जाजरकोटका ४ ओटा पालिकाहरूमा बुढानीलकण्ठ नगरपालिकाको अन्तरपालिका शैक्षिक सहकार्य कार्यक्रम सम्पन्न

जाजरकोट / बुढानीलकण्ठ नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत शिक्षा, युवा तथा खेलकूद महाशाखामार्फत् जाजरकोटस्थित कुशे गाउँपालिका, बारेकोट गाउँपालिका,भेरी नगरपालिका र छेडागाढ नगरपालिकामा अन्तरपालिका सहकार्य : शैक्षिक सुधारका लागि अपरिहार्यकार्यक्रम सम्पन्न गरिएको छ ।
जाजरकोट जिल्लाका स्थानीय तहहरूको शैक्षिक सुधारका लागि आयोजना गरिएको कार्यक्रममा शैक्षिक क्षेत्रमा देखिएका समस्याहरूको पहिचान तथा सुधारका सम्भावित विकल्पहरूमा छलफल भएको छ । वैशाख १० गते कुशे गाउँपालिका भार्मामा गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको उपस्थितिमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । त्यस्तै वैशाख ११ गते बारेकोट गाउँपालिकाको लिम्सामा गाउँपालिका अध्यक्ष वीर बहादुर गिरीको उपस्थितिमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग हालको शैक्षिक अवस्था तथा शैक्षिक सुधारका लागि आगामी दिनमा अबलम्बन गर्नुपर्ने विषयहरूमा छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो भने शुक्रबार साँझ नै भेरी नगरपालिकामा नगर प्रमुख चन्द्र प्रकाश घर्तीको विशेष उपस्थितिमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमलाई निरन्तरता दिदैवैशाख १२ गते शनिबार बिहान ११:०० बजेदेखि छेडागाड नगरपालिकामा शैक्षिक सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री वितरण गरिएको छ ।
अन्तरपालिका सहकार्य कार्यक्रम अन्तरगत ४ ओटै पालिकाको मुकाममा प्रधानाध्यापकहरुसँग शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी शैक्षिक सत्र २०८३ लाई शैक्षिक सुधार, विकास र उन्नयनको बर्षका रुपमा कार्यन्वयन गर्न सामूहिक प्रतिबद्धता गरिएको छ ।विद्यालय खुल्ने दिन, पठनपाठन हुने दिन वृद्धि गर्दै परीक्षा र मूल्यांकनलाई शिक्षण सिकाइको सुधारका माद्यमका रुपमा उपयोग गर्न यसलाई मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवालाहरुले ऐक्यबद्धता जाहेर गरेका छन् । अन्तरक्रिया कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका अधिकृत सुरेश चौलागाई र उपसचिब ललित बिक्रम सिंहबाट बुढानीलकण्ठ नगरपालिका असल शैक्षिक अभ्यासहरुको प्रस्तुतीकरण गरिएको थियो।
चार ओटै पालिका र कक्षा १२ का केन्द्राध्यक्षहरु समेतलाई गरी शिक्षक व्याग १८०, विद्यार्थी ब्याग ४८० शिक्षक डायरी १०० थान विद्यार्थी डायरी २४०० थान कपी ३२०० थान बल्ब पेन २४०० थान क्यालेण्डर ४५० थान वितरण गरिएको छ । उक्त सामग्रीहरु प्रत्येक पालिकाबाट २।२ ओटाका दरले विद्यालय छनौट गरी ४ ओटा पालिकाका ८ ओटा विद्यालयमा सघन रुपमा कार्यक्रम लागु गरिने कार्यक्रम रहेको बताइएको छ । ८ ओटा विद्यालयका शिक्षकको पेसागत विकास र विद्यालयमा प्रविधिको विकास र उपयोग गरी शिक्षण सिकाइमा गुणस्तर अभिवृद्धिमा टेवा पुर्याउने सोच यस अन्तरपालिका सहकार्य कार्यक्रमले लिएको देखिन्छ ।
बुढानीलकण्ठ नगरपालिका र जाजरकोट जिल्लाका कुशे गाउँपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकाबिच मिति २०८१ चैत्र २८ गते नगर प्रमुख श्री मिठाराम अधिकारी, नगर उपप्रमुख श्री अनिता लामा, शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह र स्रोतव्यक्ति श्री जय कुमार श्रेष्ठ स्वंयम् उपस्थित भई भेरी नगरपालिका जाजजरकोटको हलमा ४ ओटै स्थानीय तहका जनप्रतिनिधि र शिक्षा शाखाका कर्मचारीबिच अन्तरक्रिया समेत गरी सम्पन्न भएको अन्तरपालिका सहकार्य सम्झौता अनुरुप यस वर्षपनी अन्तरपालिका शैक्षिक साझेदारी कार्यक्रमलार्इ निरन्तरता दिइएको छ।
नेपालको राजधानी स्थित बुढानीलकण्ठ नगरपालिकाले २०८० कार्तिक १७ गतेको विनासकारी भूकम्पबाट आहत भएको जाजरकोटलाई शैक्षिक सहयोग मार्फत राहत पुर्याएकोमा जाजरकोटका स्थानीय तहका जनप्रतिनिधि र शैक्षिक सरोकारवालाहरुले कृतज्ञता जाहेर गरेका छन् । साथै बुढानीलकण्ठ नगरपालिकाले अबलम्बन गर्दै आएका असल शैक्षिक अभ्यासहरुलाई जाजरकोटका स्थानीय तहहरुमा पनि स्थानान्तरण गर्ने एकिकृत शैक्षिक क्यालेण्डरर शिक्षक विद्यार्थी डायरी कार्यान्वयन गरी शैक्षिक स्तरवृद्धि गर्ने शैक्षिक सहकार्यलाई वडा विद्यालय प्रधानाध्यापक शिक्षक अभिभावक र विद्यार्थीको तहमा समेत विस्तार गरी एक अर्काका सिकाइ र अनुभब आदानप्रदान गरी पारस्परिक सहकार्य र साझेदारीमा शिक्षालाई समृद्ध र गुणस्तरीय बनाउने प्रतिबद्धता र अपेक्षा समेत जाजरकोट स्थित बारेकोट गाउँपालिका कुशे गाउँपालिका भेरी नगरपालिका र छेडागाढ नगरपालिका जनप्रतिनिधि र प्रधानाध्यापकले व्यक्त गरेका छन् ।










