वीरेन्द्रनगरमा अपाङ्गता अभिमुखीकरण तथा पहिचान शिविर सम्पन्न

सुर्खेत , २२ असार : कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा वीरेन्द्रनगरमा अपाङ्गता अभिमुखीकरण तथा शारीरिक अपाङ्गता पहिचान एवं परीक्षण शिविर सम्पन्न भएको छ। कार्यक्रमको आयोजना आईएनएफ नेपाल, सुर्खेतको साइनिङ अस्पतालले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कर्णाली प्रदेशको समन्वयमा गरेको हो।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गा बहादुर रावत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। उहाँले आफ्नो संघर्षपूर्ण जीवन अनुभव सुनाउँदै अपाङ्गता भएका व्यक्तिहरूले आत्मविश्वास, मेहनत र अवसर पाए समाज तथा राष्ट्रका लागि महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो। शारीरिक कमजोरीलाई सफलताको बाधक नठानी शिक्षा र आत्मबलका माध्यमबाट अघि बढ्न उहाँले प्रेरित गर्नुभयो।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख वर्षबहादुर शाहीले मन्त्रालयको साझेदारीमा सञ्चालन भएका यस्ता कार्यक्रमले छोटो समयमै प्रभावकारी सेवा प्रवाह गरेको उल्लेख गर्दै कृत्रिम अङ्ग निर्माण, अपाङ्गता पहिचान तथा पुनःस्थापना सेवामा आगामी दिनमा पनि मन्त्रालयको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा आईएनएफ नेपाल, सुर्खेतका परियोजना तथा अस्पताल कार्यक्रम संयोजक ललितबहादुर सारुले अपाङ्गता भएका तथा विशेष आवश्यकता भएका व्यक्तिहरूको जीवनस्तर सुधारका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँगै विकास साझेदार, नागरिक समाज र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गर्नुभयो।

शिविरमा सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण, शारीरिक अपाङ्गता पहिचान, आवश्यक परामर्श तथा पुनःस्थापना सेवाका लागि सिफारिस गरिएको आयोजकले जनाएको छ। यस्ता शिविरले अपाङ्गता भएका व्यक्तिहरूलाई समयमै स्वास्थ्य सेवा, सहायक सामग्री तथा पुनःस्थापना सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।





error: Content is protected !!