समाचारका पानाबाट सगरमाथाको काखसम्म: वर्षौंदेखिको सपना पूरा हुँदाको खुसी


केही सपना यस्ता हुन्छन्, जुन वर्षौंदेखि मनको कुनै कुनामा सजाएर राखिएको हुन्छ। ती कहिले पूरा हुन्छन् भन्ने निश्चित हुँदैन। तर एक दिन अवश्य पुग्छु, आफ्नै आँखाले देख्छु र त्यसको अनुभूति गर्छु भन्ने चाहना भने मनबाट हराउँदैन। मेरा लागि सगरमाथा, लुक्ला र नाम्चे बजार त्यस्तै सपनाका गन्तव्य थिए।
पत्रकारितामा लागेदेखि नै हिमाल, पहाड, दुर्गम बस्ती, त्यहाँका मानिसको जीवनशैली, पर्यटन र प्रकृतिसँग जोडिएका अनेक विषयमा कलम चलाउँदै आएकी छु। विशेषगरी सगरमाथा क्षेत्रका समाचार पढ्दा, लेख्दा र साथीभाइले त्यहाँ पुगेर खिचेका तस्बिर तथा भिडियो हेर्दा मनमा एउटै प्रश्न उठ्थ्यो, कहिले आफ्नै आँखाले यी हिमाल नियाल्न पाउँला? कहिले ती सुन्दर ठाउँमा आफैँ पुग्न पाउँला?
समाचारका पानामा पढिने सगरमाथा, तस्बिरमा देखिने नाम्चे बजार र विश्वभरका मानिसको सपनासँग जोडिएको सगरमाथा आधार शिविर मेरा लागि सधैँ आकर्षणका विषय थिए। अरूले खिचेका तस्बिर हेर्दा म त्यहाँको सुन्दरता कल्पना गर्थें। तर चाहना भएर मात्रै कहाँ पुगिँदो रहेछ र! समय, अवसर र साथको पनि उत्तिकै महत्त्व हुँदो रहेछ। एक्लै जाने योजना बनाउँदा विभिन्न कारणले सम्भव भइरहेको थिएन।
यसपटक भने लामो समयदेखि मनमा सजाएको सपना पूरा भयो। काठमाडौं हुँदै सोलुखुम्बु, लुक्ला, नाम्चे बजार र सगरमाथा क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्य पुग्ने अवसर मिल्यो। छोटो समयमै यति धेरै कुरा आफ्नै आँखाले देख्न र अनुभूत गर्न पाउँछु भन्ने सोचेकी पनि थिइनँ। त्यसैले यो यात्रा मेरा लागि सामान्य घुमफिरभन्दा धेरै माथिको विषय बन्यो।
लुक्ला: सपनाको संसारतर्फको प्रवेशद्वार
२३ गते सुर्खेतबाट काठमाडौं आएपछि लुक्ला जाने निर्णय घरमा सुनाएँ र योजना पास पनि भयो। लामो समयदेखिको प्रतीक्षा अब पूरा हुँदै थियो। २४ गते लुक्ला प्रस्थान गर्ने दिन आयो। बालुवाटारबाट विमानस्थलतर्फ लाग्दा मनमा छुट्टै उत्साह र कौतूहल थियो। वर्षौंदेखि समाचारमा पढ्दै, तस्बिरमा हेर्दै आएको लुक्ला अब केही समयमै आफ्नै आँखाले देख्न पाउँदै थिएँ।
विमानस्थल पुगेपछि कैलाश हेलिकप्टर सर्भिसको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरेर हेलिप्याडतर्फ लागेँ। मसँग कैलाश हेलिकप्टरको बोर्डिङ पास थियो। तर कैलाशको हेलिकप्टर आउन केही ढिलाइ भएकाले संयोगवश हेलि एभरेस्टको हेलिकप्टरबाट लुक्ला जाने अवसर मिल्यो। त्यही चढेर यात्रा सुरु गरेँ। काठमाडौं विमानस्थलबाट उडेको करिब ४० मिनेटमै लुक्ला पुग्दा मनमा छुट्टै खुसी छाएको थियो।
यो यात्रामा मलाई सबैभन्दा रोचक लागेको अर्को पक्ष हेलिकप्टर कम्पनीहरूबीचको समन्वय थियो। एउटा कम्पनीको बोर्डिङ पास लिएर पुगेकी मलाई अर्को कम्पनीको हेलिकप्टरबाट गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइयो। पर्यटकलाई अलमलमा नपारी पालैपालो उडान व्यवस्थापन गर्दै विभिन्न कम्पनीले सेवा दिइरहेको दृश्य साँच्चिकै प्रशंसनीय लाग्यो। प्रतिस्पर्धाका बीच पनि यात्रुको सुविधालाई प्राथमिकतामा राखेर गरिएको यस्तो व्यवस्थापनले मन छोयो।
लुक्ला पुगेपछि देखिएको दृश्यले झन् रोमाञ्चित बनायो। हेलिकप्टर र जहाजको निरन्तर आवतजावतले लुक्ला बजार नै गुञ्जायमान थियो। केही मिनेटको अन्तरालमा उड्ने र अवतरण गर्ने हेलिकप्टर तथा निश्चित समयमा आउने जाने जहाजले वातावरणलाई निकै व्यस्त बनाएको थियो। विमानको आवाज, पर्यटकको चहलपहल र हिमाली परिवेशले लुक्लालाई साँच्चिकै जीवन्त बनाएको रहेछ।

विश्वकै चर्चित र चुनौतीपूर्ण विमानस्थलमध्ये एकका रूपमा परिचित तेन्जिङ हिलारी विमानस्थललाई आफ्नै आँखाले देख्न पाउँदा बयान गर्न नसकिने खुसी लाग्यो। यसअघि समाचार, तस्बिर र भिडियोमा मात्र देखेको विमानस्थल, त्यहाँको भौगोलिक बनावट, वरिपरिका पहाड र विमानको आवतजावत प्रत्यक्ष नियाल्दा रोमाञ्चित भएँ। सपनाको एउटा महत्त्वपूर्ण खुड्किलो पार गरेजस्तो लाग्यो।
लुक्ला केवल एउटा विमानस्थल मात्र होइन, सगरमाथा क्षेत्रको पर्यटन यात्राको महत्त्वपूर्ण प्रवेशद्वार रहेछ। यहाँबाट नाम्चे, सगरमाथा आधार शिविर, गोक्यो र अन्य हिमाली गन्तव्यतर्फ जाने पर्यटकको चहलपहल देख्दा यस क्षेत्रको पर्यटन महत्त्व अझ नजिकबाट बुझ्न पाएँ। विदेशी पर्यटक ओसारपसारदेखि सडक नपुगेका स्थानमा निर्माण सामग्री र आवश्यक सामान पुर्याउने कामसम्म हेलिकप्टरहरू व्यस्त देखिन्थे। हिमाली बस्तीमा सडक नपुगे पनि निर्माण र विकासका कामलाई निरन्तरता दिन हेलिकप्टरले पुर्याइरहेको योगदान पनि नजिकबाट देख्न पाएँ।
म जहाँ पुगे पनि त्यहाँको वस्तुस्थिति बुझ्न र कार्यालयसँग समन्वय गरेर समाचार पठाउन रुचाउँछु। लुक्ला पुगेपछि पनि कार्यालयसँग सम्पर्क गरेर त्यहाँको गतिविधिबारे समाचार र भिडियो पठाएँ, र समाचार क्षणभरमै प्रकाशित भयो। वर्षौंदेखि पुग्न चाहेको ठाउँमा पुगेको खुसीसँगै त्यहाँको दृश्य तत्कालै पाठकसम्म पुर्याउन पाउँदा पत्रकारिताप्रतिको सन्तुष्टि पनि थपियो।
खाना खाएर म नाम्चे जाने तयारीमा जुटेँ, र लुक्ला पुगेकै दिन नाम्चे लागेँ।
नाम्चे बजार: हिमालको काखमा बसेको सुन्दर संसार
नाम्चे बजारको नाम मैले कति पटक समाचारमा देखेँ। कति पटक अरूका तस्बिर र भिडियोमा यसको सुन्दरता नियालेँ। तर यसपटक आफ्नै पाइला टेक्न पाउँदाको अनुभूति नै बेग्लै थियो।

लुक्लाबाट करिब १५ मिनेटको हेलिकप्टर यात्रापछि म नाम्चे पुगेँ। कैलाश हेलिकप्टरमा पाइलटका रूपमा मणिराज लामा हुनुहुन्थ्यो। उहाँले नेपाली सेनामा लामो समय सेवा गरेर पछिल्लो समय कैलाश हेलिकप्टरमा काम गरिरहनुभएको रहेछ। नाम्चे पुग्नेबित्तिकै मेरो पहिलो काम कान्तिपुरका लागि त्यहाँको दृश्य कैद गरेर भिडियो पठाउनु थियो। पाइलट आफ्नो अर्को उडानका लागि फर्कनुभयो। म भने हेलिप्याड नजिकैको अग्लो डाँडामा बसेर लामो समयसम्म नाम्चे बजार नियालिरहेँ। वरिपरिका हिमाल, पहाड र तल फैलिएको सुन्दर बजारले मन लोभ्याइरहेको थियो। क्यामेरामा दृश्य कैद गरिरहेँ, तर आँखाअगाडिको सुन्दरता हेरेर मन भरिएको थिएन। केहीबेर त्यहीँ बसेपछि मात्र बजार झरेँ।
नाम्चे पुग्नुअघि नै कान्तिपुरमा लामो समयदेखि सोलुखुम्बुमा काम गरिरहनुभएका सहकर्मी भानुभक्त निरौलासँग त्यहाँको अवस्थाबारे समन्वय गरिरहेकी थिएँ। उहाँले होटलहरूको जानकारी दिनुका साथै आवश्यक समन्वय पनि गरिदिनुभयो, र उहाँकै सहयोगमा होटलको व्यवस्था मिलाएँ। होटलमा झोला राखेर खानपिन गरेपछि बजार घुम्न निस्किएँ।
नाम्चे बजारको चहलपहल मैले कल्पना गरेभन्दा फरक र आकर्षक थियो। रंगीचंगी ढंगले सजाइएका घर, व्यवस्थित होटल, रेस्टुरेन्ट तथा पसलले बजारलाई निकै सुन्दर बनाएका रहेछन्। स्वदेशी तथा विदेशी पर्यटकले बजार भरिभराउ थियो। कतै पर्यटकका समूह, कतै पदयात्रामा निस्कने तयारी, कतै होटल र रेस्टुरेन्टमा रमाइरहेका मानिस। बजारका हरेक कुनामा पर्यटकीय गतिविधि देखिन्थ्यो।
मलाई सबैभन्दा अचम्म लागेको कुरा सडक नपुगेको हिमाली बस्तीमा पनि उपलब्ध सेवा र सुविधाको स्तर थियो। काठमाडौंमा पाइने खानपिन र धेरैजसो सुविधाजनक सेवा नाम्चेमा पनि उपलब्ध रहेछन्। होटलहरू सफा र व्यवस्थित थिए। सामानको मूल्य पनि सोचेजस्तो अत्यधिक महँगो लागेन। यस्तो दुर्गम भूगोलमा सामान पुर्याउनुपर्ने अवस्था हेर्दा मूल्य ठीकै लाग्यो। नाम्चे बजारको व्यवस्थापन र स्थानीयले पर्यटन क्षेत्रमा गरेको मेहनत देखेर म साँच्चिकै प्रभावित भएँ।
नाम्चेमा पर्यटकको चहलपहल मात्रै होइन, कला, संस्कृति र परम्परालाई जोगाउने प्रयास पनि उत्तिकै महत्त्वपूर्ण रहेछ। त्यस दिन तिहारको भैलो खेल्ने कार्यक्रम थियो। साँझ बजारमा भैलो खेल्दै स्थानीय कला र संस्कृतिलाई निरन्तरता दिएको दृश्यले मन छोयो। हिमालको काखमा बसेर तिहारको सांस्कृतिक रौनक अनुभव गर्न पाउनु मेरा लागि अर्को नयाँ अनुभव थियो। त्यसैले त्यो रात नाम्चेमै बस्ने निर्णय गरेँ।
भोलिपल्ट बिहान तिहारको दिन थियो। दाजुभाइ र परिवारका सदस्यलाई फोन गरेर शुभकामना साटासाट गरेँ। त्यसपछि नाम्चेमाथि रहेको नेपाली सेनाको श्री भगवती प्रसाद गणतर्फ लागेँ। गण परिसरबाट सगरमाथासहित आसपासका विभिन्न हिमाल निकै नजिकबाट नियाल्न पाइने रहेछ। त्यहाँ गुल्मपति सरले विभिन्न विषय बुझ्न र दृश्य कैद गर्न आवश्यक सहजीकरण गरिदिनुभयो। उहाँको सहयोगप्रति आभारी छु।
त्यसपछि तेन्जिङ नोर्गे शेर्पासँग जोडिएको संग्रहालय पुगेँ। सानो कक्षामा पढ्दादेखि सुन्दै र पुस्तकमा पढ्दै आएको नामसँग सम्बन्धित इतिहास, उहाँको पर्वतारोहण यात्रा र योगदानका सामग्री नजिकबाट हेर्न पाउँदा निकै खुसी लागेको थियो। पुस्तकमा पढेका र समाचारमा सुनेका विषयलाई सम्बन्धित ठाउँमै पुगेर बुझ्नुको आनन्द बेग्लै हुँदो रहेछ। इतिहासका पानामा पढेका विषय आफ्नै आँखाअगाडि देखिँदा चासो र बुझाइ अझ गहिरो बन्छ।
पर्वतारोहणको इतिहास, हिमाल चढ्न आवश्यक साहस, धैर्य र मेहनतबारे सोच्दा यो क्षेत्रको महत्त्व अझ बुझ्न पाएँ। हिमाल आरोहणलाई केवल शारीरिक क्षमता र साहसमा मात्र सीमित गर्न मिल्दैन। यसमा वर्षौंको अभ्यास, अनुभव, जोखिम व्यवस्थापन र समर्पण पनि जोडिएको हुन्छ। पर्वतारोहणमा महिलाहरूको साहस, योगदान र उपलब्धिबारे जान्न पाउनु मेरा लागि विशेष चासोको विषय बन्यो। महिलाहरूले पनि आफ्नो इच्छाशक्ति, क्षमता र साहसका आधारमा संसारका कठिन गन्तव्यमा उपस्थिति जनाइरहेका छन् भन्ने कुराले मन छोयो।
संग्रहालयमा पर्यटकको बाक्लो उपस्थिति थियो। त्यहाँका दृश्य, सामग्री र चहलपहल समेटेर कान्तिपुरका लागि तस्बिर तथा भिडियो पठाएँ, र आफ्ना सम्झनाका लागि पनि केही कैद गरेँ।
कतिपय पर्यटक लामो समय लगाएर पैदल यात्रा गरिरहेका थिए। कोही दस दिन, कोही पन्ध्र दिनसम्म हिमाली बाटो हिँड्दै गन्तव्यतर्फ अघि बढिरहेका थिए। उनीहरूको अनुहारमा देखिने उत्साह, यात्राप्रतिको लगाव र हिमालप्रतिको मोह हेर्दा लाग्थ्यो, उनीहरूका लागि यो केवल घुमफिर होइन, जीवनभर सम्झिरहने सपना हो।
नाम्चे बजारको अर्को विशेषता यसको प्राकृतिक परिवेश हो। बजारमा जति चहलपहल भए पनि वरिपरिका हिमाल र पहाडले यसलाई शान्त र आकर्षक बनाएका छन्। केहीबेर त्यहाँ बसेर वरिपरि नियाल्दा समय नै रोकिएजस्तो अनुभूति हुन्थ्यो।
बिहानको समय बित्दै थियो। करिब साढे १० बजेतिर लुक्लाबाट फोन आयो, हेलिप्याडमा आएर बस्न भनियो। म हेलिप्याडतर्फ लागेर लुक्ला फर्किएँ। त्यहाँ कैलाश हेलिकप्टरमा लामो समयदेखि काम गरिरहनुभएका पुराना चिनजानका मित्र पाइलट लाक्पा सर र प्रभल सरसँग भेट भयो। प्रभल सरले खानपिनको व्यवस्था पनि मिलाइदिनुभयो। खाना खाएपछि लाक्पा सरसँग भलाकुसारी गर्दै लामो समय विमानस्थलमै बसेँ।
लुक्लामा तिहार: नयाँ ठाउँमा भेटिएको आत्मीयता
त्यो दिन मौसम बिग्रिएर पानी परिरहेको थियो। काठमाडौंमा पानीले हैरानी पारेको फोटो र भिडियो हेर्दा डर पनि लागेको थियो। फर्कने योजना भए पनि मौसमले यात्रा प्रभावित भइरहेको थियो। हिमाली क्षेत्रमा यात्रा गर्दा मौसमको महत्त्व कति ठूलो हुँदो रहेछ भन्ने कुरा यसपटक नजिकबाट अनुभव गर्न पाएँ।
कैलाशका पाइलट लाक्पा सर र अर्का इन्जिनियर सरसँग लुक्ला बजार जाने निर्णय गरेँ। सुर्खेतस्थित पश्चिम एयरबेसमा कमान्डरका रूपमा कार्यरत रहिसक्नुभएका नेपाली सेनाका कर्णेल पाइलट सुवास खड्कासँग पनि भेट्ने अवसर मिल्ने भयो। उहाँ अहिले उच्च हिमाली क्षेत्रमा हेलिकप्टर उडाउनुहुन्छ। लाक्पा सर र मैले सुवास सरलाई सरप्राइज दिने योजना बनायौँ। म लुक्ला आएको दुई दिन भइसकेको थियो, तर उहाँलाई जानकारी दिएकी थिइनँ। भेट हुँदा उहाँ पनि खुसी हुनुभयो। हामीले सँगै कफी पियौँ र केहीबेर भलाकुसारी गर्यौँ।
दुवै सरले लुक्ला र नाम्चे मात्रै घुमेर नफर्कन, आसपासका अन्य ठाउँ पनि घुम्न सुझाव दिनुभयो। त्यो सुनेर म झन् खुसी भएँ। अब सगरमाथालाई अझ नजिकबाट नियाल्ने अवसर मिल्ने भयो भन्ने लाग्यो।
सुवास सर र लाक्पा सरसँगको भेटपछि त्यहाँ कार्यरत अन्य पाइलटहरूसँग पनि चिनजान भयो। विमानस्थलमा निमित्त प्रमुखका रूपमा काम गरिरहनुभएका भाइ नवराज कटुवालसँग पनि भेट भयो। उहाँले मलाई त्यहाँका विभिन्न विषयमा जानकारी दिनुका साथै आवश्यक सहजीकरण गरिदिनुभयो। तिहारकै दिन उहाँसँग भेट हुन पाउँदा थप खुसी लाग्यो।
विगत पाँच वर्षयता मैले तिहारको टीका लगाउन पाएकी थिइनँ। यसपटक पनि घरपरिवारसँग टीका लगाउने अवसर नजुरेकाले यात्रामा निस्केकी थिएँ। घरपरिवारबाट टाढा, हिमालको काखमा तिहार मनाइरहेकी थिएँ। घरमा दाजुभाइ, परिवार र आफन्तसँग बसेर मनाउने तिहारको सम्झना आइरहेको थियो। तर यात्राकै क्रममा भेटिएका साथीभाइ र नयाँ परिचितहरूको आत्मीयताले त्यो दूरी केही कम गरिदियो।
हेलिकप्टरका पाइलट तथा कर्मचारीले तिहारको अवसरमा आयोजना गरेको जमघटमा लाक्पा सरले सुवास सरको टोली र मलाई पनि निम्तो दिनुभयो। मेरा लागि त्यहाँ धेरैजसो नयाँ अनुहार थिए। तर तिहारको आत्मीय वातावरणमा सबैसँग घुलमिल हुन गाह्रो भएन। कुराकानी, हाँसो र रमाइलोमा केही समय बित्यो।
नेपालका हिमाली क्षेत्रमा हेलिकप्टर उडाइरहेका विदेशी पाइलटहरू पनि जमघटमा निकै रमाइरहेका थिए। उनीहरूले नेपाली टीका लगाएर, गलाभरि माला पहिरिएर खुसी साटिरहेको दृश्य मन छुने खालको थियो। विदेशी भूमिमा होइन, नेपालकै हिमालको काखमा नेपाली संस्कृतिसँग जोडिएर उनीहरूले तिहार मनाएको देख्दा खुसी लाग्यो। त्यही दृश्यले मलाई घरपरिवारको झन् धेरै सम्झना पनि दिलायो।
तर म धेरैबेर बसिनँ। भोलिपल्ट हिमाललाई अझ नजिकबाट नियाल्ने अवसर पाउने उत्साहले मन भरिएको थियो, त्यसैले छिट्टै फर्किएँ। राति होटलमा पुगेपछि पनि मनमा सगरमाथा र आसपासका हिमालकै दृश्य घुमिरहे। मोबाइलमा ती हिमालका भिडियो हेरिरहेँ र भोलिपल्ट आफ्नै आँखाले देख्न पाउने क्षणको कल्पना गरिरहेँ।
हेलिकप्टरबाट हिमालको नजिक: होटल एभरेस्ट भ्युको अविस्मरणीय दृश्य
तेस्रो दिन बिहान खाना खाएर माउन्टेन हेलिकप्टरमा होटल एभरेस्ट भ्यु जाने अवसर मिल्यो। केहीबेरमै स्याङ्बोचेस्थित होटल एभरेस्ट भ्युमा पुग्दा देखिएको दृश्यले म मन्त्रमुग्ध भएँ। वरिपरि हिमालैहिमाल थिए। सगरमाथा, ल्होत्से, नुप्से, आमादब्लम, थामसेर्कु, ताबोचे, चोलात्से र कोङ्दे री जस्ता हिमालले आकाश छुन खोजेजस्तो देखिन्थ्यो। मौसम खुलेको बेला हिमालका सेता चुचुराहरू यति नजिक देखिँदा आफू हिमालकै बीचमा उभिएको अनुभूति हुँदो रहेछ।
केहीबेर त्यहीँ बसेर वरिपरिका हिमाल नियालिरहेँ। होटल एभरेस्ट भ्युमा विदेशी पर्यटकको बाक्लो उपस्थिति थियो। हेलिकप्टरहरू केही मिनेटको अन्तरालमा पर्यटक ल्याउने, ओराल्ने र फर्काउने काममा व्यस्त देखिन्थे। कोही हेलिकप्टरबाट ओर्लिएर हिमालसँग तस्बिर खिचिरहेका थिए, कोही वरिपरिको दृश्य नियालिरहेका थिए। त्यहाँको चहलपहल हेर्दा सगरमाथा क्षेत्र विश्वभरका पर्यटकका लागि कति आकर्षक गन्तव्य रहेछ भन्ने बुझ्न सकिन्थ्यो।
सगरमाथा क्षेत्रमा हेलिकप्टरको उडान केवल होटल एभरेस्ट भ्युमा पर्यटक पुर्याउन मात्र सीमित रहेनछ। मौसम, उडान अनुमति, यात्रुको अवस्था र हेलिकप्टरको क्षमताअनुसार लुक्ला, नाम्चे, स्याङ्बोचे, तेङ्बोचे, फेरिचे, डिङ्बोचे, लोबुचे, गोरक्षेप, कालापत्थर र गोक्यो क्षेत्रसम्म उडान हुने रहेछ। कतिपय ठाउँमा पर्यटकलाई ओराल्ने वा पदयात्राबाट फर्कनेलाई उद्धार तथा स्थानान्तरण गर्ने काम पनि हेलिकप्टरबाटै हुने रहेछ। सगरमाथा आधार शिविर र खुम्बु हिमनदी क्षेत्रलाई भने धेरैजसो उडानमा आकाशबाटै अवलोकन गरिन्छ। यी सबै ठाउँमा एउटै उडानमा पुगिँदैन। मौसम र उडानको उद्देश्यअनुसार गन्तव्य फरक हुने रहेछन्।
होटल एभरेस्ट भ्युमा केही समय बिताएपछि फर्कने तयारी भयो। माउन्टेन हेलिकप्टरबाट पुगेकी म फर्किंदा कैलाश हेलिकप्टरमा लुक्ला आएँ। यसरी एउटै यात्रामा कैलाश, हेलि एभरेस्ट र माउन्टेन हेलिकप्टर गरी तीनवटै कम्पनीबाट यात्रा गर्ने अवसर मिल्यो। फर्कने क्रममा हेलिकप्टरबाट वरिपरिका हिमाली भूगोल, बस्ती, पहाड र हिमशृङ्खला नियाल्न पाउँदा यात्रा झन् अविस्मरणीय बन्यो। जमिनबाट एउटा कोणबाट देखिने हिमाल आकाशबाट हेर्दा अर्कै संसारजस्तो लाग्दो रहेछ।
त्यो क्षणमा मनमा एउटै कुरा आइरहेको थियो: वर्षौंदेखि समाचारमा पढेको र तस्बिरमा हेरेको सगरमाथा क्षेत्र आज आफ्नै आँखाअगाडि थियो। केही समयअघिसम्म कल्पना मात्रै गरेको दृश्य अब मेरो यात्राको सम्झना बनिसकेको थियो।
हिमाललाई आफ्नै आँखाले नियाल्दाको आनन्द
हुन त हिमाल र पहाड कर्णालीमा नभएका होइनन्। डोल्पा, मुगु तथा कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा घुम्ने क्रममा मैले अनेक हिमाली दृश्य आफ्नै आँखाले देखेकी छु। त्यहाँका सुन्दर हिमाल, पहाड र प्रकृतिसँग मेरो पुरानै साइनो छ। तर सगरमाथा क्षेत्रको आफ्नै छुट्टै आकर्षण र आनन्द रहेछ। यसको एउटा विशेष कारण हामीले सानैदेखि किताबमा पढेका, समाचारमा लेखेका र विश्वभर चर्चित नामहरूलाई आफ्नै आँखाले देख्न पाउनु पनि हो। सगरमाथा, लुक्ला, नाम्चे र आधार शिविरसँग जोडिएका कथा अब मेरा लागि पढेका र लेखेका विषय मात्रै रहेनन्। ती ठाउँमा आफैँ पुगेर अनुभूति गर्न पाएँ।
आँखाअगाडि उभिएका सेता हिमशृङ्खला, वरिपरिका पहाड, चिसो हावा र प्रकृतिको अनुपम सुन्दरताले मनलाई अर्कै संसारमा पुर्याउँदो रहेछ। केही क्षण त क्यामेरा र मोबाइलभन्दा पनि आफ्नै आँखाले त्यो दृश्यलाई मनभित्र कैद गरिरहूँ जस्तो लाग्यो।
हामीले धेरै सुन्दर दृश्य तस्बिर र भिडियोमा हेरेका हुन्छौँ। तर प्रत्यक्ष देख्दा अनुभूति फरक हुँदो रहेछ। तस्बिरले दृश्य देखाउँछ, तर त्यहाँको चिसो हावा, वातावरण, वरिपरिको शान्ति र मनमा उत्पन्न हुने खुसीलाई समेट्न सक्दैन। त्यो अनुभूति आफैँ पुगेपछि मात्रै गर्न सकिने रहेछ।
हेलिकप्टरबाट यात्रा गर्दा पनि हिमाली भूगोललाई फरक कोणबाट नियाल्ने अवसर मिल्यो। तल देखिने पहाड, हिमाली बस्ती, घुमाउरा बाटा र टाढासम्म फैलिएका हिमशृङ्खलाले यात्रालाई झन् रोमाञ्चक बनाएका थिए। छोटो समयमा विभिन्न गन्तव्य पुग्न पाउनु मेरा लागि ठूलो अवसर बन्यो। हरेक मानिसको मनमा एकपटक हिमाललाई नजिकबाट हेर्ने, त्यसको काखमा पुग्ने र सम्भव भएसम्म स्पर्श गर्ने चाहना हुँदो हो। त्यो अवसर पाउनु मेरा लागि ठूलो सौभाग्य हो।
पर्यटकको आकर्षण र हिमाली पर्यटनको सम्भावना
सगरमाथा क्षेत्र पुग्दा सबैभन्दा बढी प्रभावित बनाउने पक्षमध्ये एक पर्यटकको चहलपहल पनि हो। संसारका विभिन्न देशबाट मानिसहरू यहाँ आइपुगिरहेका छन्। कसैको गन्तव्य सगरमाथा आधार शिविर छ, कसैको गोक्यो, कसैको नाम्चे बजार त कसैको उद्देश्य हिमाली प्राकृतिक सौन्दर्यको अवलोकन गर्नु। पर्यटकको उपस्थिति हेर्दा नेपालको हिमाली पर्यटनको सम्भावना कति ठूलो छ भन्ने बुझ्न सकिन्छ। प्राकृतिक सुन्दरता मात्रै होइन, भौगोलिक विशेषता, स्थानीय संस्कृति, हिमाली जीवनशैली र पर्वतारोहणको इतिहासले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ।
यति धेरै पर्यटकलाई सेवा दिन स्थानीयले बनाएको पूर्वाधार, होटल व्यवसाय, यातायात र पर्यटनसँग जोडिएका विभिन्न सेवाले पनि ध्यान खिच्छन्। हिमाली क्षेत्रको कठिन भूगोलमा बसेर पनि स्थानीयले पर्यटनलाई आफ्नो जीविकोपार्जन र पहिचानसँग जोड्न सकेका छन्।
यो दृश्य नियाल्दा मलाई कर्णालीका डोल्पा, मुगु, हुम्लालगायतका जिल्लाको सम्झना आयो। प्राकृतिक सुन्दरता, हिमाली भूगोल र सांस्कृतिक विविधताका हिसाबले कर्णाली पनि कम आकर्षक छैन। तर पर्यटन पूर्वाधार, प्रचारप्रसार, यातायात र सेवासुविधाको विकासमा अझै धेरै काम गर्न बाँकी छ। सगरमाथा क्षेत्रमा देखिएको पर्यटकीय चहलपहलले कर्णालीका सम्भावनाबारे पनि सोच्न बाध्य बनायो।
मलाई लाग्छ, कुनै ठाउँको सुन्दरता मात्रै पर्याप्त हुँदैन। त्यसलाई पर्यटकसम्म पुर्याउने पूर्वाधार, स्थानीयको सहभागिता, सहज आवागमन र व्यवस्थित सेवासमेत आवश्यक हुन्छ। पर्यटनले स्थानीयको जीवनस्तर उकास्न र ठाउँको पहिचान विश्वभर पुर्याउन सक्छ भन्ने कुरा यहाँको गतिविधिबाट बुझ्न पाएँ।
यात्रा, सम्बन्ध र विश्वासको अर्को पाटो
म धेरै जिल्लामा पुग्ने अवसर पाएकी छु। कतिपय ठाउँमा हेलिकप्टरबाट, कतिपय ठाउँमा सडक र पैदल यात्रामार्फत। यसरी विभिन्न ठाउँमा पुग्न पाउनुको श्रेय म आफ्नो मेहनतलाई पनि दिन्छु। कामप्रतिको लगाव, निरन्तरको प्रयास र पत्रकारिताकै क्रममा बनाएको साथीभाइको सर्कलले पनि मलाई धेरै सहयोग गरेको छ।
मलाई लाग्छ, सम्बन्धको सबैभन्दा ठूलो आधार विश्वास हो। साथीभाइले गर्ने माया, विश्वास र आपसी सम्बन्धले नै नयाँ ठाउँमा पुग्ने अवसरहरू सहज बनाइदिन्छन्। म कुनै ठाउँ जाने कुरा गर्दा साथीभाइले पनि उत्तिकै आत्मीयताका साथ चासो राख्नुहुन्छ। कतिपयले त “ल, ज्योति तिमी आउँदै छौ?” भन्दै पहिल्यै सहयोगका लागि तयारी गरिदिनुहुन्छ। यस्तो माया र आत्मीयता पाउनु मेरा लागि ठूलो कुरा हो।
लुक्ला पुगेदेखि नै हुम्लाका गोविन्द लामा र फुनजोक लामाले त्यहाँ आवश्यक समन्वय र सहजीकरण गरिरहनुभएको थियो। विभिन्न हेलिप्याडमा पुग्दा कतिपय मानिसले मेरो तस्बिर देखाउँदै “फुनजोकले मेरो दिदी हुनुहुन्छ, सहयोग गरिदिनुहोला भन्नुभएको छ” भनेर चिनजान गराउँथे। अपरिचित ठाउँमा पुग्दा आफ्ना मान्छेले पहिल्यै चिनाइदिएको र सहयोगका लागि अनुरोध गरिदिएको सुन्दा आत्मीयता महसुस हुँदो रहेछ। यही विश्वास र सम्बन्धका कारण पनि मैले छोटो समयमा विभिन्न ठाउँ पुग्ने अवसर पाएँ।
विशेषगरी महिला भएर विभिन्न ठाउँमा यात्रा गर्न, पुग्न र घुम्न सधैँ सहज हुँदैन। धेरै चुनौती र पारिवारिक जिम्मेवारी पनि हुन्छन्। तर मैले अहिलेसम्म विभिन्न जिल्लामा पुगेर काम गर्ने र घुम्ने अवसर पाइरहेकी छु। यसमा मेरो परिवारको साथ सबैभन्दा महत्त्वपूर्ण छ। परिवारले मेरो काम बुझिदिएको छ, विश्वास गरेको छ र नयाँ ठाउँमा पुग्न सधैँ प्रेरित गरेको छ। पारिवारिक बन्धन र जिम्मेवारीबीच पनि आफ्नो रुचि, पेसा र सपना जोगाएर अघि बढ्नु सजिलो हुँदैन। तर परिवारको विश्वास र साथ पाएपछि धेरै कुरा सम्भव हुँदो रहेछ। त्यसैले म आफूलाई भाग्यमानी पनि ठान्छु।
विशेषगरी कैलाश हेलिकप्टर, हेलि एभरेस्ट र माउन्टेन हेलिकप्टरका सम्पूर्ण टिमप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु। काठमाडौंबाटै हेलिकप्टरमार्फत यहाँ आउने र छोटो समयमै विभिन्न पर्यटकीय गन्तव्य पुग्ने अवसर जुट्नु मेरा लागि ठूलो कुरा हो। यात्रालाई सहज बनाउन सहयोग गर्नुहुने पाइलट, कर्मचारी र समन्वयमा साथ दिनुहुने सबैप्रति विशेष सम्मान र आभार व्यक्त गर्न चाहन्छु।
अझै धेरै बाटो हिँड्नु छ, धेरै कथा लेख्नु छ
मलाई अझै धेरै ठाउँ पुग्नु छ, धेरै हिमाल हेर्नु छ, धेरै बाटो हिँड्नु छ, धेरै मानिस भेट्नु छ र धेरै कथा लेख्नु छ। मेरा कतिपय गन्तव्य पूरा भएका छन्, तर घुम्ने गन्तव्यहरूको सूची कहिल्यै सकिँदैन जस्तो लाग्छ। तुलनात्मक रूपमा धेरै ठाउँ घुम्ने अवसर पाएकी छु भन्ने महसुस हुन्छ, तर अझै हेर्न र बुझ्न बाँकी संसार धेरै छ।
मेरो बुझाइमा घुम्नु भनेको रमाइलो गर्नु मात्रै होइन। घुमेपछि देश बुझिन्छ, समाज बुझिन्छ, मानिसको जीवनशैली, भूगोल र सम्भावना बुझिन्छ। फरक ठाउँका मानिसले कसरी काम गर्छन्, कसरी जीवन बिताउँछन् र आफ्नो ठाउँलाई कसरी अगाडि बढाइरहेका छन् भन्ने कुरा पनि सिक्न पाइन्छ। पत्रकारका लागि त यात्रा आफैँमा एउटा सिकाइ हो। कुनै ठाउँमा पुग्दा त्यहाँको भूगोल मात्रै देखिँदैन, मानिसका कथा, समस्या, सम्भावना र समाजका फरक पाटासमेत देखिन्छन्।
समाचारमा पढेको एउटा ठाउँमा आफैँ पुग्दा त्यहाँको वास्तविकता बुझ्ने दृष्टिकोण फराकिलो हुँदो रहेछ। म जहाँ पुग्छु, त्यहाँका मानिस, परिवेश र अनुभवलाई नजिकबाट बुझ्ने प्रयास गर्छु। कतिपय ठाउँमा समाचारका विषय भेटिन्छन्, कतिपय ठाउँमा जीवनका नयाँ पाठ। त्यसैले मेरा लागि यात्रा र पत्रकारिता एकअर्कासँग जोडिएका विषय हुन्।
समाचारको विषयबाट आफ्नै जीवनको सुन्दर कथा
कहिलेकाहीँ जीवनमा केही दिन यस्ता आउँछन्, जसले वर्षौंदेखि मनमा सजाएका सपना पूरा गरिदिन्छन्। मेरा लागि यो यात्रा त्यस्तै बन्यो। झन्डै एक दशकदेखि पत्रकारिताका क्रममा हिमाल, पहाड, दुर्गम बस्ती, त्यहाँका मानिस र पर्यटनका विषयमा कलम चलाउँदै आएँ। तर यसपटक ती विषयलाई केवल समाचारका शब्दमा होइन, आफ्नै आँखाले देखेँ, आफ्नै अनुभूतिमा महसुस गरेँ।
अब सगरमाथा क्षेत्रबारे समाचार लेख्दा मसँग केवल सूचना र तथ्य मात्रै हुने छैनन्, आफ्नै आँखाले देखेका दृश्य, भेटेका मानिस र भोगेका अनुभव पनि हुनेछन्। समाचारमा पढेको नाम्चे बजार अब मेरा लागि सम्झनाको सुन्दर ठाउँ बनेको छ। लुक्ला केवल विमानस्थलको नाम रहेन, सपना पूरा गर्ने यात्राको प्रवेशद्वार बनेको छ। सगरमाथा केवल समाचार र पुस्तकमा पढिने नाम रहेन, मनभित्र गहिरो छाप छोडेको अनुभूति बनेको छ।
वर्षौंदेखि मनमा सजाएको सपना पूरा गर्न पाउनु, हिमालको काखमा बसेर त्यसको सुन्दरता नियाल्न पाउनु र आफूले चाहेका ठाउँमा आफ्नै पाइला टेक्न पाउनु मेरा लागि जीवनकै ठूलो खुसी र सौभाग्य हो। यो यात्राले एउटा कुरा फेरि सम्झाएको छ: सपना देख्नुपर्छ, अवसरको प्रतीक्षा गर्नुपर्छ र आफूले चाहेको गन्तव्यसम्म पुग्न निरन्तर प्रयास गरिरहनुपर्छ। सबै सपना एकैपटक पूरा नहोलान्, तर प्रयास र विश्वास कायम राख्दा कुनै दिन ती सपना वास्तविकतामा बदलिन सक्छन्।
समाचार लेख्दै देखेको सपना आज आफ्नै जीवनको सुन्दर कथा बनेको छ। अझै धेरै ठाउँ पुग्नु छ, धेरै कथा लेख्नु छ र धेरै सपना पूरा गर्नु छ।










