गुरु–चेलाको भिडन्तमा हारे जनार्दन, रुकुम पश्चिममा तेस्रो स्थानमा खुम्चिए

सुर्खेत ः कर्णालीको रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल शर्मा विजयी भएका छन्। गोपालले २१ हजार ६०९ मत ल्याएर सांसदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरे।
यस्तै, नेकपाका उम्मेदवार गोपालसँग मुख्य प्रतिस्पर्धी मानिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा भने तेस्रोमा खुम्चिए। जनार्दनले १४ हजार ३४६ मत मात्रै प्राप्त गरे। रास्वपाका उम्मेदवार मानबहादुर शाहीले ४ हजार ७६ मत प्राप्त गरे।
तत्कालीन नेकपा माओवादी केन्द्रको गढ मानिएको रूकुम पश्चिम यतिबेला दुई धारमा विभाजित बनेपछि जनार्दन आफ्नै चेलासँग पछारिन पुगेका हुन्।
नेकपा एमालेसँग चुनावी तालमेल गरेर चुनावमा होमिएका उनले सोचेजस्तो नतिजा ल्याउन सकेनन्।
जनार्दन तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विघटन गरेर नेकपा बनाएपछि त्यसको विपक्षमा उभिएका थिए।
तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका शर्माले छुट्टै पार्टी दर्ता गरी निर्वाचनमा होमिए। तर, उनको गृहजिल्लामै हार व्यहोर्नुपरेको छ।
भत्कियो पकड
जनार्दनले १४ वर्षको उमेरमा २०३४ सालमा तत्कालीन कम्युनिस्ट पार्टी चौमको सदस्यता लिएर राजनीतिमा होमिएका थिए।
२०४६ मा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४७ मा तत्कालीन संयुक्त जनमोर्चाबाट रुकुम–२ मा प्रतिस्पर्धा गरेका शर्मा नेपाली कांग्रेसका गोपालजीजंग शाहसँग पराजित भए।
२०५२ देखि सुरु भएको माओवादी सशस्त्र युद्धमा सुरुवातदेखि नै सहभागी शर्मा माओवादी सेनाका ४ जना डेपुटी कमान्डरमध्ये एक थिए।
त्यसपछि २०६४ पछिका सबै निर्वाचनका प्रतिस्पर्धी बनेका उनी ०६४ को पहिलो संविधानसभा निर्वाचनमा २२ हजार ५ हजार ७५ मतका साथ विजयी भए।
उनले ०७० को निर्वाचनमा ३० हजार २ हजार ७० मत प्राप्त गरेका थिए भने ०७४ को निर्वाचनमा ३४ हजार ४ सय २ मतसहित विजय हासिल गरेका थिए।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र माओवादीबीच भएको गठनबन्धनका उम्मेदवार उनै शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरेका थिए।
६० हजार ५६२ मत खसेको मतमा शर्माको पक्षमा ३९ हजार ५४९ मत आयो भने एमालेका देवकोटाको पक्षमा १२ हजार ९६१ मत पाए।
जिल्लाबाट ह्याट्रिक गरिसकेका शर्मालाई यस पटक उनकै पूर्वलडाकु गोपाल शर्मा अर्थात् चेलासँग पराजित हुन पुगेका छन्।
राजनीतिक गुरु जनार्दन ‘प्रभाकर’सँग नेकपाबाट प्रतिस्पर्धामा उत्रिएर जित हासिल गरेका गोपाल ०७४ सालको निर्वाचनमा प्रदेशसभा सांसद निर्वाचित भएका शर्मा कर्णाली प्रदेश सरकारमा अर्थमन्त्री बनेका थिए।










