स्याउ सुपर जोनबाट जुम्लामा ९५८ महिला लाभान्वित

जुम्ला ः जुम्लाका ९५८ महिला स्याउ सुपर जोनबाट लाभान्वित भएका छन्। बृहत् व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपर जोन) विकास कार्यक्रमअन्तर्गत यो आर्थिक वर्षमा उनीहरू आत्मनिर्भर बनेका हुन्।

स्थानीय बासिन्दालाई व्यावसायिक कृषि उत्पादनमा टेवा पुर्‍याउन कर्णाली प्रदेशका कालिकोट र जुम्लामा स्याउ र सिमी जोनको कार्यक्रम सञ्चालन गर्दै आएको सुपर जोन जुम्लाका कार्यालय प्रमुख खेमबहादुर शाहीले बताए।

उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा स्याउ सुपरजोन जुम्लाबाट सञ्चालित कार्यक्रमका लागि ४३१ कृषक समूह, ४९ वटा कृषि सहकारी र ५७८ उद्यमी गरी एक हजार ५८ वटा फार्म सूचीकृत भएका छन्।

कार्यालय प्रमुख शाहीले भने, ‘९५८ महिला, ६७६ पुरुष, ३५३ दलित, ४८३ जनजाति, ४४९ युवा र ७९८ अन्य गरी जुम्लाका १ हजार ६३४ जना लाभान्वित भएका छन्।’

त्यस्तै राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरू भएको र तोकिएको बालीरवस्तुमा न्यूनतम १ हजार हेक्टरमा सञ्चालन भएको बृहत् व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्रहरूले कार्यक्रम गर्दै आएको सुपर जोन जुम्लाका कार्यालय प्रमुख शाहीले बताए।

उनका अनुसार सुपर बाली÷वस्तुको उत्पादन तथा उत्पादकत्व बढाउन, सुपर जोन क्षेत्रमा कृषि यन्त्रीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्धन, प्रशोधन गर्ने काम गर्दै आएको छ।

त्यस्तै यो कार्यक्रमबाट व्यावसायिक कृषक समूह तथा सहकारीहरू, जल उपभोक्ता समूहहरू, निजी कृषि उद्यमी तथा व्यवसायीहरू, कृषि उपज बजार सञ्चालक समितिहरू लाभान्वित हुन्छन्।​

गत वर्ष १९ करोडको स्याउ उत्पादन
जुम्लामा यो वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहमा गरी १९ करोड मूल्य बराबरको स्याउ उत्पादन भएको हो।

विगतका भन्दा अघिल्लो वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए।

उनले भने, ‘४ हजार २ सय हेक्टरमा स्याउ खेती भइरहेको छ। उनका अनुसार ३ हजार हेक्टरमा स्याउ फल्ने गरेको छ।’

जुम्ला स्याउमा आत्मनिर्भर जिल्लाका रूपमा विकसित हुँदै गएको छ। यहाँका पाखाबारी पनि स्याउ बगैँचामा परिणत छन्। जुम्लाका १८ हजार घरधुरीमध्ये झण्डै १६ हजारभन्दा बढी घरधुरीमा स्याउखेती गरिएको छ।

एक घर एक बगैंचा जस्ता कार्यक्रम जुम्लामा सञ्चालन भएका छन्। जुम्लाको जुनसुकै क्षेत्रको भूभाग स्याउ खेतीका लागि योग्य भएको जिल्ला कृषि कार्यालयले प्रमाणित गरेको छ। पश्चिमको मालिकाठाँटा, पूर्वको गुठिचौर लगायतका सबै क्षेत्रमा स्याउ खेती हुँदै आएको छ।

५३ हजार १७६ बिरुवामा सुपर जोनको अनुदान

यो वर्ष स्याउ सुपर जोन जुम्लाले ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरेको छ। स्याउ सुपर जोन सञ्चालक समितका संयोजक सरोज शाहीका अनुसार सघन स्याउ रोप्न विरुवा आयात गरी किसानलाई वितरण गरिएको छ।

उनका अनुसार २० हजार ८ सय फुजी स्याउका र २३ हजार ६५१ जुम्लाको स्थानीय स्याउका विरुवा ५० प्रतिशत अनुदानमा किसानले पाएका छन्। त्यस्तै आठ हजार ७२५ ओखरका बिरुवा वितरण गरिएको छ।

फुजी स्याउ बगैँचामा अनुगमन
जुम्लाको गुठिचौर गाउँपालिका–५ काडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा जुम्लाका सरोकारवालाले अनुगमन गरेका छन्। गुठिचौर एग्रो फार्म प्रा।लि।का अध्यक्ष मीनबहादुर भण्डारीले निर्माण गरेको आधुनिक स्याउ बगैँचा अनुगमन गरिएको हो।

१८ हेक्टर जमिनमा रहेको त्यो बगैँचामा ४८ हजार बिरुवा रोपिएको छ। भण्डारीले २२ करोड लगानीमा २०७६ सालमा उक्त बगैँचा निर्माण गरेका हुन्।

त्यस्तै गुठिचौर–३ का टंक गिरीले साढे ७ करोड लगानीमा २२ हेक्टर जग्गामा १४ हजार बिरुवा रोपेका छन्। उनले ‘श्री हिमाली टी एण्ड एन एग्रो फर्म’ दर्ता गरी बगैँचा निर्माण गरेका हुन्।

यसले गर्दा देशका कृषिविद्हरूलाई आवश्यक प्रेरणासमेत दिएर दक्ष र सीपयुक्त जनशक्ति किसानको खेत र किसानको माझ पुर्‍याउनुपर्ने आवश्यकता छ।

कृषकलाई आधुनिक कृषि प्रणाली र कृषि प्रविधिमा दक्ष बनाउन र अभ्यास गराउन अभिमुखीकरण, प्रशिक्षण र तालिमको व्यापक अभियानलाई निरन्तरता दिँदै आएको स्याउ सुपर जोन जुम्लाले बताएको छ।





error: Content is protected !!