दैलेख दुर्घटना ः अचेत अवस्थामा एकको उद्धार, गुहारियो एपीएफको गोताखोर

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरबाट कालीकोटको रास्कोट जाँदै गरेको कर्णाली प्रदेश २००१ ख १००५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका- ७ सांगेतडा चिसापानी बाट कर्णाली नदीमा खसेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार बुलबुले यातायात प्रालिको गाडी कर्णाली राजमार्गबाट झन्डै ४ सय मिटर तलको कर्णाली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका दैलेखका प्रमुख डीएसपी श्रवणकुमार विकले भीरमा अचेत अवस्थामा रहेका यात्रुलाई उद्धार गरिएको बताए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार सुर्खेत बसपार्कबाट बिहीबार बिहान ८ बजे छुटेको गाडीमा बसपार्कबाट ५ जना यात्रुहरू चढेका थिए । ‘बाटोमा पनि केही यात्रु चढेको जानकारी पाइयो,’ उनले भने, ‘गाडी नदीमा डुबेको अवस्थामा छ । उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोरलाई पनि खबर गरेका छौं ।’
उनका अनुसार यात्रुहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय दैलेखलगायत आसपासका प्रहरी इकाईबाट प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटासहितको टोली पनि जाँदै गरेको उनले जानकारी दिए ।







