अब दैलेखमै डायलाइसिस सेवा

दैलेख ः स्वास्थ्य सेवा कार्यालय दैलेखले डायलाइसिस सेवा सुरु गर्न लागेको छ। स्वास्थ्य सेवा विभाग, काठमाडौंको सहयोगमा डायलाइसिस मेसिन उपलब्ध भएसँगै सेवा सञ्चालनको तयारी पूरा भएको कार्यालय प्रमुख डाक्टर मनोज विश्वकर्माले बताए।

डायलाइसिसका लागि सुर्खेत वा काठमाडौंसम्म जानुपर्ने बाध्यतामा रहेका जिल्लाका मिर्गौला पीडितहरूले अब आफ्नै जिल्लामा निःशुल्क उपचार पाउने भएका छन् । डा मनोजको अनुसार मिर्गौला रोगबाट पीडित स्थानीय नागरिकलाई सहज, सुलभ र निःशुल्क सेवा प्रदान गर्नु मुख्य उद्देश्य हो ।

डायलाइसिस सेवा सञ्चालनमा आएपछि जिल्लाका करिब १ सय ५० भन्दा बढी मिर्गौला रोगीलाई प्रत्यक्ष लाभ पुग्ने स्वास्थ्य विश्वकर्माले बताए । जिल्ला अस्पतालमा यो सेवा सुरु भएपछि बिरामी तथा आफन्तले लामो दूरीको यात्रा, बसोबास र उपचार खर्चबाट राहत पाउने विश्वास गरिएको छ ।

अस्पताल प्रशासनका अनुसार डायलाइसिस सेवा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । सेवाको पहुँच व्यवस्थित गर्न गाउँबाट आउने बिरामीलाई प्राथमिकता दिँदै चरणबद्ध रूपमा सेवा प्रदान गरिनेछ । एक महिनामा करिब ४ सयदेखि ४ सय ५० जनासम्मलाई डायलाइसिस सेवा दिने लक्ष्य राखिएको छ ।

एकवटा डायलाइसिस मेसिन खरिद गर्न करिब १५ देखि १६ लाख रुपैयाँ खर्च हुने भए पनि स्वास्थ्य सेवा विभागको सहयोगले जिल्लामा यो सेवा सुरु हुन सम्भव भएको हो ।

स्थानीयवासीहरूले जिल्लामै डायलाइसिस सेवा सुरु हुनु दैलेखका लागि ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार अब मिर्गौला पीडितले उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । यो कार्यको लागि जिल्लावासीले डाक्टर मनोजलाई धन्यवाद दिएका छन्।




सम्बन्धित समाचार


error: Content is protected !!