जमिनमुनीबाट पानी निस्केपछि बन्द विमानस्थल शनिबारबाट सुचारु हुने

सुर्खेत ः जमिनमुनिबाट पानी निस्केपछि बन्द गरिएको सुर्खेत विमानस्थल शनिबारबाट सुचारु हुने भएको छ । शुक्रबार बेलुकी मर्मत कार्य पुरा भएपछि शनिबारबाट नियमित उडान हुने विमानस्थल निरीक्षण गर्न जानुभएका मुख्यमन्त्री यामलाल कँडेललाई विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिनुभयो ।
मंगलबार देखि ठप्प भएको विमानस्थल शनिबारबाट सुचारु हुने भएको हो । अहिले विमानस्थलको मर्मत कार्य जारी रहेको छ । मुख्यमन्त्री कँडेलले विमानस्थलमा गएर मर्मतको काम बारे जानकारी लिनुहुँदै छिटो, छरितो र गुणस्तरीय तरिकाले काम गर्न निर्देशन समेत दिनुभयो । विमानस्थलको सुधार तथा विस्तारका लागि मुख्यमन्त्री कँडेलको जोड रहेको छ ।



