चिकित्सक अभावले अस्पतालमा शल्यक्रिया सेवा बन्द

सल्यान  ः सल्यानको जिल्ला अस्पतालमा चैत २८ देखि शल्यक्रिया सेवा ठप्प भएको छ ।स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरले जटिल अवस्था भएका तथा मिति नाघेका गर्भवतीलाई जिल्ला बाहिर सिफारिस गर्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो , “ एमडीजीपी चिकित्सक हालसम्म व्यवस्थापन हुन सकेको छैन । अस्पतालमा कार्यरत एमडीजीपी डा. बुद्धिनाथ साह बिरामी भएर उपचाररत रहनु तथा तालिमप्राप्त मेडिकल अधिकृत उच्च शिक्षा अध्ययन गर्न जानुभएको छ । ”
शल्यक्रिया लागि आउने बिरामीहरू दाङ, सुर्खेत र नेपालगन्ज सिफारिस गर्नुपर्ने बाध्यता आएको उहाँले जानकारी दिनुभयो । जटिल अवस्थाका गर्भवती महिलाका लागि यो अवस्था थप जोखिमपूर्ण बनेको छ ।

अस्पतालमा प्रत्येक महिना एक सयभन्दा बढी महिला सुत्केरी हुने गरेको उहाँले जानकारी दिनुभयो । एमडीजीपी चिकित्सकको अभावबारे सङ्घ र प्रदेश सरकारलाई जानकारी गराएर माग गरिएको भए पनि हालसम्म व्यवस्थापन हुन नसकेको बताउनुभयो ।





error: Content is protected !!