उपल्लो डोल्पाको ल्यासीक्याप–सिसौल सडक सेनालाई -भेरी कोरिडोरमा पुल ,सडकको भाका सकियो तर कामै भएन

हेमन्त केसी
जाजरकोट , ३ चैत ः भेरी कोरिडोर सडक योजना अन्तरर्गत उपल्लो डोल्पाको ल्यासीक्याप –सिसौल खण्डको ३५ किलोमिटर सडक नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिइएको छ । मङ्गलवार बसेको मन्त्रीपरिषद्को बैठकले यो सडक खण्डको निर्माण गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय भएको भौतिक पूर्वाधार मन्त्री माधव प्रसाद चौलागाइँले जानकारी दिए । कडा भूगोल भएका कारण सेनालाई जिम्मेवारी दिएर काम गराउने विषयमा नेपाली सेनाबाट सहमति आएकाले निर्णय गरेको उनले जानकारी दिए ।
भेरी करिडोरलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न २०६५ सालदेखि काम सुरु भए पनि हालसम्म डोल्पाको सदरमुकामबाहेक अन्य सडक विस्तार हुन सकेको छैन । भेरी करिडोरअन्र्तगत पर्ने डोल्पाको सदरमुकाम दुनैदेखि ल्यासीक्याप र ल्यासीक्याप–सिसौल सडक खण्ड निर्माण नभएपछि कोरिडोर अलपत्र जस्तै भएको छ । पुलविहीन अवस्थामा २०७५ मंसिरमा डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो ।

दुनैदेखि सिसौलसम्मको सडक निर्माणको काम वर्षौँदेखि अन्योलमा परेको छ । कोरिडोर अन्तर्गत पर्ने ल्यासीक्याप–सिसौलको ३५ किलोमिटर ट्रयाक खुलाउन बाँकी छ । ल्यासीक्याप–सिसौल खण्ड हाल गोरेटोमा सीमित छ । उक्त खण्ड भीरपहरायुक्त भएकाले नेपाली सेनालाई जिम्मा दिन यहाँका जनप्रतिनिधिले वर्षौँदेखि पहल गर्दै आएका थिए । सरकारले उक्त सडक खण्ड सेनालाई दिने निर्णय गरेपछि अब कामले तीव्रता पाउने अपेक्षा लिइएको छ ।
‘यो खण्ड लामो समयदेखि सेनालाई जिम्मा दिन प्रयास भइरहेको थियो । , मन्त्रिपरिषद्को निर्णय नहुँदा सेनाले जिम्मा लिन सकेको थिएन,’ आइतबार निर्णय भएपछि कामले तीव्रता पाउने भएको छ । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले जानकारी दिए ।
भेरी कोरिडोर कार्यालय जाजरकोटका प्रमुख नरेश कुमार केसीले भने अपुरा कामहरू निर्माण व्यवसायीले पुरा गर्ने समय पुरा भए पनि परिणाम नदेखिएका कारण ठेक्का तोडनुको विकल्प नभएको बताए । पूर्व मन्त्री बुढाका अनुसार ल्यासीक्यापदेखि सिसौलसम्मको सडकको ट्रयाक खुलाउने जिम्मा सेनालाई दिन धेरै पहल गरे पनि बल्ल सुनुवाइ भएको बताए । यो खण्डको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन पास गर्न पाँच वर्ष लाग्यो । धेरै पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि कतै सुनुवाइ भएन उनले भने । मोरिम्ला–तिन्जे धो हुँदै सिसौलसम्म ४० किलोमिटरको यसअघि नै ट्रयाक खुलिसकेको छ ।
भेरी कोरिडोर कार्यालय जाजरकोटका अनुसार सुर्खेतको छिन्चुदेखि डोल्पाको मोरिम्ला नाकासम्म भेरी करिडोरअन्तर्गत पर्छ । छिन्चु–मोरिम्लासम्मको सडकको कुल लम्बाइ ३१७ किलोमिटर छ । जाजरकोटको पासागार्डदेखि दुनैसम्मको लम्बाइ ११८ किलोमिटर छ । सदरमुकाम दुनैदेखि काइके गाउँपालिका अन्तर्गत ल्यासीक्यापसम्मको २५ किलोमिटर सडक समेत ठेक्का लागेको लामो समय सम्मा परिणाम सन्तोषजनक नभएको पाइएको छ ।
उक्त खण्ड भेरी कोरिडोर कार्यालयको ११ करोड बजेटबाट निर्माण भइरहेको छ । तर, काम भने सुस्त गतिमा भइरहेको काइके गाउँपालिकाका स्थानीयले गुनासो गरे । कहिले जग्गा विवाद त कहिले बर्खामा काम गर्न नसकिएको बहाना बनाउँदै काममा ढिलाइ गरेको स्थानीयको गुनासो छ । सूर्य÷श्रेया÷शान्ति जेभी कन्ट्रक्सनले चार वर्षभित्र निर्माण सक्ने जिम्मा लिएको थियो । हाल म्याद पुरा भइसकेको छ ।
उक्त खण्डमा २२ प्रतिशत पनि काम भएको छैन । कर्णाली प्रदेशमा सञ्चालित भेरी कोरिडोर रणनीतिक महत्वको आयोजना हो । यो सडकले चीन र भारतलाई जोड्ने भएकाले व्यापारिक हिसाबले पनि महत्त्वपूर्ण रहेको छ ।
यो सडकले पूर्णता पाए डोल्पाको उत्पादनले सहजै बजार पाउने र पर्यटकीय गतिविधिले बढेर स्थानीयको आम्दानीको बाटो खुल्ने छ । फोक्सुन्डो ताल, जगदुल्ला ताल, सुलिगार्ड झरना, छार्का भोट, बाला त्रिपुरासुन्दरी मन्दिरमा पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा स्थानीयको छ । भेरी करिडोरले पूर्णता नपाउँदा उपल्लो डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुन्डो, छार्काताङ्सोङ गरेर तीन वटा स्थानीय तहका बासिन्दा आधारभूत सेवाबाटै वञ्चित छन् ।
सडक नपुग्दा साता दिन हिँडेर सदरमुकाम झर्नुपर्ने बाध्यता छ । उनीहरू शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, सञ्चारलगायतका आधारभूत सेवाबाट वञ्चित हुनुपरेको हो । सडक नपुगेकै कारण उपल्लो डोल्पालीले स्वास्थ्य उपचारका सबैभन्दा धेरै समस्या खेप्नुपरेको डोल्पो बुद्ध गाउँपालिकाका युवा पेम्मा छेवाङ गुरुङले बताए ।
जिल्ला सदरमुकाम दुनैसम्म सडक पुगेको वर्षौं भयो । तर, उपल्लो डोल्पासम्म सडक निर्माण गर्ने कुनै सुरसार छैन । जसले गर्दा उपचारमै उपल्लो डोल्पाली लाखौँ खर्च गर्नुपरेको उनले दुखेको पोखे । दुर्घटना र आकस्मिक घटनामा हेलिकोप्टर चार्टर गर्न चर्को ब्याजमा ऋण निकाल्नु पर्दा धेरैको घरखेत समेत बेचिने गरेको उनले पीडा सुनाए ।
भेरी कोरिडोरमा छ वर्षदेखि पाँच पुल अलपत्र, १४ वटाको ठेक्का नै लागेन
सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा सडक खण्डको ११८ किलोमिटर मध्य १०३ किलोमिटर सडकको ट्र्याक ओपन गरेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण गरेको थियो । सडक हस्तान्तरण गरेको सात वर्षपछि यो सडक खण्डको ५६ किलोमिटर कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ ।
तर यही सडक खण्डमा छ वर्षदेखि पाँच वटा मोटरेवल पुल अलपत्र पर्दै आएका छन् । हाल यो सडक खण्डको नामाकरण भेरी कोरिडोर सडक योजना राखिएको छ । यो करिडोरको कुल लम्बाइ ३१० किलोमिटर रहेको छ । जाजरकोट खलंगाको पासागाडदेखि नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्रको काम यत्ति बिल्ड्रसमार्फत भइरहेको छ ।
सुर्खेतबाट डोल्पाको अन्तिम विन्दु अर्थात् नेपालको चीनको सीमाना मरिमसम्म ३१० किलोमिटर रहेको भेरी कोरिडोर सडक योजना हाल जाजरकोटको अन्तिम विन्दु तल्लुसम्म काम भइरहेको छ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पाको अन्तिम विन्दु मरिम अर्थात् चीनको सिमानासम्म पुगेर यो सडक पूरा हुन्छ । भारत, नेपाल र चीन जोड्ने सबै भन्दा छोटो रुटका रूपमा रहेको योजना प्रमुख केसीले बताए ।
कहाँ कहाँ अलपत्र छन् त पुल ?
भेरी कोरिडोरमा (जाजरकोट–डोल्पा) छ वर्षदेखि अलपत्र परेका पुल कहिले निर्माण हुने हो कुनै अत्तोपत्तो छैन । छ वर्ष अगाडी लागेको मोटरवेल पुलको ठेक्काको काम जिरो प्रतिशतसमेत नहुँदा यस क्षेत्रका नेताले आलोचित हुनुपरेको छ । सबै पुलहरु क्याराभान हिराचन जेभीले लिएको छ ।
भेरी कोरिडोर जाजरकोट–डोल्पाको दुनै सडक खण्डको ११८ किलोमिटर सडक खण्डको ५६ किलोमिटरभित्र सडक कालोपत्रको काम यत्ति विल्डर्सले अन्तिम चरणमा पु¥याएपछि सँगसँगै लागेको पुलको ठेक्का भने कुनै काम नभएको अवस्थामा रहेको छ । समयमै काम भइदिएको भए हालसम्म पुलमा निर्वाद रूपमा गाडी गुडिसकेका हुन्थे । योजना प्रमुख केसरीका अनुसार निर्माणले काम नगर्ने मनसाय देखिएको छ ।
उक्त क्याराभान हिराचन जेभिले २०७७ माघ २ गते जाजरकोटको नलगाड नगरपालिकाको नलगाड खोला, झुर्मेखोलाको पक्की पुलको ठेक्का लिएको थियो । यो १८ करोड ४३ लाख ४३ हजारमा ठेक्का लिइएको थियो । त्यस्तै उक्त जेभीले २०७७ माघ २ मै भेरी करिडोरकै जाजरकोटको नलगाड नगरपालिका–९ को त्रात्रखोला, वडा–८ को मैदेखोला, वडा–११ को ताक्सुगाड चौखामा ठेक्का लिएको थियो । यो दोस्रो ठेक्का १३ करोड ५४ लाख रुपैयाँमा यो ठेक्को सम्झौता भएको थियो ।
त्यस्तै नलगाड नगरपालिका–१२ को तल्लुस्थित भेरी नदिको पुल र डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडको पुल निर्माण कार्य सुरु भएको छ । खदाङको पुल विवादका कारण अझै सुरु हुन सकेको छैन । एयपी एमआरपी पुलचोक जेभीले चितवनले ठेक्का लिएको छ । रुकुम पश्चिमको आठबीसकोटको पिपलचौरस्थित छहरे खोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुलको काम ९५ प्रतिशत पूरा भएको छ ।
हाल नेपालगन्ज, सुर्खेत तथा काठमाडौँबाट सिधै डोल्पाको सदरमुकाममा यातायातका साधन पुग्ने गरेका छन् । जाजरकोटको तल्लुसम्म कालोपत्र गरेको सडकमा र बाँकी रुकुम पश्चिम हुँदै डोल्पाको सदरमुकामसम्म नेपाली सेनाले निर्माण गरेको कच्ची सडकमा गुड्दै डोल्पाको सदरमुकाम दुनैसम्म यातायातका साधन पुग्ने गर्छन् । ६२ किलोमिटर अर्थात् तल्लुदेखि डोल्पाको सदरमुकामसम्म असाध्य जोखिमपूर्ण रहेको बाटोमा यात्रा गर्नु परेको यातायात व्यावसायीहरु बताउँछन् ।
१४ पुलको डिजाइन पास भई योजना आयोगमा फाइल अडकियो
यही सडक खण्डको जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म १४ वटा पुल निर्माण गर्नुपर्ने योजना प्रमुख केसरीले बताए । स्रोत सुनिश्चित लागि फाइल पठाएपनि स्वीकृत योजना आयोगमा गएर फाइल अडिकएको छ ।
भेरी कोरिडोर जाजरकोट–डोल्पा सडक खण्डको ठेक्का खोल्नका लागि १४ वटा पुलको डिजाइन स्टमेट सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतबाट स्वीकृत भएर राष्ट्रिय योजना आयोग सम्मा पुगेको छ । भेरी कोरिडोर भित्रका फूलबारी खोला पुल, चिसापानी खोला पुल, खहरे खोला, घट्टे खोला, मनका खोला, रिजिगार, उसुम खोला, कर्पगाड, खदाङ, खदाङभेरी पुल, चुँगाड, त्रिपुराकोट, गल्लीगाड, खोरखोलाको ठेक्का हुन बाँकी रहेको हो ।
कालोपत्र गर्नका लागि ६२ किलोमिटरमा नयाँ ठेक्का
जाजरकोटको तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्मको सडकमा कालोपत्र गर्नका लागि ठेक्का लागिसकेको छ । ७४ करोडमा क्याब निर्माण, जावलाखेलले ठेक्का पाएको छ । ४२ किलोमिटर सडकमा कालोपत्र गर्नका लागि ठेक्का लागेको हो । बाँकी छलगाडबाट मरिमसम्म १२० किलोमिटर सडक रहेको छ । ४२ किलोमिटर कालोपत्र गर्नका लागि गत असोज २ गते सम्झौता भएको छ भने २०८५ असोज १ गते काम सम्पन्न गर्नुपर्ने अन्तिम मिति रहेको छ ।
दुनै–लासिक्याप खण्ड सडक निर्माणमा ढिलाइ
भेरी करिडोरकै डोल्पाको सदमुकाम दुनै–लासिक्याप खण्डमा ठेक्काको म्याद सकिन लाग्दासम्म लाग्दा २२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । दुनै–लासिक्याप खण्डमा काम नहुँदा सोभन्दा माथिको सडक निर्माणमा बाधा पुगेको योजना प्रमुख केसरीले बताए । डोल्पाको सदरमुकामबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटरमध्ये २५ किमी कच्ची सडक कटान गर्नुपर्ने छ ।
माथिल्लो डोल्पाको भागमा पर्ने लासिक्याप–मरिम ७५ किमिमध्ये नेपाली सेनाले ४० किमी कटानको काम गरिसकेको छ । ‘दुनै–लासिक्याप खण्ड निर्माण सम्पन्न गर्न सूर्य–श्रेया–शान्ति देवी जेभीको म्याद विसं २०८२ पुस १६ गते म्याद पुरा भइसकेको छ । विसं २०७८ चैत १७ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तल्लो सडक निर्माण नगरी माथिल्लो खण्ड निर्माणमा सेनाले आवश्यक उपकरण लिन नसक्ने भएकाले तल्लो खण्डको काम छिटो सक्न दबाब समेत परेको छ ।
कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोरअन्तर्गतका जाजरकोट–डोल्पा सडक निर्माण विसं २०६५ मा सुरु गरेको थियो । ट्रयाक खुलेसँगै सेनाले ११८ किमी सडक विसं २०७६ मा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । सडक समयमा निर्माण नहुँदा आफूहरूलाई सदरमुकामसम्म पुग्न पनि समस्या भइरहेको काइके गाउँपालिकाका अध्यक्ष अंकद रानाले बताए ।










