मृतक विकको पोष्टमार्टम रिर्पोट सार्वजनिक ः जबरजस्ती करणीका कारण मृतकको संवेदनशील अंग च्यातिएको भनाई

सुर्खेत ः गुर्भाकोट–६, बडाखोली स्थायी घर वीरेन्द्रनगर–१ मा बस्दै आउनु भएकी १६ वर्षीय बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिर्पोटका साथै पक्राउ परेका व्यक्तिहरुसँगको बयानका आधारमा विकको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।
फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत फेला परेकी विकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । प्रहरीले घटनामा संलग्न रहेको भन्दै चारजनालाई पक्राउ गरेर अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयो । कर्णाली प्रदेश अस्पताल, कालागाउँका तीन जना चिकित्सक सहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले बुधबार बेलुकी पोस्टमार्टम रिपोर्ट तयार पानुभएको थियो ।
जबरजस्ती करणीका कारण मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको डा. शाक्यले जानकारी दिनुभयो । उक्त घटनाको निष्पक्ष छानबिन गर्न र हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।










