बताउनुभयो । कर्णालीमा धेरै क्षेत्रको अनुसन्धान हुनुपर्नेमा उहाँको जोड रहेको छ । संसार थोरै मात्र पाइने बस्तु कर्णालीमा पाइने भन्दै मन्त्री भण्डारीले यसको विकास जरुरी रहेको बताउनुभयो । सम्मेलनमा प्रदेशभरका विद्यार्थी, युवा अनुसन्धानकर्ता, शिक्षक, वैज्ञानिक तथा सरोकारवालाको सहभागिता रहेको छ। सामाजिक विकास मन्त्रालयको आयोजना र ग्लोबल रिसर्च सेन्टर बुटलको प्राविद्यिक सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो ।
सम्मेलनमा युवामा वैज्ञानिक सोच, अनुसन्धान र नवप्रवर्तनको संस्कृति विकास गर्दै स्थानीय समस्या समाधानमा विज्ञान र प्रविधिको उपयोग बढाउने विषयमा छलफल गरिएको छ। सहभागीहरूले कृषि, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सूचना प्रविधि तथा उद्यमशीलताका क्षेत्रमा विज्ञानको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा प्रस्तुत अनुसन्धानमूलक कार्यपत्र, नवप्रवर्तनात्मक परियोजना तथा वैज्ञानिक अवधारणाले कर्णालीका स्थानीय स्रोत, साधन र सम्भावनालाई आधुनिक प्रविधिसँग जोडेर आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सकिने निष्कर्ष प्रस्तुत गरिएको छ। युवाले विकास गरेका नवीन परियोजनाले प्रदेशमा रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धनमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ।

वक्ताहरूले विज्ञान र प्रविधिमा लगानी वृद्धि, विद्यालय तथा विश्वविद्यालयमा अनुसन्धानमैत्री वातावरण निर्माण, प्रयोगशाला सुदृढीकरण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताएका छन्। कर्णालीजस्तो भौगोलिक रूपमा विकट प्रदेशमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, स्मार्ट कृषि, टेलिमेडिसिन र नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा अनुसन्धान र प्रयोगको दायरा विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।
सम्मेलनले प्रदेशका युवा वैज्ञानिक, अनुसन्धानकर्ता तथा नवप्रवर्तनकर्ताबीच अनुभव आदानप्रदान, सहकार्य र नेटवर्क विस्तार गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ। सम्मेलनबाट प्राप्त सुझावलाई प्रदेशको विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी नीति तथा कार्यक्रम निर्माणमा उपयोग गरिने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेशमा दिगो विकास, रोजगारी सिर्जना र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ। प्राकृतिक स्रोत, जैविक विविधता र सांस्कृतिक सम्पदाले समृद्ध भए पनि प्रदेशमा विज्ञान र प्रविधिमैत्री सोच तथा अनुसन्धानमा लगानी न्यून हुँदा विकासको गति अपेक्षित हुन नसकेको सरोकारवालाले बताएका छन्।
विज्ञहरूका अनुसार कर्णालीमा अझै पनि परम्परागत कृषि प्रणाली, सीमित औद्योगिक गतिविधि, कमजोर डिजिटल पूर्वाधार तथा अनुसन्धानमूलक शिक्षाको अभाव देखिन्छ। स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन तथा शिक्षाको गुणस्तर सुधारका लागि विज्ञान र प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको उनीहरूको भनाइ छ।
प्रदेशका अधिकांश स्थानीय तहमा सूचना प्रविधिको प्रभावकारी प्रयोग हुन नसक्दा सेवा प्रवाहमा ढिलाइ हुने, तथ्यांक व्यवस्थापन कमजोर रहने र नीति निर्माणसमेत प्रभावकारी हुन नसकेको देखिएको छ। विद्यालय तथा उच्च शिक्षामा प्रयोगात्मक शिक्षाभन्दा सैद्धान्तिक अध्ययनमा बढी जोड दिइने प्रवृत्तिका कारण नवप्रवर्तनतर्फ युवाको आकर्षण अपेक्षित रूपमा बढ्न सकेको छैन।
कर्णालीबाट ठूलो सङ्ख्यामा दक्ष युवा रोजगारीका लागि बाहिरिने क्रम जारी रहेकाले उनीहरूको सीप, ज्ञान र सिर्जनशीलतालाई प्रदेशभित्रै उपयोग गर्न नवप्रवर्तनमैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ। स्थानीय समस्या समाधान गर्ने अनुसन्धान, स्टार्टअप उद्यम, डिजिटल प्रविधिमा आधारित व्यवसाय तथा उद्यमशीलतालाई प्रोत्साहन गर्न प्रदेश सरकारले विशेष नीति ल्याउनुपर्ने सुझाव विज्ञहरूले दिएका छन्।
कृषि, पर्यटन, जडीबुटी, जलस्रोत र खानीजस्ता क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन र उत्पादकत्व बढाउन सकिने सम्भावना रहेको छ। मौसम पूर्वानुमान, स्मार्ट कृषि, ई–गभर्नेन्स, टेलिमेडिसिन तथा डिजिटल शिक्षाको विस्तारले कर्णालीको विकासमा नयाँ आयाम थप्न सक्ने विश्वास गरिएको छ।
विज्ञान तथा प्रविधिमा लगानी वृद्धि, अनुसन्धान केन्द्र स्थापना, विश्वविद्यालय र उद्योगबीच सहकार्य, स्थानीय तहमा नवप्रवर्तन प्रयोगशाला स्थापना तथा युवालाई अनुसन्धानमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्न सके कर्णालीको सामाजिक र आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सरोकारवालाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई विकासको आधारस्तम्भका रूपमा स्थापित गर्दै स्थानीय आवश्यकता र सम्भावनाअनुसार नीति, बजेट र कार्यक्रम कार्यान्वयन गर्न सके मात्र कर्णाली समृद्धितर्फ अघि बढ्ने धारणा व्यक्त गरेका छन्।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगी , सदस्य अशोकनाथ योगी , सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठ, शिक्षा विकास निर्देशनालयका निर्देशक दिपा हमाल लगायतको सहभागिता रहेको थियो ।






