डोल्पाको निर्वाचन रद्ध गर्न माग गर्दै उजुरी

पूर्ण सार्की
डोल्पा / हिमाली जिल्ला डोल्पामा निर्वाचन रद्ध गर्न माग गर्दै उजुरी परेको छ । जिल्लाको काईके गाउँपालिका वडा नं ४ र ५ को मतगणनाको क्रममा केही अधकट्टीसहितको मतपत्र भेटिएको भन्दै जिल्लाको समग्र निर्वाचन रद्ध गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनमा कार्यालयमा उजुरी परेको हो ।

नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, स्वतन्त्र उम्मेदवारले सामूहिक उजुरी दिएका हुन् ।
उनीहरुले जिल्ला भरीको निर्वाचनमा कर्मचारी संयन्त्रबाटै मिलेमतो गरी गम्भीर निर्वाचन कसूर गरेको उजुरीमा उल्लेख गरेका छन् ।
यदि आफूहरुले दिएको निवेदन उपर कार्यान्वयन नभएमा उच्च अदालतमा कानुनी उपचार खोज्ने बताएका छन् ।
उनीहरुले मतगणना गर्ने क्रममा मतदान भएका मतपत्रहरु मध्य पाँच वटा मतपत्रहरुमा मतदान अधिकृत र मतदाताका हस्ताक्षर नभएका अधकट्टीसहितको मतपत्र र सातवटा मतपत्र अधकट्टीहरु भेटिएको उजुरीमा उल्लेख गरेका छन् ।
उता मुख्य निर्वाचनको अधिकृतको कार्यालयका अनुसार यस्तो अवस्था सिर्जना भएमा निर्वाचनको आयोगको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्याविधि अनुसार विवाद समाधान गरिने छ ।
मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले मतदातालाई मतपत्र दिदा भुलवश मतपत्रको अधकट्टी समेत दिएको अवस्थामा मतगणनाको क्रममा मतपत्रको चाङ मिलाउँदा अधकट्टी सहितको मतपत्र फेला पर्नासाथ त्यस्तो मतपत्र घोप्ट्याई अधकट्टीलाई अलग गरी अरू मतपत्र सँगै चाङमा मिलाएर राखेर गणना गर्ने व्यवस्था मिलाउने र उक्त अधकट्टीलाई मुचुल्का बनाई सुरक्षित रुपमा राखे व्यवस्था मिलाउने कार्यविधिमा उल्लेख भएको बताए ।
विवादित मतदान केन्द्रको मतगणना सुचारु गराउनको लागि अहिले सर्वदलीय बैठक बस्ने तयारी गरेको समेत उनले जानकारी दिए ।









