चार वर्षदेखि पुल अलपत्र

सुर्खेत ः कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–५ स्थित मालाचौरमा रहेको खुर्राखोलामा निर्माणाधीन पुल चार वर्षदेखि अलपत्र अवस्थामा छ । सम्झौता अनुसार दुई वर्षमा निर्माण भइसक्नुपर्ने पुल चार वर्ष बितिसक्दासम्म पनि निर्माण हुन सकेको छैन ।
२०७९ जेठ २८ गते सडक डिभिजन कार्यालय सुर्खेतले एक वर्षमा निर्माण सम्पन्न गर्न छ करोड ३७ लाख ५१ हजार रुपियाँमा टिडिआर कन्स्ट्रक्सन प्रालि, धनगढीसँग सो पुलको सम्झौता भएको थियो । २० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि पहिलो पटक म्याद थपले २०८१ मङ्सिर २८ गते थपिएको अवधिसमेत सकिँदासम्म पुल निर्माणको प्रगति केवल १२ प्रतिशत मात्र भएको छ ।
पुल नबनाए पनि निर्माण कम्पनीले ८१ लाख ४२ हजार ३३९ रुपियाँ भुक्तानी भने लिइसकेको छ । काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कानुनी दायरामा ल्याउन सडक डिभिजन सुर्खेतले समेत बेवास्ता गरेको स्थानीयको आरोप छ । पहिला स्थानीयको बस्ती उठाएर पुल निर्माण सुरु गरे पनि अहिले काममा ढिलाइ गर्दा आफूहरूमा आक्रोश बढेको स्थानीय मयराम जैसीले बताउनुभयो ।
आठबिस नगरपालिका–५ का बासिन्दा र कर्णाली राजमार्गमा यात्रा गर्नेलाई समयमा पुल नबन्दा बर्खाका समयमा सास्ती खेपिरहनु परेको छ भने स्वास्थ्य, शिक्षा, कृषिलगायतको काममा समेत अप्ठेरो भएको स्थानीय रवि विष्टले बताउनुभयो ।










