सरकारसँग किन झस्किएका छन् ः ओली

काठमाडौँ ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूविरुद्ध दुश्मनी साँधेको आरोप लगाएका छन् । गृहमन्त्रीका अभिव्यक्तिका कारण सरकारले आफूविरुद्ध थप केही गर्छ भन्ने आशंका बढाएको ओलीले बताए ।बुधबार भक्तपुरको बालकोटस्थित जलेर ध्वस्त भएको घर अवलोकन गर्न पुगेका ओलीले गृहमन्त्री अर्यालले आफूविरुद्ध चर्को दुश्मनी साँधेको आरोप लगाएका हुन् ।‘गृहमन्त्रीका अभिव्यक्तिमा सरकारको उद्देश्य र मनसाय देखिन्छ, ममाथि व्यक्तिगत दुश्मनी देखिन्छ, मैले उहाँहरूको सीमा मिचेको छैन, घर कहाँ हो थाहा पनि छैन, केही गरेको छैन, तर दुश्मनी चर्को देखिन्छ,’ ओलीले भने, ‘सरकारले थप केही गर्ने योजना बनाइरहेको आशंका छ ।’

गृहमन्त्री अर्यालले ओली कानूनभन्दा माथि नरहेको बताएका थिए । भदौ २३–२४ को घटनामा बयान दिन नजाने भन्ने ओलीको अभिव्यक्तिलाई लिएर गृहमन्त्री अर्यालले कानूनभन्दा माथि कोही नरहेको बताएका थिए ।

गृहमन्त्रीका अभिव्यक्तिले सरकार आफूलाई पक्रने योजनामा रहेको ओलीले आशंका गरे । ‘जेनजी भनिएकाहरूलाई बोलाएर तिमीहरू हामीलाई दबाब देऊ भनेर सरकारका मान्छेले भनिरहेका छन् । दबाबमा पर्‍यौं फलनालाई गिरफ्तार गरेर कारबाही अगाडि बढाउँछौं भनेर सिकाएर पठाउनु भएको थाहा छ,’ ओलीले भने । ओलीले सरकारका गलत गतिविधिको विरोधका लागि एमाले ज्युँदो पार्टी रहेको बताए । ‘अचानक पलाएको सरकारका धाक धम्कीसँग एमाले डराउँदैन,’ ओलीले भने ।





error: Content is protected !!