कर्णाली प्रदेशले आर्थिक वर्ष २०८२/८३ का लागि १० बुँदे प्रतिबद्धता सार्वजनिक

सुर्खेत — कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२८३ को बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी वार्षिक समीक्षा गोष्ठीले १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। गोष्ठीले आगामी आर्थिक गतिविधि समयमै, प्रभावकारी र लक्ष्यअनुसार सम्पन्न गर्ने उद्देश्यसहित स्पष्ट कार्ययोजना तय गरेको हो।

प्रतिबद्धताअनुसार संघीय समपूरक, विशेष र सशर्त अनुदानबाट सञ्चालन हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिनेछ। मन्त्री, सचिव र आयोजना प्रमुखसँगको कार्यसम्पादन सम्झौताअनुसार मासिक कार्ययोजना बनाई पूर्णरूपमा कार्यान्वयन गरिनेछ।

आर्थिक ऐन २०८२ अनुसार तोकिएको लक्ष्यअनुसार राजस्व संकलन गर्ने, आवश्यक कार्यविधि, निर्देशिका र मापदण्डहरू २०८२ भाद्र मसान्तभित्र तयार गरी स्वीकृतिका लागि पेश गर्ने, अबण्डा रकम भदौ मसान्तभित्र बाँडफाँट गर्ने, सालबसाली आयोजनाको खरिद प्रक्रिया २०८२ असोज मसान्तभित्र अगाडि बढाउने तथा बहुवर्षीय आयोजना कार्यान्वयनलाई तीव्रता दिने निर्णय गरिएको छ।

त्यसैगरी महालेखापरीक्षकको प्रतिवेदनअनुसार बेरुजु फर्स्यौटको कार्ययोजना २०८२ भदौ मसान्तभित्र तयार गरी कार्यान्वयन गर्ने र पदाधिकारी तथा कर्मचारीको नाममा रहेको असुल गर्नुपर्ने बेरुजु शतप्रतिशत असुल उपर गर्ने प्रतिबद्धता जनाइएको छ।

गोष्ठीले बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारी अनुगमन गर्ने, स्रोत–साधनको मितव्ययी, दक्ष र प्रभावकारी प्रयोग गर्दै सेवा गुणस्तरीय, नतिजामूलक र नागरिकमैत्री बनाउने, साथै आयोजना बैंक तथा योजना छनोट कार्यविधि अनुसार समयमै योजना तर्जुमा गर्ने निर्णय पनि गरेको छ।





error: Content is protected !!