निकुञ्जको सुरक्षा दिनै मुस्किल हुँदा पर्यटकलाई झनै समस्या ः सञ्चार सेवा बाहिर शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज

डोल्पा ः डोल्पाको ठूलीभेरी नगरपालिकाको सुलिगाडमा रहेको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय पार गरेपछि निकुञ्जको बीच भाग अर्थात सुलिगाड खोलाको एउटा मुहान नजिकै फोक्सुण्डो स्वास्थ्य चौकी पुगेपछि मात्र मोबाइल फोन मुस्किलले चल्छ । सदरमुकाम दुनैसँग जोडिएको निकुञ्जको कार्यालयबाट यात्रा सुरु गरेदेखि झण्डै १९ घण्टा अर्थात फोक्सुण्डो झरनाको पुछारमा पुगेपछि मोवाइलमा नेटवर्क देखिन्छ ।
१९ घण्टासम्म आफन्त वा जनसम्पर्क शुन्य हुने गर्दछ । अप्ठ्यारो बाटो, खोलाको किनारै किनारको यात्रा गर्दा दिमागमा फोक्सुण्डो ताल पुग्नुबाहेक अन्य कुनै कुरा नहुने गरेको छ । निकुञ्जको कार्यालयले यही जोखिमपूर्ण यात्रासँगै ताल हेरेवापत सार्क मुलुक, विदेशी र नेपाली भनेर तीन प्रकारको शुल्क निर्धारण गरेको छ । सडक पहुँचमा नरहेको यहाँ घोडेटो बाटोसमेत सुलिगाड खोलाले वर्षायाममा छाल हान्दा अवरुद्ध हुने गरेको पाइन्छ ।
हिउँदमा मात्र खुल्ला हुने यो बाटो सुलिगाड खोलाको सुसावटबाहेक अन्य कुनै कुरा नयाँ पाइँँदैन । पैदल यात्रीको सुरक्षाका लागि कुनै प्रकारको सुरक्षा मापदण्ड छैन । शे फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले सदरमुकाम बसेर निकुञ्जको सुरक्षा हुन नसक्ने बताए । वर्ष दिनमा मुस्किलले दुई पटक निकुञ्ज एरियाभित्र रहेको फोक्सुण्डाे तालसम्म केही कर्मचारी पुग्ने गरेको उनको आरोप छ । तालको छेउमा रहेका पोष्टहरु सधैं खाली देखिने गरेको उनको दावी छ ।

समुद्री सतहबाट २ हजार २५० देखि ६ हजार ८८३ मिटर उचाइमा पर्ने उक्त निकुञ्ज विश्वमै हिउँ चितुवाको धेरै घनत्व भएको निकुञ्जसमेत हो । हिउँदे मौसमसँगै कात्तिकदेखि बढ्ने अत्यधिक चिसो उत्तरी क्षेत्रमा छ महिना कायम रहन्छ । सम्पूर्ण स्थानीय जाडो छल्न पशु चौपायासहित बेंसी झर्दछन् । निकुञ्ज सुरक्षार्थ बसेको सुम्दो, तोइजुम पोस्टसमेत मुख्य कार्यालय सुलिगाडमा गाभिन्छन् । त्यसो त त्यस समयमा मान्छेको चहलपहल समेत शून्य हुने भएकाले पनि चोरी तस्करीको क्रम बढ्ने स्थानीयको भनाइ छ ।

ताल अवलोकन गर्ने भन्दै निकुञ्जको अनुमति बिनानै सिधै हेलिकोप्टर निकुञ्जको मुख्य भागमा बसाल्ने क्रम पछिल्लो समय बढेको छ । यस्तो कार्यले वन्यजन्तु तथा जडीबुटीसमेत तस्करी हुनसक्ने खतरा बढेको छ । यहाँका दुर्लभ वन्यजन्तु सिकारका लागि तस्करले अत्याधुनिक पासोको प्रयोग गर्ने गरेको पाइएको छ ।
कोर एरिया बाहिर निकुञ्ज कार्यालय
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जकोे मुख्य कार्यालय कोर एरिया ९ मुख्य क्षेत्र० बाहिर छन् । सेनाको गुल्म कोर एरियामा स्थापित छ । तर पनि निकुञ्जको तल्लो दक्षिणी सिमानामा यी कार्यालय रहेका छन् । संरक्षित वन्यजन्तु, जडीबुटी तथा प्राकृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदा दूरीको हिसावमा निकुञ्ज र सेनादेखि टाढा पर्दछन् । द्वन्द्वकालमा निकुञ्जको मुख्य कार्यालय साविकको फोक्सुन्डो गाविसको ‘पलम’मा थियो ।

कार्यालय सञ्चालनका लागि चारवटा आधुनिक भवन बनाइएका थिए । निकुञ्जको मुख्य कार्यालय नै मध्यबिन्दुमा पर्ने भएपछि निकुञ्जको सुरक्षा व्यवस्था कडाइ गर्न सहज भएको थियो । हत्तपत्त तस्करको निसाना पनि पर्न सक्दैनथ्यो । जैविक विविधता संरक्षणमा प्रभावकारी कामकाज भएको थियो । तर द्वन्द्वकालमा सुरक्षाका कारण भन्दै सदरमुकाम सारिएको निकुञ्जको कार्यालय अझै सदरमुकाममा हुँदा माथिल्लो भाग खाली हुन पुगेको छ ।
निकुञ्जको सबै भू–भाग उत्तरी क्षेत्रमा पर्ने र मुख्य कार्यालय नै कोर एरिया बाहिर पर्ने भएकाले सुरक्षा व्यवस्थामा चुनौती हुने देखिन्छ । ‘निकुञ्जको सुरक्षार्थ खटिएको मुख्य कार्यालय नै संरक्षण क्षेत्र बाहिर हुनु राम्रो कुरा होइन’ उनले थपे । पटक पटक पुरानै स्थानमा सेना र निकुञ्जको भवन पुनर्निर्माणका लागि टिप्पणी उठाएर विभागमा पठाएपनि अझैं स्थापना हुन सकेको छैन ।
जिल्लाका मुख्य राजनीतिक दल तथा जिल्ला परिषद्मासमेत कार्यालय पुरानै ठाउँमा पुनर्निर्माण गरी निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्तदुरुस्त बनाउन सहयोग गर्न पहल गरिए पनि कसैले चासो नदिएको वडाध्यक्ष लामाको भनाइ छ । जबसम्म कार्यालय पुरानै ठाउँमा कार्यालय स्थापना गरिँदैन, तबसम्म निकुञ्ज सुरक्षामा चुनौती कायमै रहने उनी बताउँछन् । यस निकुञ्जको क्षेत्रफल ३५५५ वर्ग किमि रहेकोले भूगोल ठूलो छ ।

यो नेपालकै सबैभन्दा ठूलो निकुञ्ज हो । क्षेत्रफल ठूलो भएपनि कर्मचारीको पदपूर्ति दरबन्दीअनुसार हुन नसक्दा पनि संरक्षणमा चुनौती देखिएको निकुञ्जको भनाइ छ । विकट ठाउँमा निकुञ्ज भएका कारण कर्मचारी आउन नमान्ने अवस्था छ । हाल निकुञ्जमा १ जना अधिकृत, २ जना रेन्जर, १ जना खरिदार, १ जना नायव सुब्बाको दरबन्दी खाली छ । ६७ वटा दरबन्दी रहेको निकुञ्जमा महत्त्वपूर्ण दरबन्दी खाली रहेका छन् । कार्यालय प्रमुखसमेत धेरै समय निकुञ्ज नबस्ने गरेको गुनासो रहेको छ ।
निकुञ्जसम्म पुग्ने बाटो तथा पुल जीर्ण भएकाले पर्यटकलाई सास्ती हुने गरेको छ । प्रत्येक वर्ष निकुञ्जमा करोडौं बजेट आउने गरेपनि संरचना भने पुरानै छन् । बाटोमा विभिन्न स्थानको सूचना दिने सूचना पाटी नहुँदा पर्यटकसमेत अन्योलमा पर्ने गरेको फोक्सुन्डो पुगेका पत्रकार पेशल आचार्यले बताए । शे–फोक्सुन्डो ताल, सुलिगाड झरना, शे–गुम्बा, त्रिपुरासुन्दरी मन्दिर यस जिल्लाका मुख्य आकर्षण हुन् भने हिउँ चितुवा, हिमाली भालु, कस्तुरी, नावर दुर्लभ संरक्षित वन्यजन्तु हुन् ।

यार्सागुम्बा, जटामसी, पाँचऔंले यहाँका बहुमूल्य जडीबुटी हुन् । निमित्त कार्यालय प्रमुख किशोरकुमार महतका अनुसार उपल्लो डोल्पामा काम गर्ने कर्मचारीलाई तलबले खाना नै नपुग्ने अवस्था छ । सञ्चार सुविधा नहुँदा काम गर्न मुस्क्लि हुँदै आएको छ । निकुज्जको अधिकांश ठाउँमा फोनले काम नगर्ने हुँदा चोरी, निकासी नियन्त्रण गर्न चुनौती हुँदै आएको छ ।
निकुञ्जले राखेका सुराकीले दिएको गोप्य अधिकारीक सूचना पाएमा मात्र आफूहरु खोजीका लागि जाने गरेको उनले बताए । ठूलो क्षेत्रफल भएकाले काम गर्न चुनौती रहेको छ । वर्षायाममा उपल्लो डोल्पामा रहेको निकुञ्जमा कर्मचारी गएपनि हिउँद याममा भने सुलिगाड नै रहने गरेका छन् । यार्सागुम्बा सिजनमा राजस्व संकलन गर्न कर्मचारीहरु माथिल्लो भागमा पुग्ने गर्दछन् ।







