एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन , नेम्वाङको निधनले मर्माहत भएँ ः प्रधानमन्त्री
काठमाडौं ः नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।
२०४८ र/ २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।
२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।
उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बनेका थिए । २०६४ / २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ । भोलि ९बुधबार० सम्म श्रद्धाञ्जलिका लागि शव पार्टी कार्यालयमा राखिने इलामका सांसद् महेश बस्नेतले बताए ।