१८ वर्षपछि ‘ब्यालेट’मा फर्किएका प्रकाण्डको लज्जास्पद हार ः भन्थे , कालिकोटमा प्रचण्ड नै आए पनि चुनाव जित्छु

पंखबहादुर शाही
सुर्खेत ः विप्लव नेतृत्वको माओवादी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को एउटा भिडियो सामाजिक सञ्जालमा चर्चामा छ— सबै संसदवादी दलहरू एक भए पनि र प्रचण्ड नै कालिकोटमा चुनाव लड्न आए पनि म चुनाव जित्छु ।
चुनाव हुनुभन्दा अगाडि नै सार्वजनिक उक्त भिडियोमा उनी ‘कन्फिडेन्ट’का साथ कालिकोटमा चुनाव जित्ने दावी गरिरहेका थिए ।
उनी सोही अनुसार, १८ वर्षपछि ‘ब्यालेट’ मा फर्किए । गुलाफको फुल चुनाव चिन्ह लिएर बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका प्रकाण्डले निर्वाचन अवधिभर जबरजस्त माहौल पनि तताए ।
यद्यपि शुक्रबार सम्पन्न मतगणनाको अन्तिम नतिजा आउँदा उनको लज्जास्पद हार भएको छ । उनी पहिलोको प्रतिस्पर्धामा त आउन सकेनन्, दोस्रो, तेस्रो नम्बरमा पनि आएनन् ।
उनका पूर्व सहकर्मी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मतसहित चुनाव जिते ।
एमालेका नगीन्द्रबहादुर शाही ‘नेशनल’ ले १० हजार ३५२ मत ल्याए ।
यस्तै, कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत पाउँदा प्रकाण्ड चौथोमा सीमित बने । विश्वकर्माले जम्मा ४ हजार ५९९ मत पाए ।
सुरुमा कालिकोटमा प्रकाण्ड र महेन्द्रबिच चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । दलित समुदायको बाहुल्यता धेरै भएको र जिल्लामा राम्रो प्रभाव भएकाले उनले साबिक माओवादी ९हाल नेकपा० कै भोट धेरै काट्ने अनुमान गरिएको थियो ।
उस्तै परे उनले नै चुनाव जित्न सक्ने आकलन पनि नगरिएको होइन । उनले महेन्द्रलाई प्रतिस्पर्धी नै नमाने जसरी चुनावी कार्यक्रममा टिप्पणी गर्थे । तर अन्तिम चुनावी परिणाममा प्रकाण्ड प्रतिस्पर्धामै आउन सकेनन् ।
०००
उनी ०६४ सालको भएको पहिलो संविधानसभा चुनावमा नेकपा माओवादी केन्द्रबाट निर्वाचन लडेका थिए । उक्त चुनावमा २७ हजार बढी मत ल्याएर चुनाव जितेका उनी केन्द्रमा महिला तथा बालबालिका मन्त्री हुँदै पर्यटनमन्त्री सम्म बने ।
सांसदको कार्यकाल नसकिँदै ९०६९० माओवादी अध्यक्ष ‘प्रचण्ड’ सँग असन्तुष्टि जनाएर प्रकाण्डले विप्लवसँगै पार्टी छाडे ।
पुनः विद्रोहको बाटो समातेका प्रकाण्ड र उनको पार्टीले यसअघिका चुनाव बहिस्कार गर्दै आएका थिए ।
पछिल्लो समय कृषि क्रान्तिमा अग्रसर भएका उनी र उनको पार्टी १८ वर्षपछि ‘ब्यालेट’ मा फर्कियो । तर प्रकाण्ड, विप्लवहरूलाई चुनाव खासै फापेन । विप्लवले अन्तिम समयमा आएर चुनावी मैदान छाडे ।
प्रकाण्डले फेस गरे, तर लज्जास्पद हार बेहोरे । विप्लव नेतृत्वको माओवादीमा सधैँ दोस्रो तहका नेताका रूपमा रहेका प्रकाण्ड माओवादीले सुरु गरेको सशस्त्र युद्धताका कर्णालीमा शीर्ष नेताहरूमध्ये एक थिए ।
युद्धकालमा प्रकाण्ड पार्टी राजनीतिमा भेरी—कर्णाली क्षेत्रका प्रमुख नेतामध्ये एक थिए । शक्ति बस्नेत पार्टीको कारबाहीमा परेपछि उनी युद्धताकै केन्द्रीय सदस्य तथा भेरी–कर्णाली ब्युरो इन्चार्ज बने । त्यो बेला भेरी–कर्णाली जनसरकार प्रमुख पनि उनै थिए ।
राजनीतिक सुझबुझ राख्नेहरू भन्छन्— स्पष्ट वाककला र क्रान्तिकारी नेताका रूपमा चिनिने प्रकाण्ड यदि माओवादीमै रहन्थे भने महेन्द्रबहादुर शाहीहरू अहिले गाउँपालिका अध्यक्षसम्म हुन्थे ।
हुन पनि पार्टी राजनीतिमा प्रकाण्ड महेन्द्रभन्दा निकै सिनियर नै हुन् । उनी पार्टी राजनीतिमा हुँदा महेन्द्र जनमुक्ति सेनाका लडाकु कमान्डर थिए । साबिक कर्णाली अञ्चलमा पहिलो पटक छापामार सेना स्थापना भएको समयदेखि नै महेन्द्र जनमुक्ति सेनाको अग्रभागमै थिए । पार्टीमा पनि उत्तिकै सक्रिय थिए ।
कालिकोट जिल्लाको सैन्य इन्चार्ज हुँदै बटालियन कमान्डर, बिग्रेड कमान्डर हुँदै डिभिजन कमान्डर सम्मको नेतृत्व गरेका उनले पश्चिम नेपालका ठुला युद्ध मोर्चामा निर्णायक भूमिका निर्वाह गरे ।
शान्ति प्रक्रियापछि महेन्द्र सेनामै थिए । जब सांसदको कार्यकाल नसकिँदै ९०६९० तिर प्रकाण्डले मूल पार्टी छाडे, त्यसपछि कालिकोटको माओवादीमा महेन्द्रको जबरजस्त उदय भयो ।
उनी सेना समायोजनका बेला सम्मानजनक पद नपाएपछि पार्टी राजनीतिमा आउन चाहेका थिए । जिल्लाका प्रमुख नेताले नै मूल पार्टी छाडेपछि कालिकोटमा माओवादीको विरासत यथावत् राख्न प्रचण्डले महेन्द्रलाई अघि बढाएका थिए ।
माओवादी फुटकै बिचबाट ०७० को दोस्रो संविधानसभा चुनाव जितेका महेन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्री बने । त्यहीबेला उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्दै चर्चामा आए ।
०७४ मा प्रदेशसभा झरेका उनी कर्णालीको मुख्यमन्त्री बने । तत्कालीन नेकपा विवाद उत्कर्षको बेला सबैभन्दा ठुलो दल एमालेका सांसदलाई ‘फ्लोर क्रस’ गर्न लगाएर आफ्नो पद जोगाउँदै संसदीय राजनीतिमा चतुर खेलाडी बनेर उनी निस्किए । माओवादीभित्र कर्णालीमा जनार्दन शर्मा, शक्ति बस्नेतपछि महेन्द्र नै प्रभावशाली नेताका रूपमा उदाए ।
अहिले उनी प्रचण्डको विश्वासपात्रका रूपमा चिनिन्छन् भने नेकपाभित्र कर्णालीमा प्रभावशाली नेता हुन् ।
लगातारको संसदीय निर्वाचनको अनुभव र सत्तामा हुँदा जिल्लामा गरेका गतिविधिकै योगदानले चौथो पटक महेन्द्र चुनाव जित्न सफल भए । प्रकाण्ड भने आफूभन्दा जुनियर नेतासँग प्रतिस्पर्धा मै आउन सकेनन् ।










