कर्णाली नदीमा खसेको गाडीका पाँच जना सवारको पहिचान

सुर्खेत  , १९ असार ः दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङगेतरा क्षेत्रमा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको पहिचान खुलेको छ। दुर्घटनामा एक जनाको शव फेला परेको छ भने अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

Screenshot

प्रहरीका अनुसार बिहीबार दिउसो सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय नागरिकको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ। कर्णाली नदीको तीव्र बहावलाई मध्यनजर गर्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वयात्मक रूपमा खोजी कार्य सञ्चालन भइरहेको छ।

प्रारम्भिक अनुसन्धान, घटनास्थलबाट प्राप्त मोबाइल तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालकसहित पाँच जना सवार रहेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूमा चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी (दुवै पञ्चपुरी नगरपालिका–८, सुर्खेत), सिजन खड्का (रास्कोट नगरपालिका–२, कालिकोट), मेखे तिखा र जेखे तिखा (दुवै पचालझरना गाउँपालिका–१, कालिकोट) रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायले जानकारी दिनुभयो ।

दुर्घटनामा मृत्यु भएका जेखे तिखाको शव आफन्तले सनाखत गरिसकेको प्रहरीले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ।

गाडीमा अन्य यात्रु पनि सवार थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साथै सम्भावित स्थान, नदी किनार तथा आसपासका क्षेत्रमा खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
हेमन्त केसी





error: Content is protected !!