डाँगीद्वारा फोक्सुण्डो पदमार्गबाट १२ क्विन्टल फोहोर संकलन

डोल्पा ः हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पर्यटन पदमार्गबाट संकलन गरिएको करिब १२ क्विन्टल (१२ सय केजी) फोहोर राष्ट्रिय निकुञ्ज कार्यालयलाई हस्तान्तरण गरिएको छ।
नेपालकै प्रमुख पर्यटकीय गन्तव्य समेत रहेको सुलिगाड–फोक्सुण्डो पर्यटन पदमार्गमा फोहोर व्यवस्थापन र संरक्षणको अभावले चुनौती देखिन थालेपछि स्थानीय युवा तथा पर्यटन गाइड सुबर्ण कुमार डाँगीले आफ्नो अगुवाइमा सरसफाइ अभियान सञ्चालन गरेका थिए ।
गत पुस १ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको अभियान अन्तर्गत सुलिगाडदेखि फोक्सुण्डो तालसम्म फोहोर संकलन गरी खच्चरमार्फत ढुवानी गरेर सुलिगाड ल्याइएको फोहोर मंगलबार शे -फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख किशोर कुमार महतलाई हस्तान्तरण गरिएको हो। ठूलीभेरी नगरपालिका–८ निवासी पर्यटन गाइड तथा सामाजिक युवा अभियन्ता डाँगीको नेतृत्वमा फोक्सुण्डो ताल बस्ती, साइजोल, रेची बस्ती तथा पर्यटन पदमार्ग आसपासबाट संकलित फोहोर सुलिगाड पुर्याइए पनि अब त्यसको दीर्घकालीन व्यवस्थापनमा चुनौती रहेको डोल्पाका सरोकारवालाहरूले बताएका छन्।
फोहोर व्यवस्थापनलाई दिगो बनाउन तथा थप संकलित फोहोरको उचित व्यवस्थापनका लागि बुधबार शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको आयोजनामा सुलिगाडमा सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरिने राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
फोहोर हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकाया, नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा अभियन्ताहरूको उपस्थिति रहेको थियो।







