दैलेखको प्राकृतिक ग्यासको ड्राफ्ट रिपोर्ट कात्तिकमै बुझाइयो तर रिपोर्टमा के छ भन्ने पनि थाहा छैन

चिनियाँ टोलीले दैलेखमा प्राकृतिक ग्यास रहेको पुष्टि गरेको ५ महिना बितिसक्दा पनि उत्पादनको काम अघि बढेको छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ग्यास परीक्षण तथा उत्पादन थाल्न निर्देशन दिए पनि नयाँ सरकारले यसमा चासो देखाएको छैन। खानी विभागले चिनियाँ टोलीको प्रतिवेदन बुझेको महिनौँ बितिसक्दा पनि पुनरावलोकन गरेको छैन, जसले गर्दा उत्पादन अनिश्चित बनेको छ।
काठमाडौँ । पाँच महिनाअघि चिनियाँ प्राविधिक टोलीले दैलेखमा प्राकृतिक ग्यास रहेको पुष्टि गर्‍यो । प्राकृतिक ग्यासको भण्डार पत्ता लागेसँगै निकै उत्साहित भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई राष्ट्रिय समृद्धिको आधार बताएका थिए । उनले मंसिरभित्रै प्राकृतिक ग्यासको परीक्षण तथा उत्पादन थाल्न निर्देशन समेत दिएका थिए ।

गत भदौ २३ र २४ मा जेनजी आन्दोलन भएपछि मुलुकको सत्ता समीकरण बदलियो । आन्दोलनको जगमा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भयो । चुनाव गराउने मुख्य म्यान्डेट पाएको सरकारको ध्यान दैलेखको ग्यास परीक्षण तथा व्यावसायिक उत्पादनमा जान सकेको देखिँदैन ।

कस्तो हुँदैछ उत्पादनको तयारी
प्राकृतिक ग्यास परीक्षण तथा उत्पादनको तयारी कस्तो भइरहेको छ भन्ने प्रश्नको उत्तर खोज्न खानी तथा भूगर्भ विभागको अवस्था हेरे पुग्छ । उत्पादनको मुख्य आधार मानिएको चिनियाँ प्राविधिक टोलीको अन्तिम प्रतिवेदन विभागमा एक महिनाअघि बुझाइसकेको छ । तर प्रतिवेदन आएको महिनौँ दिनसम्म पनि त्यसभित्र के छ विभागले पल्टाएको छैन । विभागका प्रवक्ता धर्मराज खड्काले भने, ‘उहाँहरूले ड्राफ्ट रिपोर्ट कात्तिकमै बुझाउनुभएको हो, तर त्यो अहिले पनि रिभ्यु (पुनरवलोकन) गरिएको छैन । त्यसैले रिपोर्टमा के छ भन्ने पनि थाहा छैन ।’ दैलेखको प्राकृतिक ग्यास भेटिएपछि अन्य परीक्षण तथा उत्पादनका लागि कुनै काम अघि नबढेको खड्काले बताए ।

दैलेखको गर्भमा कति छ ग्यास
चीनको जिओलोजिकल सर्वे कम्पनीले दैलेखमा २०७८ वैशाख २८ गतेदेखि सुरु गरेको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्‍याइएको थियो । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा गरेको ड्रिलिङबाट एउटै कुवामा १ खर्ब १२ अर्ब घनमिटर (११२ क्युबिक किलोमिटर) प्राकृतिक ग्यास रहेको तथ्य फेला पारेको छ । यो परिमाण करिब ३९ लाख ५५ हजार मिलियन क्युबिक फिट बराबर हो ।

अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुकास्थान र जलजले गरी चार स्थानलाई सम्भावित क्षेत्र मानिएको थियो । जलजलेको एक कुवाको नतिजालाई आधार मान्दा चारै क्षेत्रमा गरी ४ खर्ब ३० अर्ब घनमिटर ग्यास हुन सक्ने प्रारम्भिक अनुमान छ । विज्ञहरूका अनुसार यो भण्डारले नेपालको ग्यास र इन्धनको माग ५० वर्षसम्म धान्न सक्छ ।

उत्पादनपछिको निगमको योजना प्रतिवेदनमै सीमित

खानी विभागको ढिलासुस्तीका बिच नेपाल आयल निगमले भने ग्यासको उपयोगसम्बन्धी मोडालिटी तयार पारेको थियो । निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा ग्यास उत्खननपछिको आर्थिक सम्भावना औंल्याइएको छ ।

निगमको अध्ययनले दैलेखको ग्यास प्रयोग गरी वार्षिक ७ लाख मेट्रिक टन युरिया मल उत्पादन गर्न सकिने, २०० मेगावाट क्षमताको विद्युत् आयोजना चलाउन सकिने र यातायातमा सीएनजी (कम्प्रेस्ड नेचुरल ग्यास) को प्रयोग बढाउन सकिने निष्कर्ष निकालेको थियो । साथै सरकारले बाटो खोलिदिए उक्त ग्यास परीक्षण तथा उत्पादन र वितरणको नेतृत्व निगमले लिन तयार भएको निष्कर्षसहितको प्रतिवेदन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो । तर उक्त प्रतिवेदनको प्रतिक्रिया नआएको नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायले बताएका छन् । ‘निगमको तर्फबाट मन्त्रालयमा प्रतिवेदन पेस गरिसकेका छौँ,’ उनले भने, ‘त्यसपछि थप के भएको छ भन्ने जानकारी छैन ।’




सम्बन्धित समाचार


error: Content is protected !!