कालिकोटदेखि हुम्लासम्म ः सडकको धुलोमा हराएको कर्णालीको पीडा (फोटो फिचर)

हेमन्त केसी
सुर्खेत, २८ कात्तिक ः कर्णाली नदीको किनारैकिनार अघि बढेको कर्णाली करिडोर । एकातिर गहिरो नदी, अर्कोतिर आकाश छोएझैँ देखिने अग्ला पहाड र ती पहाडका भिरालो छातीमा टाँसिएर बसेका साना गाउँहरू । प्रकृतिले अनुपम सुन्दरता दिएको यो भूगोलमा मानिसको जीवन भने अझै पनि संघर्षको अर्को नाम बनेको छ ।


कालिकोटको खाडाचक्र नगरपालिका–सन्नीघाटबाट सुरु हुने यात्रा बाजुरा र मुगुका भूभाग हुँदै हुम्लाको अदानचुली गाउँपालिका हुँदै हुम्ला सदरमुकाम पुगिन्छ । आँखाले देख्दा यो यात्रा जति सुन्दर देखिन्छ, भोग्दा त्यति नै कष्टकर छ। कतै सडक साँघुरो छ, कतै कर्णाली नदीको किनारमा पहिरोको जोखिम छ। वर्षायाममा हिलाम्य हुने सडक हिउँदमा धुलाम्य बन्छ। सडक बनेको छ, तर सहज यात्रा गर्ने आधार अझै बनेको छैन।

सुर्खेतबाट हुम्ला पुग्न दुई दिनसम्म लाग्छ। त्यो पनि यात्राको अधिकांश समय धुलो, उकालो, ओरालो र जोखिमसँग जुध्दै बित्छ। गाडी अगाडि बढ्दै गर्दा उड्ने धुलोले यात्रुको अनुहार मात्र छोप्दैन, कर्णालीको विकासको वास्तविक चित्रसमेत छोपिदिन्छ। यात्रा सकिँदासम्म शरीर थाकेर गलिसकेको हुन्छ। यात्राको थकानभन्दा ठूलो पीडा यहाँका नागरिकले वर्षौंदेखि भोगिरहेको अभाव हो।
स्थानीय गगन परियारका शब्दमा, ‘शरीरले पाउने दुःख र पीडाको त यहाँ कुनै मूल्य नै छैन।’ उनको यो भनाइ एउटा यात्रुको गुनासो मात्र होइन, पुस्तौँदेखि दुर्गम भूगोलमा जीवन बिताइरहेका नागरिकको साझा अनुभूति हो।

सुन्दर भूगोल, कठिन जीवन
कर्णाली नदीको माथिल्लो भागमा रहेका बस्तीहरू प्रकृतिका सुन्दर दृश्यसँग जोडिएका छन्। तर ती गाउँमा पुग्न सहज छैन। भिरालो जमिनमा छरिएर रहेका बस्तीबीचको दूरी भौगोलिक हिसाबले धेरै नदेखिए पनि एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँ लाग्छ। सडक नपुगेका ठाउँमा पैदल यात्रा नै विकल्प हो।

यहाँका नागरिकका लागि सडक केवल गाडी गुड्ने बाटो होइन। बिरामीलाई अस्पताल पु¥याउने माध्यम हो। बालबालिकालाई विद्यालयसम्म जोड्ने आधार हो। उत्पादित वस्तु बजारसम्म पु¥याउने सम्भावना हो। र, वर्षौंदेखि राज्यसँग खोजिरहेको समान अवसरको ढोका पनि हो।

तर सडकको अवस्था हेर्दा विकासको अनुभूति अझै टाढा छ। सडकको नाममा बाटो खुले पनि त्यसले नागरिकको जीवन सहज बनाउन सकेको छैन। वर्षामा हिलो र पहिरोको सास्ती, हिउँदमा धुलो र जोखिम यहाँको नियमित नियति बनेको छ।

बजेटको प्राथमिकतामै कर्णालीको प्रश्न
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले समेत यस क्षेत्रको विकासका लागि संघीय सरकारले पर्याप्त बजेट कहिलेसम्म उपलब्ध गराउँछ भन्ने प्रश्न उठाउँदै आएका छन्। राज्यको लगानी र विकासको प्राथमिकता कहाँ केन्द्रित छ भन्ने बहस यस क्षेत्रको अवस्थाले फेरि सतहमा ल्याएको छ।

जहाँ सुविधा सम्पन्न बस्ती छन्, त्यहीँ राज्यको बजेट र विकासका योजना बढी केन्द्रित हुने गरेको गुनासो उपल्लो कर्णालीका नागरिकको छ। आधारभूत पूर्वाधारकै पर्खाइमा रहेका बस्तीले विकासको समान अवसर कहिले पाउने भन्ने प्रश्न उनीहरूका सामु अझै अनुत्तरित छ।


कर्णाली करिडोरले कालिकोट, बाजुरा, मुगु हुँदै हुम्लालाई जोड्ने सम्भावना बोकेको छ। यो सडकले भूगोल मात्र जोड्ने होइन, यहाँका नागरिकको जीवन, उत्पादन, पर्यटन र आर्थिक सम्भावनालाई पनि जोड्न सक्छ । तर सडकको स्तरोन्नति, नियमित मर्मत र सुरक्षित यातायातको व्यवस्था नहुँदासम्म यसको वास्तविक लाभ नागरिकले पाउन कठिन छ।

कर्णालीको यो यात्रा केवल सडकको यात्रा होइन। यो राज्यको प्राथमिकताबाट टाढा परेका बस्तीहरूको कथा हो । विकासका ठूला भाषण र योजनाबीच धुलो खाँदै यात्रा गर्न बाध्य नागरिकको व्यथा हो । अग्ला पहाड र गहिरा नदीको बीचमा जीवन खोजिरहेका मानिसहरूको संघर्ष हो।

कर्णालीको भूगोल सुन्दर छ, सम्भावना पनि उत्तिकै छ। तर सुन्दर भूगोलले मात्रै नागरिकको जीवन सुन्दर बन्दैन। त्यसका लागि राज्यको समान दृष्टि, पर्याप्त लगानी र व्यवहारमा देखिने विकास चाहिन्छ। आखिर कर्णालीका नागरिकले कहिलेसम्म सडकको धुलो खाएर विकासको प्रतीक्षा गरिरहनुपर्ने हो ?




सम्बन्धित समाचार


error: Content is protected !!