पहिरोपीडितको पीडा सुन्दा सांसद बुढाका आँखा रसाए, ६० परिवारलाई राहत

 हेमन्त केसी

जाजरकोट /  जुनीचाँदेका बस्तीमा चार दिन बिताएर सदरमुकाम फर्किएका प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढाको मन यसपटक जनताका समस्या र पीडाले भारी भएको छ। कतै प्राकृतिक विपत्तिले उजाडिएका परिवारका आँसु, कतै विकासको प्रतीक्षामा रहेका बस्तीका अपेक्षा त कतै नागरिकले देखाएको आत्मीयताले उनको चारदिने यात्रा भावुक र अर्थपूर्ण बनेको छ।

जुनीचाँदे गाउँपालिका–५ को डोग्रा टोलमा पुग्दा पहिरोबाट प्रभावित परिवारको अवस्था देखेर उनी भावुक बने। पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेटेर उनीहरूको दुःख र पीडा सुन्दा आफ्ना आँखा रसाएको उनले बताएका छन्।

प्रियजन गुमाउनुको पीडा र विपत्तिले थलिएको परिवारको अवस्था देख्दा मन निकै भारी भएको उनको भनाइ छ। प्रभावित परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले आफ्नो तर्फबाट सामग्री लिएर पुगेका उनले करिब ६० परिवारलाई राहत वितरण गरेका छन्। आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

‘विपत्तिमा परेका नागरिकको पीडा नजिकबाट महसुस गर्ने अवसर मिल्यो। उहाँहरूको दुःख सुन्दा मन थाम्न सकिनँ। यो सहयोग सानो भए पनि दुःखको घडीमा साथमा छु भन्ने अनुभूति दिलाउन चाहेको हुँ,’ उनले आफ्नो भ्रमणबारे उल्लेख गरेका छन्।

बस्तीका समस्या र नागरिकका अपेक्षा
चारदिने भ्रमणका क्रममा सांसद बुढाले वडा नं. ५, ६, ४, ११ हुँदै वडा नं. १ सम्म पुगेर स्थानीयसँग भेटघाट तथा छलफल गरेका थिए। त्यसक्रममा अग्रज, आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीसँग आत्मीय संवाद गर्ने अवसर पाएको उनले बताएका छन्।

भ्रमणका क्रममा कतै विकासका अधुरा योजना, कतै खानेपानी र विद्युत्को समस्या त कतै प्राकृतिक विपत्तिबाट जोखिममा परेका बस्तीका नागरिकका गुनासा सुनेका थिए। पार्टीका अग्रज, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूसँग पनि छलफल गर्दै समस्याको समाधानका उपायबारे संवाद गरेका थिए।

नागरिकले देखाएको माया, विश्वास र आत्मीयताले आफूलाई थप जिम्मेवार बनाएको सांसद बुढाको भनाइ छ।
जोखिमयुक्त बस्ती सुरक्षित बनाउने प्रतिबद्धता
सांसद बुढाले जुनीचाँदेका जोखिमयुक्त बस्तीलाई सुरक्षित बनाउने, वर्षा तथा प्राकृतिक विपत्तिबाट सिर्जित समस्याको दीर्घकालीन समाधान खोज्ने र अधुरा विकास आयोजनालाई गति दिन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

खानेपानी, विद्युत् लगायतका आधारभूत आवश्यकता पूरा गर्न सम्बन्धित कार्यालय र सरकारका जिम्मेवार निकायसँग निरन्तर समन्वय गर्ने उनले बताएका छन्।

‘जुनीचाँदेका प्रत्येक बस्तीको सपना मेरो पनि सपना हो। यहाँका नागरिकका समस्या र अपेक्षालाई सम्बन्धित निकायसम्म पुर्‍याउनेछु,’ उनले भनेका छन्।


समस्या बोकेर फर्किए, फेरि बस्तीमै आउने प्रतिबद्धता
चार दिनको भेटघाटपछि सदरमुकाम फर्किए पनि स्थानीयका समस्या, पीडा र गुनासा आफूले सँगै लिएर आएको सांसद बुढाले बताएका छन्। नागरिकका आवाज सम्बन्धित कार्यालयदेखि सरकारका जिम्मेवार निकायसम्म पुर्‍याउने र समाधानका लागि निरन्तर पहल गर्ने उनको प्रतिबद्धता छ।

‘यो साथ केवल भेटघाट र आश्वासनमा सीमित हुने छैन। म फेरि फर्कनेछु, तपाईंहरूकै बीचमा हुनेछु। सुखदुःखमा सधैँ साथमा रहनेछु,’ उनले उल्लेख गरेका छन्।

उनका लागि जुनीचाँदेका चार दिन केवल औपचारिक भेटघाटमा सीमित रहेनन्। विपत्तिले थलिएका परिवारका आँसु, विकासको प्रतीक्षामा रहेका नागरिकका अपेक्षा र स्थानीयले देखाएको आत्मीयताले जनप्रतिनिधिका रूपमा जनताप्रतिको जिम्मेवारीलाई थप गहिरो बनाएको छ।





error: Content is protected !!