दुनै कारागारबाट आठ कैदी फरार प्रकरण – छानबिन गर्न तीन सदस्यीय समिति गठन

सुर्खेत ः डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। कारागारभित्र कैदीबन्दीले सुरुङ खनेर भाग्दासमेत सुरक्षाकर्मीले जानकारी नपाएको विषयलाई गम्भीर रूपमा लिँदै प्रहरीले छानबिन समिति गठन गरेको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रशासन कार्यालय डोल्पाका एक जना प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन्।
समितिलाई कैदीबन्दी फरार भएको घटनाको वास्तविकता पत्ता लगाउने जिम्मेवारी दिइएको छ। विशेषगरी कैदीबन्दीले कसरी सुरुङ खने, सुरुङ खन्न प्रयोग गरिएको रडलगायतका सामग्री कहाँबाट ल्याए, पर्खाल भत्काउँदासमेत सुरक्षाकर्मीले किन जानकारी पाएनन् र कारागारको सुरक्षा निगरानीमा कहाँ कमजोरी भयो भन्ने विषयमा समितिले छानबिन गर्नेछ।
समितिले प्रतिवेदन दिएपछि मात्रै कैदीबन्दी कसरी फरार हुन सफल भए भन्ने विषय स्पष्ट हुने डीएसपी गिरीले बताए।
‘पर्खाल नै भत्काएर सुरुङ खनेर भागेको देखिन्छ। हामी अनुसन्धान गरिरहेका छौँ,’ डीएसपी गिरीले भने।
उनका अनुसार घटना १३ कात्तिकको राति भएको हो। आफूलाई भने १४ कात्तिकको बिहान मात्रै घटनाबारे जानकारी प्राप्त भएको उनले बताए।
सुरक्षा निगरानीमै प्रश्न
चौबिसै घण्टा सुरक्षाकर्मीको निगरानीमा रहने कारागारबाट एकैपटक आठ जना कैदीबन्दी सुरुङ खनेर फरार हुनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
कैदीबन्दीले जमिनमुनि सुरुङ खन्ने काम कहिलेदेखि सुरु गरेका थिए ? सुरुङ खन्न प्रयोग गरिएको रड कसरी जुटाए ? सुरक्षाकर्मीको आँखा छल्दै पर्खाल भत्काएर बाहिर निस्कँदासमेत किन जानकारी पाएनन् ? अहिले यी प्रश्नको जवाफ खोज्नुपर्ने अवस्था छ।
प्रहरीका अनुसार राति १० बजेसम्म कैदीबन्दी सामान्य अवस्थामै बसेका थिए। त्यसपछि भने सुरुङ खन्न सुरु गरेको पाइएको छ। उनीहरूले सुरुङ खन्न रड प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।
१७ मध्ये आठ जना फरार
घटनाका बेला दुनैस्थित जिल्ला कारागारमा १७ जना कैदीबन्दी थिए। तीमध्ये आठ जना सुरुङ खनेर फरार भएका हुन्।
फरार हुनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक रहेका छन्।
त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी, आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का ३२ वर्षीय निशान भनिने अदेश भण्डारी पनि फरार भएका छन्।
अहिलेसम्म आठै जना फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको डीएसपी गिरीले बताए।
छानबिन समितिले घटनाको कारण र सुरक्षा व्यवस्थामा भएको कमजोरी पहिचान गरेपछि मात्रै कारागारभित्रैबाट आठ जना कैदीबन्दी कसरी फरार हुन सफल भए भन्ने विषयको वास्तविकता बाहिर आउनेछ।










