हुम्लाको एउटै विद्यालयमा चार जोडी जुम्ल्याहा दिदीबहिनी

हुम्ला ः हिमाली जिल्ला हुम्लाको एक माध्यमिक विद्यालयमा चार जोडी जुम्ल्याहा दिदीबहिनीले एकैसाथ अध्ययन गरिरहेका पाइएको छ । सदरमुकाम सिमिकोटस्थित बालमन्दिर माध्यमिक विद्यालयमा चार जोडी जुम्ल्याहा दिदीबहिनीले अध्ययन गरिरहेका हुन् ।

विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाका अनुसार चालु शैक्षिक सत्रमा कक्षा ७ देखि १० सम्म चार जोडी जुम्ल्याहा दिदीबहिनी अध्ययनरत रहेका छन् । ूएउटै विद्यालयमा यसरी चार जोडी जुम्ल्याहा दिदीबहिनी हुनु हाम्रा लागि पनि सुखद संयोग हो,ू प्रधानाध्यापक रोकायाले भन्नुभयो ।

विद्यालयको तथ्याङ्क अनुसार सिमिकोट गाउँपालिका–५ निवासी १३ वर्षीया पुष्पा बोहरा र अञ्जली बोहरा कक्षा ७ मा अध्ययनरत छन् । उनीहरू पढाइमा जेहेन्दार हुनुका साथै घरमा पनि मिलेर बस्ने गरेको बुवा धर्मराज बोहराले जानकारी दिनुभयो ।

त्यसैगरी सिमिकोट–५ कै आकृति रावत र स्मृति रावत क्रमशः कक्षा ८ र ९ मा अध्ययनरत छन् । उनीहरू दुवै जना १४ वर्षका भए । सिमिकोट–१ दोजाम गाउँका हिसी आङ्मु लामा र सोनाम डोल्मा लामाले पनि सोही विद्यालयको कक्षा ९ मा अध्ययन गरिरहेका छन् ।

यस्तै सिमिकोट–२ का एलिना भण्डारी र एलिसा भण्डारी कक्षा १० मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

यी चार जोडीमध्ये चार जनाको पढाइ स्तर उत्तम र बाँकी चार जनाको मध्यम रहेको प्रधानाध्यापक रोकायाले बताउनुभयो । उनीहरू सबै लगनशील र अध्ययनशील रहेका छन् । विद्यालयका शिक्षक राकेश बोहराका अनुसार यी जुम्ल्याहा दिदीबहिनीहरूको उचाइ समान हुनुका साथै स्वभाव निकै मिलनसार छ । उनीहरू आपसमा मात्र नभई विद्यालयका अन्य विद्यार्थीहरूसँग पनि उत्तिकै घुलमिल हुने गरेका छन् ।





error: Content is protected !!