जहाँ यार्सा सिजनमा पनि पढाइ जारी छ


डोल्पा — जेठ ५ गतेदेखि यार्सागुम्बा संकलन सुरु भएसँगै डोल्पाका प्रायः विद्यालय बन्द छन् । शिक्षक(विद्यार्थी नै बहुमूल्य जडीबुटी यार्सा संकलनका लागि उच्च हिमाली पाटनतिर लागेपछि प्रायः विद्यालय यसरी नै बर्सेनि बन्द हुने गरेका छन् ।

जिल्लाका कुल १ सय १६ विद्यालयमध्ये अधिकाशं विद्यालय बन्द भएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय डोल्पाले जनाएको छ । झन्डै दुई महिनासम्म चल्ने यार्सा संकलन सिजनमा अधिकांश विद्यालय बन्द हुँदा त्रिपुरासुन्दरी नगरपालिकाका केही विद्यालयमा भने धमाधम पढाइ भइरहेको छ । वडा नं १ मा रहेको त्रिपुरा माध्यमिक विद्यालय काटियाचौरमा यतिबेला पढाइ रोकिएको छैन ।

जिल्लाका अन्य विद्यालयसँगै नगरपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालयमा यार्सा सिजनको प्रभाव परे पनि त्रिपुरा माविमा नियमित पठनपाठन चलिरहेको हो । ‘हाम्रो विद्यालयमा अहिलै दैनिक एक सयको हाराहारीमा विद्यार्थीको उपस्थिति छ, सरहरु पनि नियमित भएकाले पढाइ भइरहेको छ,’ प्रधानाध्यापक तुलबहादुर बिष्टले भने, ‘नगरपालिकाभित्रका अधिकांश आधारभूत तथा माध्यमिक विद्यालय बन्द छन्, तर हाम्रो विद्यालय बन्द भएको छैन, विद्यार्थी आएपछि पठनपाठन सञ्चालन गर्नु हाम्रो कर्तव्य पनि हो ।’

शिक्षक आन्दोलनले विद्यार्थीको पढाइमा असर परेका बेला यार्सा सिजनमा पनि विद्यालय बन्द गर्दा शैक्षिक क्षेत्रमा समस्या आउने भएकाले यतिबेला अन्य विद्यालय पनि खोल्नुपर्ने उनको धारणा छ । विगतका वर्ष यार्सा सिजनमा बन्द भएका विद्यालयमा पनि नगरपालिकाले खाजा खर्च उपलब्ध गराउँदै आएको थियो । यस वर्ष यार्सा सिजनमा बन्द भएका विद्यालयमा खाजा खर्च पठाउन नहुने उनले बताए ।

त्रिपुरासुन्दरी नगरपालिका(१ मै रहेको हिमज्योति आधारभूत विद्यालयमा पनि धमाधम पढाइ भइरहेको छ । साना विद्यार्थी हुनुका साथै उनीहरु नियमित आउने गरेकाले यार्सा सिजनको कुनै प्रभाव नपरेको र नियमित पढाइ भइरहेको प्रधानाध्यापक मनबहादुर सार्कीले बताए . वडा नं ९ मा रहेको जनप्रिय आधारभूत विद्यालय चुँमा पनि निरन्तर पढाइ भइरहेको प्रधानाध्यापक देव बुढाले जानकारी दिए । डोल्पाका विद्यालयहरुमा साढे १४ हजार विद्यार्थी पढ्छन् ।

अभिभावक नै घरमा ताल्चा मारेर पाटन जाने भएपछि ससाना बालबालिका पनि पढाइ छोडेर उनीहरुसँगै यार्सा संकलनका लागि पाटन जाने गरेका हुन् । प्रत्येक विद्यालयमा कार्यरत स्थानीय शिक्षक र विद्यार्थी नै यार्सा टिप्न पाटन जान्छन् । यसले गर्दा विद्यालय बन्द भई पठनपाठन ठप्प हुने गरेको हो । डोल्पालीको आम्दानीको प्रमुख स्रोत नै यार्सागुम्बा भएकाले यतिबेला बालबालिक पनि वर्षभरिको पढाइ खर्च जोहो गर्न पाटन जाने गरेका हुन् ।





error: Content is protected !!