६ बुँदे सहमतिपछि कर्णालीको बजेट पारित

सुर्खेत ः प्रतिपक्ष नेकपासँग ६ बुँदे सहमति भएपछि कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/ ०८४ का लागि ल्याएको ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ । बजेटमा विवादित बनेका मन्त्रीका योजना तथा नेताका नाममा राखिएका प्रतिष्ठानलगायतका कार्यक्रम कार्यान्वयन नगर्ने सहमतिपछि प्रदेश सभाले विनियोजन विधेयक पारित गरेको हो ।

अर्थमन्त्री राजीवविक्रम शाहले १ असारमा प्रस्तुत गरेको बजेटमाथि कार्य विभाजन नियमावलीविपरीत योजना समावेश गरिएको, मन्त्रीहरूले आफ्नो कार्यक्षेत्रबाहिरका कार्यक्रम राखेको तथा नेताका नाममा प्रतिष्ठान स्थापना गर्न बजेट छुट्याइएको भन्दै प्रतिपक्षले विरोध जनाएको थियो ।

त्यसपछि प्रदेश सभाको बैठकसमेत प्रभावित बनेको थियो । शुक्रबार सत्तापक्ष र प्रतिपक्षबीच ६ बुँदे सहमति भएपछि बजेट पारित गर्ने बाटो खुलेको हो । सहमतिअनुसार कार्य विभाजन नियमावलीविपरीत समावेश भएका मन्त्रीका योजना, नेताका नाममा राखिएका प्रतिष्ठान तथा विवादित कार्यक्रम कार्यान्वयन नगरिने भएको छ ।

पारित बजेटअनुसार चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार रुपैयाँ ९२४.३१ र पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ ९५५.३१ विनियोजन गरिएको छ । बाँकी रकम वित्तीय व्यवस्थापन तथा अन्य शीर्षकमा छुट्याइएको छ ।





error: Content is protected !!