चुनौतीलाई जितमा बदल्ने संसदीय राजनीतिका खेलाडी महेन्द्र

पंखबहादुर शाही
सुर्खेत ः महेन्द्रबहादुर शाही कर्णालीको राजनीतिका यस्ता खेलाडी हुन्— जो जोखिम परिस्थितिमा पनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने सक्षमता राख्छन् । सशस्त्र युद्धका बेला होस् वा कर्णालीको मुख्यमन्त्री हुँदा आएको सत्ता संकटलाई टार्दा होस्, जहिल्यै चुनौतीलाई चिर्दै परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सफल बनेका छन् ।
यो पटकको प्रतिनिधि सभाको चुनाव पनि उनका लागि निकै चुनौती थियो ।
एकातिर आफ्नै पूर्व सहकर्मी नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विप्लव नेतृत्वको माओवादीबाट उम्मेदवार बन्नु र अन्य राजनीतिक दलहरूले समेत उनीमाथि कालिकोटमा विकास गर्न नसकेको भन्दै प्रश्न उठाइरहेका बेला उनी चुनौतीमा थिए ।
अर्कोतर्फ आफ्नै पार्टीका नेता जीवन बुढाले सुरुमा उनीविरुद्ध बागी उम्मेदवारी दिएपछि कार्यकर्ताहरू विभाजित भएका थिए । प्रचण्डको निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता लिए पनि आन्तरिक रूपमा बुढा समूहको साथ पाउँछन् वा पाउँदैनन् भन्ने आशङ्का थियो ।
स्वयम् शाही पनि यी सबै घटनाक्रमले यो पटक निकै चिन्तित थिए, रक्षात्मक थिए ।
उनीमाथि कालिकोटमा अन्य राजनीतिक दलहरूले निरन्तर लगाउने आरोप हो—लगातार चुनाव जितेर मुख्यमन्त्री, मन्त्री बन्दा पनि कालिकोटमा विकास भएन ।
प्रकाण्डले त चुनावी अभियान सुरु गर्दाको पहिलो दिनमै महेन्द्रलाई ‘लफङ्गा’ भनेर टिप्पणी गरे । ‘यहाँ जति पनि ठुलठुला विकासका आयोजना छन् नि, त्यो त हामी ०६४ को चुनावपछि गरेको विकास बाहेक अरू केही देख्दिनँ, यो कर्णाली कोरिडोर हामीले बनाएको हो, यी लफङ्गाहरू कसैले बनाएको हैन नि,’ प्रकाण्डले महेन्द्रलाई भने ।
त्यस्तै, खुलालु पुलदेखि कोटबाड विमानस्थलको काम आफूले अगाडि बढाएको प्रकाण्डले दाबी गरेका थिए । प्रकाण्डले सुरुमै महेन्द्रलाई ‘लफङ्गा’ भनेपछि कालिकोटमा प्रकाण्ड र महेन्द्र शाही पक्षबिच आरोप—प्रत्यारोप चल्यो ।
लाग्थ्यो कालिकोटमा प्रतिस्पर्धा नै महेन्द्र–प्रकाण्डको हो । प्रकाण्डको समूहले महेन्द्रले जिल्लामा केही गर्न नसकेको, ठाउँ मात्र ओगटेको जस्ता एजेन्डा अघि बढाउनुका सागै जातीय एजेन्डा पनि अघि सारेको थियो । दलित समुदायको बाहुल्यता भएको कालिकोटमा धेरैजसो दलित समुदायले आफूलाई भोट दिने आशा प्रकाण्डले गरेका थिए । अन्य राजनीति दलहरूले पनि महेन्द्रविरुद्ध प्रकाण्डको टिमकै जस्ता एजेन्डालाई समाएर महेन्द्रविरुद्ध चुनावी मैदानमा होमिए ।
तर, महेन्द्रले यस्तो चुनौतीकाबिच सहज रूपमा जित मात्र निकालेनन्, प्रकाण्डलाई आफ्नो प्रतिस्पर्धामै आउन दिएनन् ।
कालिकोटमा आफ्नो विरासत बचाउन सफल बने ।
नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बाट उम्मेदवार बनेका शाहीले ११ हजार ३३८ मतसहित चुनाव जिते ।
उनीसँग प्रतिस्पर्धामा आएका एमालेका नगीन्द्रबहादुर शाही ‘नेशनल’ ले १० हजार ३५२ मत ल्याए । नगीन्द्रले ०७९ को चुनावमा पनि महेन्द्रसँग हारेका थिए ।
यस्तै, कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत पाउँदा प्रकाण्ड चौथोमा सीमित बने । उनले ४ हजार ५९९ मत मात्रै पाए ।
आफूभन्दा जुनिएर नेतासँग प्रतिस्पर्धा मै आउन नसकेर उनको लज्जास्पद हार भयो ।
सधैँ जोखिमलाई जीतमा परिणत गर्ने नेता
महेन्द्रबहादुर शाहीलाई ०७० सालको चुनाव पनि जोखिम थियो । कालिकोटको शीर्षस्थ नेता मानिएका प्रकाण्ड सांसद कार्यकाल नसकिँदै ०६९ तिर प्रचण्डसँग असन्तुष्टि जनाएका विप्लवसँगै मूल पार्टी छाडेका थिए ।
०६४ मा झन्डै २७ हजार मतसहित चुनाव जितेका प्रकाण्ड जिल्लामा मात्र होइन समग्र कर्णालीमै ठुला नेता कहिलिएका थिए । माओवादी युद्धको एक आधारभूमि मानिने कालिकोटमा शीर्ष नेताले नै मूल पार्टी छाडेपछि कार्यकर्तामा अन्योल थियो, महेन्द्र त्यो बेलासम्म तत्कालीन जनमुक्ति सेना समायोजनमा चित्त नबुझाएर बसेका थिए ।
प्रचण्डले कालिकोटमा आधार क्षेत्र बचाउन भन्दै महेन्द्रलाई मूलधारको राजनीतिमा अघि बढाए । जनमुक्ति सेनामा हुँदा देशका ठुला मोर्चाहरू सफलता पूर्वक लडेका महेन्द्रको त्यसपछि मात्रै पार्टी राजनीतिमा उदाए भयो ।
माओवादी फुटकै बिचबाट ०७० को दोस्रो संविधान सभा चुनाव जितेका महेन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्री बने । त्यही बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्दै चर्चामा आए, त्यो पनि उनको निकै जोखिमपूर्ण काम थियो ।
०७४ मा प्रदेश सभा झरेका उनी कर्णालीको मुख्यमन्त्री बने । ४० सदस्यीय प्रदेश सभामा २० सिट भए एकल सरकार बनाउन मिल्छ । एमालेसँग एकल २० सिट थियो भने माओवादीसँग १३ । तर केन्द्रको गठबन्धन अनुसार, एमालेको समर्थनमा महेन्द्र कर्णालीको पहिलो मुख्यमन्त्री बने । यता एमाले नेता यामलाल कँडेल खुसी थिएनन् । पनि दुई दल मिलेर नेकपा बन्यो ।
त्यही भएर उनले पटक–पटक शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याए ।
कँडेलकै कारण तत्कालीन नेकपाभित्र विवाद उत्कर्षमा पुग्यो, शाहीको सत्ता संकटमा पर्यो । त्यही बेला सबैभन्दा ठुलो दल एमालेका सांसदलाई ‘फ्लोर क्रस’ गर्न लगाएर आफ्नो पद जोगाएर संसदीय राजनीतिमा चतुर खेलाडी बनेर निस्किए उनी ।
कांग्रेसलाई समेत आफ्नो पक्षमा ल्याउन सफल भए । ३ वर्ष ८ महिना १२ दिनमा कर्णालीको मुख्यमन्त्री रहे । सहमति अनुसार नै कांग्रेसका जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरण गरिदिए ।
माओवादीभित्र कर्णालीमा जनार्दन शर्मा, शक्ति बस्नेतपछि महेन्द्र नै प्रभावशाली नेताका रूपमा उदाए । अहिले शर्माले छुट्टै पार्टी प्रलोपा गठन गरिसकेका छन् ।
माओवादी अहिले नेपाली कम्युनिस्ट पार्टीको नाममा अस्तित्वमा छ । महेन्द्र अहिले प्रचण्डको विश्वासपात्रका रूपमा चिनिन्छन् भने नेकपाभित्र कर्णालीमा प्रभावशाली नेता मानिन्छन् ।
०४८ सालबाट औपचारिक रूपमा राजनीतिमा उदाएका उनी ०५२ सालबाटै तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका थिए ।
उनले जनयुद्धमा पार्टी संगठन र छापामार गरी समानान्तर भूमिका निर्वाह गरेका थिए भने त्यतिबेला कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरेका थिए ।
पश्चिम नेपालमा बुटवलदेखि दार्चुलासम्म भएका सैन्य कारवाहीमा उनले नेतृत्व गरेका हुन् । सुरुमा वार्ड कमान्डर, स्क्वाड कमान्डर, प्लाटुन कमान्डर, कम्पनी कमान्डर, बटालियन कमान्डर, बिग्रेड कमान्डर हुँदै डिभिजन कमान्डरसम्मको नेतृत्व गर्न सफल शाहीले सेना समायोजनको बेलामा राजनीतिक मोर्चा रोजेका थिए ।
विगतका प्रतिनिधि सभा चुनावमा महेन्द्रले पाएको मत
०७९ प्रतिनिधि सभा
महेन्द्रबहादुर शाहीः २३ हजार ७२७ (विजयी)
नगीन्द्र शाही (एमाले) १६ हजार ७१८
०७० प्रतिनिधि सभा
महेन्द्रबहादुर शाही (माओवादी) १० हजार ९८४
भूपेन्द्रबहादुर शाही (कांग्रेस) स् ७ हजार ७५९









